नेभिगेशन
प्रदेश

पाडापाडी किनेर हुर्काउँदै बेच्दै

झापा । भद्रपुर–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैंसीका पाडापाडीको लस्कर छ । कतारको मरुभूमिमा ११ वर्ष पसिना बगाएर फर्किएका उनी अहिले स्वदेशमै परिश्रम गरिरहेका छन् । २२ वर्षको उमेरमा कतार पुगेका उनलाई घर फर्कंदा बुबाले ‘अब विदेश नजान’ सुझाव दिएका थिए । ‘घरबाट छुट्टिएपछि बुबाले दुई बिघा जग्गा गरिखान भनेर दिनुभयो,’ उनी सुनाउँछन्, ‘अब विदेश नजा, भैंसी पालिस् भने तेरो भविष्य राम्रो हुन्छ भन्नुभयो । अनि, बुबाकै आज्ञापालन गरेर म भैंसीपालन व्यवसायमा लागेको हुँ ।’ 
२०७६ सालमा मुलुक कोरोना महामारीको चपेटामा रहेका बेला उनले आँट गरेर यो व्यवसाय सुरु गरेका हुन् । अर्जुनले विदेशबाट अनुभवसहित फर्केर फरक बाटो राजेका थिए । पशुपालन गर्ने दृढ सोचका साथ सुवेदी कृषि फार्म दर्ता गराए । कृषि विकास बैंकबाट ५७ लाख रुपैयाँ ऋण लिए । ६४ वटा मुर्रा जातको पाडापाडीबाट सुरु भएको व्यावसायिक यात्रा निरन्तर बढेको छ । भैंसीसँगै उनले बाख्रापालन र तरकारीखेतीलाई पनि गरेका छन् ।
अर्जुनको यो व्यवसायमा परिवारको दर्बिलो साथ छ । पत्नी दुर्गा र १६ वर्षीय छोरा बिहान सुवेदीले गोठको काममा सघाउँदै आएका छन् । पत्नी दुर्गा चार वर्ष वैदेशिक रोजगारीको क्रममा कतार बसेकी थिइन् । उनलाई पनि परिवारमै बसेर रमाउँदै स्वदेशमै उद्यम गर्न तीव्र इच्छा थियो । बुबाको व्यवसायलाई प्राविधिक रूपमा सघाउन छोरा बिहान भेटेरिनरी विज्ञान अध्ययन गरिरहेका छन् । छोरी विनिता उच्च शिक्षाका लागि जापानमा छिन् । छोरीलाई विदेशमा पढाउने खर्चको जोहो गर्न पनि यही भैंसीपालनबाट टेवा पुगेको अर्जुन  बताउँछन् । 
भद्रपुर–१ पृथ्वीनगरस्थित आफ्नै जमिनमा १५० वटा भैंसी अट्ने आधुनिक स्थायी गोठ छ । गोठ निर्माणमा २६ लाख रुपैयाँ लगानी भएको उनले बताए । उनको व्यवसायले स्थानीयलाई रोजगारीसमेत दिएको छ । बगर खेतमा लगाएको आलु, काउली र मकैखेतीले उनको आम्दानीमा थप टेवा पु¥याएको छ । भैंसीसँगै उनले २५ माउ बाखा पनि पालेका छन् । भैंसीपालनमा मात्रै लगभग ७० लाख लगानी भइसकेको उनी सुनाउँछन् । 
गाउँतिर थ्रेसरमा धान दाइँ गरेपछि पराल खेतमै छाड्ने र डढाउने चलन छ । त्यसरी खेतमा फालिएका पराल उनले संकलन गरेर राख्ने गरे, जसले भैंसीलाई हरियो घाँसमा मिसाएर पराल खुवाउन सहज भयो । उनका बाबु असम र इलाममा छँदा भैंसीपालन गर्थे । भैंसी पालेर झापामा जग्गा जोडोकाले छोरालाई सहज भएको छ । 
भैंसी पाल्दा चरन र घाँस उत्पादनका लागि उनले १३ बिघा बगर खेत भाडामा लिएका छन् । चरनमै अस्थायी गोठ बनाएका छन् । भैंसीलाई चरनमा गोठालो गर्न कामदारहरू राखेका छन् । भैंसी र बाख्रापालनबाट प्राप्त हुने आम्दानीबाट उनी सन्तुष्ट छन् । कतारमा रहँदा मासिक डेढ लाख कमाइ गर्थे । ‘स्वदेशमै बसेर भैंसी पाल्दा पनि त्योभन्दा चाहिँ कम कमाइ छैन,’ उनले भने ।
सिरहा र सप्तरीबाट साना पाडापाडी किनेर ल्याउने र बढीमा तीन वर्ष पालेपछि बिक्री गर्दै आएको उनी बताउँछन् । उनले दूध उत्पादनका लागि भैंसी पालेका होइनन् । मासुका लागि राँगा किन्न गोठमै व्यापारी आउने गरेको उनले बताए । राँगा मात्रै होइन, ब्याउने भइसकेका पाडी धेरै दाममा बिक्री हुने गरेको छ ।
उनले पालेका ११० वटा भैंसीका पाडा र २३० वटा बाख्राका पाठी कचनकबल गाउँपालिकाले एकै खेपमा किनेर लगे । उनीसँग किनिएका पाडा र पाठीहरू कचनकबल गाउँपालिकाले आफ्ना किसानहरूलाई वितरण गरेको थियो । कनकाई नगरपालिकाले पनि १३० वटा बाख्राका पाठी किनेर लगेको र किसानलाई वितरण गरेको उनले जानकारी दिए । 
सुरुका वर्षहरूमा धेरै संख्यामा भैंसीका पाडापाडी र बाख्रा पाले तापनि अहिले बाख्रा घटाएका छन् । भैंसी चाहिँ हुर्काउँदै बेच्दै छन् । भैंसीबाट खरिदको तुलनामा तेब्बरसम्म मुनाफा हुने गरेको उनले बताए । 
उनले लहानतिर एउटा पाडा वा पाडी रु २० हजारमा किन्छन् । तीन वर्ष पालेपछि ८० हजारदेखि डेढ लाख रुपैयाँसम्ममा गोठबाटै बिक्री हुने गरेको उनी सुनाउँछन् । ब्याउने पाडी डेढ लाखसम्ममा र मासुका लागि पालिएको पाडा ८० हजारदेखि एक लाखसम्ममा बिक्री हुने गरेको छ । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्