तेहरान, (सीएनएन) । इरानको विशाल राजधानीमा रात छिप्पिँदै जाँदा र अल्बोर्ज पर्वतका हिउँदले ढाकिएका चुचुराहरू अँध्यारोमा बिलाउँदै जाँदा, अमेरिकाविरुद्ध समर्थकहरूलाई एकजुट गराउने उद्देश्यले आयोजना गरिएका सरकारी ¥यालीहरूमा सहभागी हुन हजारौँ इरानीहरू नियमित रूपमा सडकमा उत्रिरहेका छन् ।
तेहरानको एउटा सम्भ्रान्त बस्ती ताज्रिश स्क्वायर नजिकै इरानी झण्डाहरूको सागरमाथि ‘अमेरिका मुर्दावाद’को नारा गुञ्जिरहेको छ । उता सडकका व्यापारीहरू भने उत्साहित भीडलाई चिया र देशभक्ति झल्कने बेसबल टोपी तथा ब्याजजस्ता उपहारका सामानहरू बेचिरहेका छन् ।
‘म मेरो देश र यहाँका जनताका लागि आफ्नो ज्यान बलिदान दिन पूर्ण रूपमा तयार छु,’ इरानी झण्डाको रङ अंकित चस्मा लगाएकी टियाना नामकी एक युवतीले कानै खाने नाराबाजीका बीच भनिन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही पुनः सुरु गर्ने भनी सामाजिक सञ्जालमा दिएको पछिल्लो धम्कीलाई खारेज गर्दै उनले थपिन्, ‘सबै जनता, सम्पूर्ण सेना र हाम्रा सबै कमाण्डरहरू पनि आफ्नो ज्यान अर्पण गर्न र आफ्नो सम्पूर्ण मन–आत्मादेखि लड्न तयार छन् ।’
अवरुद्ध शान्ति वार्ताले कमजोर युद्धविरामलाई थप संकटमा पारिरहेका बेला तनाव बढाउँदै ट्रम्पले आइतबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेखेका थिए, ‘इरानका लागि समय घर्किँदै गइरहेको छ, उनीहरू छिटो अघि बढेको राम्रो, नत्र उनीहरूको केही पनि बाँकी रहने छैन ।’
हातले फ्यारेसीमा लेखेको एउटा अस्थायी प्लेकार्ड बोकेका एक वृद्धले आफ्नो साइनबोर्डमा लेखिएको कुरा अनुवाद गरिदिए । त्यसमा लेखिएको थियो, ‘आणविक र मिसाइल प्रविधि हाम्रो सिमाना जत्तिकै महत्त्वपूर्ण छ, त्यसैले हामी यसको रक्षा गर्नेछौँ ।’
इरानले आफ्नो विवादास्पद आणविक कार्यक्रम अन्त्य गर्न अस्वीकार गरेको सन्दर्भलाई जोड्दै उनले भने, ‘हामीलाई आणविक ऊर्जा र स्वच्छ ऊर्जा चाहिएको हो, बम होइन ।’ ट्रम्पले युद्ध अन्त्यका लागि यो कार्यक्रम बन्द गर्नु पर्ने सर्त राखेका छन् ।
उनले थपे, ‘हामीसँग बम छैन भन्ने ट्रम्पलाई थाहा छ, तर तैपनि उनी हामीमाथि आक्रमण गरिरहेका छन् ।’
अमेरिका र इजरायलले तत्कालै आक्रमण गर्न सक्ने हल्ला र बढ्दो डरका बीच धेरै इरानीहरूमा अब युद्ध फेरि सुरु हुनु अपरिहार्य रहेको भावना बढ्दै गएको छ ।
लन्डन र दुबईमा हुर्किएको बताउने फातिमाले भनिन्, ‘यो युद्ध सकिएको छैन भन्ने हामीलाई थाहा छ । ट्रम्पले वास्तवमै वार्ता गर्ने छैनन् भन्ने पनि हामी बुझ्दछौँ ।’
उनले थपिन्, ‘उनी त केवल ‘मैले भनेको मान, नत्र म तिमीलाई मार्नेछु’ भन्ने शैलीमा प्रस्तुत हुनेछन् । र, हामीले उनको कुरा मान्यौँ भने पनि उनले हामीमाथि आक्रमण गर्ने नै छन् ।’
यी ¥यालीहरू अर्थात् ‘रात्रिकालीन सभाहरू’ युद्ध सुरु भएदेखि नै विगत झण्डै तीन महिनादेखि हरेक बेलुका देशभर भइरहेका छन् ।
तर हालका दिनहरूमा सर्वसाधारणका लागि बन्दुक सिकाउने पसलहरू डराउने गरी सडकमा देखा परेका छन्, जहाँ नागरिकहरूलाई हतियार चलाउने आधारभूत ज्ञान दिइँदैछ । यो कडा रूपमा प्रस्तुत भइरहेका इरानी अधिकारीहरूले आफ्ना जनतालाई थप संघर्षका लागि तयार पारिरहेको संकेत हो ।
भनाक स्क्वायरको एउटा पसलमा हामीले कालो चादर लगाएकी एक महिलाले एके–४७ राइफल चलाउन सिकिरहेको देख्यौँ, जहाँ सैनिक पोसाक लगाएका एक नकाबधारी पुरुषले उनलाई हतियार खोल्न र जोड्न सिकाइरहेका थिए ।
त्यहाँबाट केही फिट टाढा एउटी सानी केटी गोली लोड नगरिएको कलाश्निकोभ बन्दुकसँग खेलिरहेकी थिइन् । उनले हावामा बन्दुक तेस्र्याएर ट्रिगर थिचिन् र मुस्कुराइरहेका आफ्ना प्रशिक्षकलाई बन्दुक फिर्ता दिइन् ।
सर्वसाधारणलाई हतियार उठाउन गरिने यो आह्वानलाई सरकारी टेलिभिजनमा पनि बारम्बार दोहो¥याइँदैछ, जहाँ धेरै च्यानलका प्रस्तोताहरू हातमा राइफल लिएर प्रस्तुत भइरहेका छन् ।
सरकारी स्वामित्वको ओफोग च्यानलका एक पुरुष प्रस्तोता होसेन होसेनीले इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) का एक नकाबधारी सदस्यबाट तालिम लिएपछि प्रत्यक्ष प्रसारणकै क्रममा स्टुडियोको छततिर आफ्नो राइफलबाट गोली चलाए ।
त्यसैगरी, च्यानल–३ की महिला प्रस्तोता मोबिना नासिरीले दुवै हातले राइफल समात्दै दर्शकहरूलाई सम्बोधन गरिन् ।
उनले घोषणा गरिन्, ‘उनीहरूले मलाई भनाक स्क्वायरबाट एउटा हतियार पठाएका छन्, ताकि तपाईँहरू जस्तै मैले पनि यो कसरी चलाउने भनेर सिक्न सकूँ ।’
तर सबै इरानीहरू लडाइँकै पक्षमा भने छैनन् ।
ताज्रिश स्क्वायरको ¥यालीको ठीक मोडमा इरानको सिनेमा म्युजियम नजिकैको एउटा शान्त पार्कमा स्थानीय बासिन्दाहरू खुला आकाशमुनि राखिएको पुस्तक पसल हेरिरहेका थिए र चियाको चुस्की लिइरहेका थिए, जहाँ जोडीहरू हात समातेर टहलिरहेका थिए ।
त्यहाँबाट गुज्रँदै गर्दा एक युवकले भने, ‘युद्धलाई कसरी स्वागत गरुँ ?’
पार्कको एउटा बेन्चमा आफ्ना पतिसँगै बसेकी एक विश्वविद्यालयकी प्राध्यापकले आफ्नो पहिचान नखुलाउने सर्तमा अंग्रेजीमा भनिन्, ‘हामी इरान परिवर्तन होस् भन्ने चाहन्छौँ । हामी एउटा सामान्य देशमा बस्न चाहन्छौँ, जहाँ हाम्रा छोराछोरीको भविष्य सुरक्षित होस् ।’
अर्की एक युवतीले भनिन्, ‘हामी शान्ति चाहन्छौँ ।’ उनीहरुका भनाइले इरानभित्र रहेका विचारका विविधतालाई थप प्रष्ट पार्छ ।
तर इस्लामिक गणतन्त्र इरानको माहोल दिनानुदिन तनावग्रस्त बन्दै जाँदा र देश सम्भावित रूपमा फेरि युद्धको संघारमा पुग्दा, कट्टरपन्थी सरकारी सन्देशहरू बाहेक अरू सबै आवाजहरू दबिएका जस्ता देखिन्छन् ।
पाकिस्तानले बुझायो अमेरिकालाई वार्ताका सूत्र
अमेरिकी सञ्चारमा इरानले दिएको प्रतिक्रिया आइतबार पाकिस्तानले प्राप्त गरेको र कूटनीतिक माध्यमबाट वासिङ्टनलाई जानकारी गराएको पाकिस्तानी स्रोतले सोमबार जनाएको छ ।
‘संयुक्तराज्य अमेरिकाले इरानको प्रतिक्रियाको समीक्षा गरिरहेको र वासिङ्टनबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ,’ नाम उल्लेख नगर्ने शर्तमा स्रोतहरूले सिन्ह्वासँग बताएका छन् ।
पछिल्लो आदान–प्रदान तेहरान र वाशिङ्गटनबीच शान्तिको पहलका लागि जारी अप्रत्यक्ष सम्पर्कको प्रयास हो । क्षेत्रीय तनाव कम गर्ने र सम्भावित कूटनीतिक प्रगतिको खोजी गर्ने प्रयासहरूको बीचमा पाकिस्तान मार्फत सहजीकरण गरिएको छ ।
इरानी अधिकारीहरूले बारम्बार संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष वार्ताको सट्टा अप्रत्यक्ष रूपमा मध्यस्थकर्ताहरू मार्फत संवाद भइरहेको बताउँदै आएका छन्।
फेब्रुअरी २८ मा सुरु भएको द्वन्द्व अन्त्यका लागि वासिङ्टन र तेहरानले धेरै चरणमा प्रस्तावको आदानप्रदान गरिरहेका छन् । अप्रिल ८ देखि जारी युद्धविरामबीच दुवै पक्षबीच अहिलेसम्म एक चरणको वार्ता भएको छ ।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सोमबार एक पत्रकार सम्मेलनमा भने, ‘हामीले हिजो घोषणा गरेजस्तै हाम्रो चासो अमेरिकी पक्षलाई अवगत गराएका छौँ ।’
तेहरानले विदेशमा रोकिएको इरानी सम्पत्ति र लामो समयदेखिको प्रतिबन्ध फुकुवा गर्नेलगायतका इरानको मागको विदेशमन्त्री बकाईले बचाउ गरेका थिए । उनले भने, ‘उठाइएका बुँदाहरू इरानका मागहरू हुन्, जसलाई इरानको वार्ता टोलीले हरेक चरणको वार्तामा दृढतापूर्वक बचाउ गरेको छ ।’
उनले अमेरिकाले युद्धको क्षतिपूर्ति दिनुपर्ने इरानको शर्तको बचाउ गर्दै द्वन्द्व ‘गैरकानुनी र आधारहीन’ भएको बताए ।
अर्को सैन्य मुठभेडको सम्भावनाबारे विदेशमन्त्री बकाईले इरान कुनै पनि परिस्थितिका लागि पूर्ण रूपमा तयार रहेको बताएको छ ।