नेभिगेशन
प्रदेश

‘कारागारलाई सुधारगृह बनाउनुपर्छ’

सर्लाही । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले कैदीबन्दीलाई कानुनअनुसार मानवीय व्यवहार गर्नुपर्नेमा जोड दिँदै आधारभूत सेवा सहज रूपमा उपलब्ध गराउन आग्रह गरेका छन् । 
सर्लाही कारागारको सोमबार अनुगमन तथा निरीक्षण गर्दै उनले भौतिक संरचना, व्यवस्थापन अवस्था, कैदीबन्दीको स्वास्थ्य सेवा, सुरक्षा व्यवस्था तथा दैनिक प्रशासनिक गतिविधिबारे जानकारी लिएका छन् ।
अनुगमनका क्रममा अदालत र कारागारमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक पर्ने स्रोत साधन व्यवस्थापनका निम्ति हरसम्भव प्रयास गर्ने बताउँदै उनले कारागार मान्छे थुन्ने ठाउँ मात्र नभएर सुधारगृह हुनुपर्नेमा  जोड दिए ।
‘कारागारलाई केवल थुनुवा कक्ष मात्र नभएर सुधारगृहको रुपमा विकास गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि प्रदेश सरकार सहकार्य र सहयोग गर्न तयार छ । कारागारलाई मानव अधिकारमैत्री बनाउनुपर्छ ।’
कारागार प्रशासनले कैदीबन्दीको बढ्दो चाप, भौतिक संरचनाको अभाव तथा व्यवस्थापनमा देखिएका विभिन्न समस्याबारे मन्त्री समक्ष जानकारी गराएका थिए । सोमबार नै उनले जिल्ला अदालत सर्लाहीको अनुगमन गर्दै न्यायालय सुधार, सेवा व्यवस्थापन र कारागारको अवस्था सुधार प्रदेश सरकारको प्राथमिकतामा बताए । उनले न्याय क्षेत्रको विकासका लागि प्रदेश सरकार सहयोग तथा समन्वयका लागि  तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्