नेभिगेशन
प्रदेश

चन्द्रपुर नगरपालिकाद्वारा आइतबारको बिदा कटौती

रौतहट । पेट्रोलियम पदार्थको मूल्यमा भएको बढोत्तरीसँगै आएको संकट टार्न केन्द्र सरकारले लागू गरेको आइतबारको सार्वजनिक बिदालाई रौतहटमा एउटा स्थानीय सरकारले खारेज गरेको छ । चन्द्रपुर नगरपालिकाले आइतबार पनि कार्यालय तथा विद्यालय सञ्चालन गर्ने भएको हो । 
नगर कार्यपालिकाको बैठकले सातामा दुई दिन बिदा दिन नसकिने भन्दै एक दिन घटाउनले निर्णय सोमबार गरेको थियो । उक्त बैठकको निर्णय लागू हुने मंगलबार नगर प्रमुख सञ्जयकुमार काफ्लेले सूचना जारी गर्दै जनाएका हुन् ।  
केन्द्र सरकारले इन्धनको अभावलाई मध्यनजर गर्दै विद्यालय तथा सरकारी कार्यालयहरू शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । त्यसैगरी कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म गर्ने केन्द्रको निर्णय भए पनि चन्द्रपुर नगरपालिकामा बिहान १० देखि साँझ ५ बजेसम्म हुने र शुक्रबार ३ बजेसम्म हुने भएको छ । यसैगरी सामुदायिक तथा संस्थागत विद्यालयहरू साबिकबमोजिम आइतबारदेखि शुक्रबारसम्म सञ्चालन निर्णय नगरपालिकाले गरेको हो ।


यो निर्णयसँगै अबदेखि नगरपालिका मातहतका कार्यालयहरू स्वास्थ्य, पशु सेवा तथा कृषि सेवाका शाखा, वडा कार्यालयहरू तथा स्वास्थ्य चौकी, अस्पतालको कार्यालयहरू आइतबार पनि सञ्चालन हुने भएका छन् । नगरपालिकाले उक्त व्यवस्था जेठ १० गतेदेखि लागू हुने जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले केन्द्र सरकारले इन्धनको खपत घटाउनका लागि आइतबार बिदा दिने नीति ल्याए पनि चन्द्रपुर नगरपालिकामा ग्रामीण क्षेत्रहरू धेरै भएका र इन्धन खपत हुने गरी सवारीसाधनहरू प्रयोग नहुने भएकाले नागरिकको सहजताका लागि यो निर्णय गरेको बताए । लगातार दुई दिन बिदा हुँदा बालबालिकाहरूको पठनपाठनमा पनि समस्या देखिएको र सर्वसाधारणहरूले पालिकाबाट पाउने सेवा पनि असहजता भएकाले आइतबार पनि कार्यालय खोल्ने निर्णय गरिएको उनको भनाइ छ । 
चन्द्रपुर नगरपालिका आइतबार पनि कार्यालय सञ्चालन गर्ने मधेस प्रदेशकै पहिलो पालिका हुने भएको छ । सातामा दुईदिन सार्वजनिक बिदाले बालबालिकाको पढाइ पुरा गराउन गाह्रो हुने भन्दै चिन्ता भइरहेको थियो । नगरपालिकाको यो निर्णयको नगरबासीले  प्रशंसा गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्