नेभिगेशन
दृष्टिकोण

एआईले हाम्रो दिमाग कमजोर बनाउँदैछ ?

जीपीएसले हाम्रो दिशाबोध कमजोर बनायो । सर्च इन्जिनहरूले सम्झने बानी घटाए । वैज्ञानिकहरूले यतिबेला चेतावनी दिँदै भन्न थालेका छन्, कृत्रिम बुद्धिमत्ता (एआई)ले सिर्जनशीलता, आलोचनात्मक सोच र ध्यान केन्द्रित गर्ने क्षमतामै असर गर्न सक्छ ।
केही वर्षअघि मैले आफूलाई एआई धेरै प्रयोग गर्न बाध्य पारेँ किनभने यसबारे लेख्न, त्यसलाई प्रयोग गरेर बुझ्न पनि जरुरी थियो । तर पछिल्ला अध्ययनहरूले एउटा असहज प्रश्न उठाइदिएका छन्, के एआई प्रयोग गर्दै जाँदा हामी आफ्नै मस्तिष्कलाई कमजोर बनाइरहेका त छैनौं ?
च्याटजीपीटीजस्ता उपकरणमा अत्यधिक निर्भर मानिसहरूमा सिर्जनशीलता, स्मरणशक्ति, ध्यान अवधि र आलोचनात्मक सोच कमजोर हुन सक्ने देखिँदै छन् । एआईले ‘मानसिक संघर्ष’ नै हटाइदिन्छ । जसले सोचलाई धारिलो बनाउँथ्यो अब त्यही सोच नै कमजोर हुन थालेको छ ।
अमेरिकाको जर्जटाउन विश्वविद्यालयका न्यूरोसाइन्स प्राध्यापक एडम ग्रीन भन्छन्, ‘यदि मानिसले सोच्ने काम कम गर्दै जान्छ भने, त्यो प्रकारले सोच्ने क्षमता पनि बिस्तारै कमजोर हुँदै जान्छ ।’ अहिले एआईबाट बच्न झन् गाह्रो हुँदै गएको छ । गुगलमै एआई उत्तर आउँछन् । फोन र कम्प्युटरमा एआई जबर्जस्ती घुसाइएको छ । तर विज्ञहरू भन्छन्, ‘समस्या एआई होइन, यसको प्रयोग गर्ने तरिका हो ।’
डेल मेडिकल स्कूलका क्लिनिकल न्यूरोसाइकोलोजिस्ट जरेड बेन्जका अनुसार, ‘एआई आफैं राम्रो वा नराम्रो होइन । यदि यसले तपाईंको दिमागलाई महŒवपूर्ण कामका लागि खाली समय दिन्छ भने, त्यो उपयोगी पनि हुन सक्छ ।’
तर चिन्ता किन बढिरहेको छ ? पहिले पनि यस्तै बहस भएका थिए । जीपीएसमा निर्भर मानिसहरूले बाटो सम्झने क्षमता गुमाउँदै गएको अध्ययनहरूले देखाएका छन् । सर्च इन्जिन आएपछि ‘गुगल इफेक्ट’ भन्ने शब्द प्रचलित भयो । जानकारी सजिलै भेटिने भएपछि मानिसहरूले सम्झने प्रयास कम गर्न थाले । एआईले यो प्रवृत्तिलाई अझ गहिरो बनाउन सक्छ ।
ग्रीनका अनुसार, ‘एआईले पहिलो पटक प्रक्रिया छोडेर सिधा नतिजा दिने सजिलो बाटो दिएको छ ।’ निबन्ध राम्रो देखिन सक्छ, प्रस्तुति आकर्षक बन्न सक्छ, तर त्यो नतिजासम्म पुग्ने मानसिक अभ्यास हराउँदै जान्छ । ‘यो जिममा गएर रोबोटले तपाईंका लागि बारबेल उठाइदिएको जस्तै हो,’ उनी भन्छन्, ‘त्यसबाट तपाईंको मांसपेशी बलियो हुँदैन ।’
विशेषज्ञहरूका अनुसार, एआईको सबैभन्दा ठूलो जोखिम ‘कग्निटिभ सरेन्डर’ अर्थात् सोच्ने जिम्मेवारी नै मेसिनलाई सुम्पिनु हो ।
एक अध्ययनले एआई धेरै प्रयोग गर्ने मानिसहरूको आलोचनात्मक सोच कमजोर हुन्छ भन्ने देखाएको छ । उनीहरूले आफ्नै तर्कभन्दा एआईलाई बढी विश्वास गर्न थाल्छन्, एआई गलत हुँदा पनि ।
माइक्रोसफ्ट रिसर्चको अध्ययनमा सहभागी हांक ली भन्छन्, ‘खतरा त्यतिबेला बढी हुन्छ जब प्रयोगकर्तालाई विषयबारे पर्याप्त ज्ञान हुँदैन ।’ त्यसैले विज्ञहरू सुझाव दिन्छन्– एआई खोल्नुअघि आफ्नै धारणा बनाउनुहोस् । पहिले आफैं सोच्नुहोस्, त्यसपछि मात्र एआईसँग तुलना गर्नुहोस् । यसले एआईलाई ‘विचार प्रतिस्थापन गर्ने’ होइन, ‘विचार परीक्षण गर्ने’ उपकरण बनाउँछ ।
स्मरणशक्तिमा असरको चिन्ता पनि बढ्दो छ ।
बार्बरा ओकिलीका अनुसार, ‘हामीले कुनै कुरा देख्यौं भने त्यो सम्झिइसकेजस्तो लाग्छ, तर वास्तवमा त्यो दीर्घकालीन स्मृतिमा बसेको हुँदैन ।’
केही प्रारम्भिक अध्ययनले च्याटजीपीटी धेरै प्रयोग गर्ने विद्यार्थीहरूमा स्मरणशक्ति कमजोर भएको अनुभव बढी देखाएका छन् । यद्यपि यो अन्तिम निष्कर्ष होइन, तर अनुसन्धानकर्ताहरूको सुझाव स्पष्ट छ– एआईबाट सिक्दा पनि दिमागलाई काम गराउनु आवश्यक छ ।
नोट लिनुहोस् । प्रश्न सोध्नुहोस् । एआईलाई क्विज बनाउन लगाउनुहोस् । फ्ल्यासकार्ड तयार गर्न भन्नुहोस् । जानकारीलाई ‘मेहनत’ गरेर प्रशोधन गर्दा मात्र त्यो दिमागमा टिक्छ । सिर्जनशीलतामा असर झन् गम्भीर हुन सक्छ ।
अनुसन्धानले देखाएको छ– सिर्जनात्मक काममा एआई प्रयोग गर्ने मानिसहरूको विचार धेरैजसो अनुमानयोग्य र कम मौलिक हुन्छ । किनकि सिर्जनशीलता भनेको मस्तिष्कले आफ्नै अनुभव, स्मृति र भावनाबीच अनपेक्षित सम्बन्ध बनाउने प्रक्रिया हो । ग्रीन भन्छन्, ‘हामी सिर्जनात्मक मांसपेशी गुमाइरहेका हुन सक्छौं ।’
यसको समाधान पनि सरल नै छ । पहिले खाली पानासँग केही समय बिताउनुहोस् । आफ्नै विचार लेख्नुहोस्, चाहे ती कमजोर किन नहुन् । त्यसपछि मात्र एआई प्रयोग गरेर त्यसलाई सुधार्नुहोस् ।
ध्यान केन्द्रित गर्ने क्षमता पनि जोखिममा छ ।
प्रविधिले मानिसलाई छिटो उत्तरको बानी लगाइसकेको छ । एआईले यो प्रवृत्ति अझ बढाउँछ । लामो लेख पढ्नुभन्दा सारांश पढ्ने, कठिन समस्या आफैं हल गर्नुभन्दा तुरुन्त उत्तर खोज्ने प्रवृत्ति बढ्दै गएको छ । तर विज्ञहरूका अनुसार, असहजता नै सिकाइको आधार हो । कठिन समस्यासँग केही समय जुध्नु, बोर हुनु, ढिलो प्रक्रियाबाट गुज्रनु— यिनैले गहिरो सोच विकास गर्छन् ।
यसकारण, सबै काम एआईलाई जिम्मा लगाउनु बुद्धिमानी नहुन सक्छ । यसको अर्थ एआई त्याग्नुपर्छ भन्ने पनि होइन । इतिहासले देखाएको छ– मानव मस्तिष्कले सधैं नयाँ प्रविधिसँग अनुकूलन गरेको छ ।
बेन्जे भन्छन्, ‘हामीसँग गाडी भएकाले मानिसले दौडन छोडेका छैनन् । मानिस अझै म्याराथन दौडन्छन्, किनकि उनीहरू त्यसलाई मूल्यवान् ठान्छन् ।’
सायद एआईको युगमा पनि यही कुरा लागू हुन्छ । एआईले उत्तर दिन सक्छ, तर जिज्ञासा दिन सक्दैन । यसले शब्द मिलाउन सक्छ, तर अनुभव, भावना र मानवीय मौलिकता सिर्जना गर्न सक्दैन । भविष्यमा सबैभन्दा मूल्यवान् कुरा मेसिनजस्तो बन्नु होइन, अझ मानवीय बन्नु हुन सक्छ । (एजेन्‍सी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
भगवानको लीला अपरम्पार

भगवानको लीला अपरम्पार

अमरताको खोजी

अमरताको खोजी

जनताको आशाको बजेट

जनताको आशाको बजेट