अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको बताएका छन् ।
सोमबार बेलुकी काठमाडौंस्थित जय नेपाल चलचित्र भवनमा चलचित्र हेरेपछि अभिनेता शाहले विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयले चलचित्रलाई आगामी कैयौं वर्षसम्म चर्चामा ल्याउने बताए ।
उनले भने, ‘चलचित्रका निर्माता, निर्देशक र कलाकारले हामीलाई वर्षांैसम्म सम्झिने सुन्दर कोसेलीका रूपमा चलचित्र ‘लालीबजार’ दिनुभएको छ । जुन विश्वासका साथ चलचित्र भवन छिरेको थिएँ, निस्किँदा त्योभन्दा बढी पाएँ । यसमा सबै कलाकारले जीवन्त अभिनय गर्नुभएको छ, हेर्नैपर्ने चलचित्र निर्माणमा संलग्न सबैलाई धन्यवाद दिन्छु ।’
उनीसँगै अभिनेत्री प्रियंका कार्की, वर्षा राउत, अभिनेता आयुष्मान् जोशी, गायक खेम सेन्चुरीलगायतले पनि चलचित्रको तारिफ गरे । चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी अभिनेत्री स्वस्तिमा खड्काले दर्शक र कलाकर्मीबाट पाइरहेको प्रतिक्रियाले आफूसहित सम्पूर्ण निर्माण टिम उत्साहित रहेको बताइन् ।
‘चलचित्र प्रदर्शन भएदेखि नै हामीले दर्शकसँग भेटघाट गरिरहेका छौं, चलचित्र बुझ्नुभएका कलाकर्मीदेखि मनोरञ्जनका लागि चलचित्र भवन पुग्ने दर्शकसम्म चलचित्र हेरेर खुसी हुनुहुन्छ, यही नै हाम्रो सफलता हो । पूर्वतर्फबाट दर्शक भेटघाट कार्यक्रममा सरिक हुँदै अहिले विर्तामोडमा छौं, क्रमशः धरान, विराटनगर, इटहरी पनि पुग्ने छौं,’ अभिनेत्री खड्काले भनिन् ।
उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रशंसा सुवेदी, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरवल चौधरीलगायतका कलाकारले अभिनय गरेका छन् ।
‘लालीबजार’को पकड बलियो हुँदै
यसअघि सोमबार चलचित्र विकास बोर्डले सिनेमा हलहरूमा प्रदर्शनरत नेपाली चलचित्रको व्यापार आँकडा सार्वजनिक गरेको थियो । बोर्डले वैशाख ११ गतेदेखि २५ गतेसम्म प्रदर्शनमा आएका चार नेपाली फिल्म ‘परालको आगो’, ‘लालीबजार’, ‘मालती मंगले’ र ‘गुरु आमा’को आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक गरेको थियो । उक्त तथ्यांकअनुसार कमाइका हिसाबले ‘परालको आगो’ शीर्ष स्थानमा रहेको छ भने ‘लालीबजार’ दोस्रोमा छ ।
वैशाख ११ गते प्रदर्शन भएयता ‘परालको आगो’ले गत शनिबारसम्म १ लाख ५१ हजार ९२८ वटा टिकट बिक्रीबापत ४ करोड २२ लाख २३ हजार ४३५ रुपैयाँ ग्रस कमाएको बोर्डको तथ्यांकमा देखिन्छ । वैशाख २५ गते प्रदर्शन भएको ‘लालीबजार’को कमाइ भने शनिबारसम्म ३ करोड ४२ लाख ६१ हजार ७७९ रुपैयाँ ग्रस छ । फिल्मका १ लाख १४ हजार ५८६ वटा टिकट बिक्री भएका छन् ।
‘लालीबजार’सँगै प्रदर्शनमा आएका अन्य दुई फिल्म ‘मालती मंगले’ र ‘गुरु आमा’को व्यापार भने निकै कमजोर देखिन्छ । गायक रामकृष्ण ढकालले निर्माण गरेको ‘मालती मंगले’ले ९ दिनमा ५० लाख पनि कमाउन सकेको छैन । यसको गत शनिबारसम्मको कमाइ ४४ लाख ७८ हजार ६०८ रुपैयाँ ग्रस छ । यो अवधिमा फिल्मका १३ हजार ८९० वटा टिकट बिक्री भएका छन् ।
अर्को फिल्म ‘गुरु आमा’ भने कमाइको मामलामा सबैभन्दा पछाडि देखिएको छ । यसका जम्मा ८ हजार ९७४ वटा टिकट बिक्री भएका छन् भने त्यसबापत फिल्मले २८ लाख ४४ हजार ४५१ रुपैयाँ ग्रस कमाएको छ । यसरी हेर्दा वैशाखमा प्रदर्शन भएका ‘पहाड’सहित पाँच फिल्ममध्ये ‘परालको आगो’ र ‘लालीबजार’को व्यापार मात्र उत्साहजनक देखिन्छ ।