नेभिगेशन
प्रदेश

वर्षा नहुँदा बिपी राजमार्गमा काम धमाधम

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माणमा हाल केही सहज भएको छ । केही दिनयता वर्षा रोकिएपछि कामले गति लिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 
नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दुरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकको तीन स्थानबाट पुनःनिर्माण भइरहेको छ । हाल दुई स्थान चारसयबेंसी र बोक्सेकुनामा अस्थायी रुपमा पुरानै सडकबाट गाडी सञ्चालन गर्न सकिने कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए । उनका अनुसार रोशी खोलामा बाढी आए पुरानै सडकबाट यातायात सञ्चालन गरिनेछ । 
सम्भावित जोखिम तथा निर्माणलाई मध्यनजर गर्दै साँझ ५ देखि बिहान ५ बजेसम्म रातको समयमा आवागमनमा भने रोक लगाइएको छ । ‘सडक पूर्वाधार स्वरूप आरसीसी पर्खाल तथा प्लम पर्खाल निर्माण भइरहेको छ, वर्षा नहुँदा निर्माण कार्यमा निकै सहज भएको छ,’ उनले भने । उनका अनुसार राजमार्गको जोखिमयुक्त स्थानमा आगामी वर्षाअघि पूर्वाधार निर्माण सम्पन्न हुने र राजमार्गबाटै यातायातका साधन सञ्चालन गर्ने गरी निर्माणको गति अघि बढाइएको छ । यसअघि रोशी खोलामा बाढी आउने वित्तिकै अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुँदै आएको छ । 
पुनःनिर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । हालसम्म काभ्रेतर्फ ठेक्का लागेको तीन वटा सडकखण्डमा २५ प्रतिशत काम भएको छ । विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो तथा यस वर्षको वर्षामा थप क्षति पुगेपछि गत मंसिरदेखि पुनःनिर्माण थालिएको हो । क्षतिग्रस्त चारमध्ये बाँकी एक खण्ड वर्खे खोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक निर्माण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले पुनःनिर्माण गर्दैछ । 
क्षति पु¥याएको विभिन्न स्थानमा आरसीसी पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा ‘आरसीसी’ पर्खाल लगाउन सुरु गरिएको डिभिजनल प्रमुख योगशले जानकारी दिए । यस्तै, डालाबेंशी, मंगलटार खण्ड, चारसयबेंशीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको छ । गतवर्ष र यसवर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ ।
यसवर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका स्थानमा संरचना बनाइ कालोपत्र गरिने जनाइएको छ । बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो । 
अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । ‘पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ,’ उनले भने । पाँच वटा पुललाई दुई लेनमा परिणत गर्ने पनि योजना छ । 
डालाबेंसीदेखि चारसयबेंसीसम्म ८.५ किमि सडक पुनःनिर्माणका लागि खानी–एवन–कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँमा   ठेक्का लिएको छ । चारसयबेंसीदेखि भकुन्डेबेंसीसम्मको ११.०८ किमि सडक पुनःनिर्माणका लागि लामा–नवकान्तिपुर जेभीले १ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ, नेपालथोकदेखि वर्खेखोलासम्म ४.९० किमि सडक पुनःनिर्माणका लागि ६१ करोड रुपैयाँमा निर्माण गर्ने गरी खरिढुंगा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता भएको छ । 

क्षतिग्रस्त कुल २९.५ किमि सडकमध्ये वर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किमि सडकलाई जाइकाले २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको थियो । क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिएको हो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई ७ अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको एक सडकखण्डलाई एक अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो । 

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्