नेभिगेशन
विश्व

बेलायतमा नयाँ प्रधानमन्त्रीको खोजी

लन्डन, (बीबीसी)  । अब सम्भवतः, सायद अब अत्यन्त सम्भवतः, बेलायतले फेरि नयाँ प्रधानमन्त्री पाउनेछ– सायद केही साताभित्रै, वा केही महिनाभित्र ।
गत साताको तुलनामा अहिले अवस्था निकै कम तनावपूर्ण, कम हल्लाखल्लायुक्त र कम अप्रत्याशित देखिन्छ । तर सर केर स्टार्मरलाई कसले प्रतिस्थापन गर्न सक्छ भन्ने विषयमा राजनीति अहिले नै सतहमै खेलिन थालेको छ ।
यद्यपि, एकछिन रोकिएर हेर्ने हो भने प्रधानमन्त्रीका समर्थकहरूले औंल्याएझैं, उनीविरुद्ध अहिलेसम्म कुनै औपचारिक चुनौती आएको छैन, र स्टार्मरले पनि कम्तीमा अहिलेका लागि आफू काममै केन्द्रित रहेको स्पष्ट पारेका छन् ।
लेबर पार्टीका केही सांसद भने उनले पदत्यागको समयसीमा सार्वजनिक नगरेकोमा असन्तुष्ट छन् । कतिपयले त के पनि अनुमान गरेका छन् भने मेकरफिल्डमा हुन लागेको उपनिर्वाचनमा एन्डी बर्नहमका लागि स्टार्मरले अहिलेसम्म पद छाड्ने योजना घोषणा नगर्नु फाइदाजनक हुन सक्छ । किनभने त्यसो हुँदा बर्नहमले ‘म जितेपछि स्टार्मरलाई हट्न दबाब पर्छ’ भन्ने तर्क अघि सार्न सक्नेछन् ।
यहाँ अर्को रोचक पक्ष पनि छ, यो औपचारिक नेतृत्व प्रतिस्पर्धा होइन, छाया प्रतिस्पर्धा हो । बर्नहमले पहिले उपनिर्वाचन जित्नुपर्छ, जबकि उनका सम्भावित प्रतिद्वन्द्वी तथा पूर्व स्वास्थ्य सचिव वेस स्ट्रिटिङलाई त्यस्तो चुनौती छैन ।
यसले उनीहरू अहिले सम्बोधन गरिरहेका दर्शक समूहमा असमानता ल्याएको छ । बर्नहमको ध्यान तत्कालका लागि भौगोलिक र जनसांख्यिक रूपमा इंगल्यान्डको उत्तरपश्चिम क्षेत्रमा पर्ने विगन, सेन्ट हेलन्स र लेघ नजिकका सहर तथा गाउँहरू मिलेर बनेको मेकरफिल्ड निर्वाचन क्षेत्रमा केन्द्रित छ ।
स्ट्रिटिङको श्रोता समूह भने फरक छ—यदि अर्को महिना नेतृत्व प्रतिस्पर्धा भयो भने उनलाई विश्वास दिलाउनुपर्ने लेबर सांसदहरू र पार्टी सदस्यहरू । अब ब्याकबेन्चर बनेका स्ट्रिटिङ वर्षौंपछि पहिलो पटक मन्त्रिमण्डलीय सामूहिक जिम्मेवारीको बन्धनबाट मुक्त भएका छन् ।
यसले उनलाई सार्वजनिक रूपमा स्वतन्त्र ढंगले बोल्न अवसर दिएको छ । त्यसै क्रममा उनले सप्ताहन्तमा ब्रेक्जिटलाई ‘विनाशकारी गल्ती’ बताएका छन् र एकदिन बेलायत फेरि युरोपेली संघमा फर्किने आशा व्यक्त गरेका छन् ।
बर्नहमको धारणा पनि धेरै फरक छैन । उनले गत शरद ऋतुमा आफ्नो जीवनकालमै बेलायत पुनः ईयूमा सामेल होस् भन्ने चाहना व्यक्त गरेका थिए । तर अहिले उनले आफ्नो जोड बदल्दै ‘अहिले पुनः ईयूमा फर्किने कुरा गर्नु अन्तिम प्राथमिकता हुनुपर्छ’ भनेका छन् ।
मेकरफिल्डले ब्रेक्जिटलाई निर्णायक समर्थन गरेको र स्थानीय निर्वाचनमा रिफर्म यूकेलाई व्यापक मत दिएको सन्दर्भमा यो परिवर्तन अस्वाभाविक होइन । उनले अहिले आफ्नो उद्देश्य समाजलाई पुनः एकताबद्ध गर्नु रहेको बताएका छन् । सप्ताहन्तमा उनले धेरै मानिसहरू किन रिफर्म यूकेतर्फ आकर्षित भए भन्ने आफूले राम्रोसँग बुझेको पनि बताए । संयोगवश, लेबर पार्टीभित्र ब्रेक्जिट फेरि प्रमुख सार्वजनिक बहसको विषय बनेकोमा असन्तुष्ट सांसदहरू पनि धेरै छन् ।
एक मन्त्रीले भने, ‘यो पागलपन हो । जनमतसंग्रहको निर्णयलाई स्वीकार गर्नैपर्छ । मलाई थाहा छ, लेबरका धेरै सदस्यहरू देशले गलत निर्णय ग¥यो भन्ने सोच्छन् र उनीहरू ब्रेक्जिट उल्ट्याउन चाहन्छन् । तर, यसले हामीलाई जनताबाट टाढा देखाउँछ । ब्रेक्जिट सुधार गर्न सकिन्छ, तर यसलाई उल्ट्याउने बहसमा नजाऔं ।’
बर्नहमले प्रधानमन्त्री बने पनि वर्तमान सरकारले अपनाएका ‘वित्तीय नियम’ कायम राख्ने बताएका छन् । उनले हालै रक्षा खर्चको केही भागलाई ती नियमबाहिर राख्न सकिने सुझाव दिएका थिए । साथै, गत शरद ऋतुमा न्यू स्टेट्सम्यानसँग कुरा गर्दै सरकारले ‘बन्ड बजारको बन्धक’ बन्ने अवस्थाबाट बाहिर निस्कनुपर्ने बताएका थिए ।
त्यस टिप्पणीका कारण उनलाई तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीसहित केही लेबर सांसदहरूले सार्वजनिक रूपमा आलोचना गरेका थिए । पछि उनले आफ्नो भनाइको अर्थ राजनीतिज्ञहरूले सार्वजनिक खर्चमाथिको नियन्त्रण गुमाएर देशलाई बजारको नियन्त्रणमा पु¥याएको भन्ने रहेको स्पष्ट पारे ।
यी विषयमा अझ धेरै बहस हुने देखिन्छ । बर्नहम आगामी एक–दुई दिनभित्र लेबरका आधिकारिक उम्मेदवार बन्ने अपेक्षा गरिएको छ भने स्ट्रिटिङबाट पनि यस साताभित्र थप धारणा सार्वजनिक हुने सम्भावना छ ।
दुवैले देशका लागि आफ्नो छुट्टै दृष्टिकोण प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्– जुन स्टार्मरभन्दा फरक पनि देखियोस्, तर दुई वर्षअघि लेबरले प्रस्तुत गरेको घोषणापत्रसँग पर्याप्त रूपमा मेल पनि खाओस् । किनभने उनीहरूलाई ‘नयाँ नेतासँग आफ्नै जनादेश छैन, त्यसैले आमनिर्वाचन गराउनुपर्छ’ भन्ने आलोचनाको सामना गर्नुपर्नेछ ।
पार्टीभित्र केही व्यक्तिहरूले निजी रूपमा यस्तो पनि चर्चा गर्न थालेका छन् कि यदि बर्नहमले उपनिर्वाचन जिते भने रिफर्म यूकेलाई हराउन सक्ने नेता भेटिएको राहत पार्टीमा यति ठूलो हुनेछ कि उनलाई कुनै औपचारिक प्रतिस्पर्धाबिनै पार्टी नेता बनाएर केही साताभित्र प्रधानमन्त्री बनाइने सम्भावना रहन सक्छ । हेरौं, के हुन्छ ।
तर अर्कातर्फ, यदि बर्नहम उपनिर्वाचनमै पराजित भए भने पार्टीभित्र के होला भन्ने चिन्ता पनि बढिरहेको छ । त्यसो भयो भने गत साताका विवाद र उथलपुथल सामान्य लाग्ने अवस्था आउन सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्