नेभिगेशन
प्रदेश

भेप प्रकरणमा शंकास्पद थप दुई पक्राउ

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाका हुँदै भन्सार छली गरी जोमसोमतर्फ ल्याइँदै गरेको विद्युतीय चुरोट (भेप) बरामद प्रकरणमा संलग्न थप दुई जना व्यक्तिसहित एक स्कार्पियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । 
भेप तस्करी प्रकरणमा संग्लन रहेको आरोपमा थासाङ गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय लेतेले शनिबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
भेप चोरी–पैठारीका लागि नक्कली कागजपत्र बनाउन सहयोग गरेको आशंकामा बीएई ४९२२ नम्बरको स्कार्पियो गाडीसहित त्यसका चालक  सिन्धुपाल्चोक सुनकोशी–४ का ४१ वर्षीय दीपेश गदाल र गाडीमा सवार सिन्धुपाल्चोकको लिसंखु पाखर–७ का ३९ वर्षीय रवीन्द्र दर्नाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । 
उनका अनुसार इलाका प्रहरी कार्यालय लेते चेक पोष्टमा चेकजाँच गर्ने क्रममा भेप प्रकरणमा संग्लन रहेको आशंकामा इप्रकाले नियन्त्रणमा लिएको हो । यसअघि गत शुक्रबार राति ११ बजे चीनबाट चोरी–पैठारी गरी नेपाल भिœयाएका दुई वटा कन्टेनरमा भेप जोमसोमतर्फ आउँदै गरेको अवस्थामा मुस्ताङ भन्सार कार्यालयका कर्मचारी र सुरक्षा निकायको संयुक्त टोलीले लोमान्थाङ–४ एक्लेभट्टी भन्ने स्थानमा बरामद गरेको थियो ।
ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरको मालवाहक कन्टेनरमा लोड गरिएका भेपसहित अन्य सामान बरामद गरिएको थियो । भन्सार कार्यालयका अनुसार नक्कली कागजपत्र तयार गरी चोरी–पैठारी गरिएका ५९० कार्टुन भेपसहित मोजा, जुत्ता, बेबी कट्टु, खाली कार्टुन, गेम भेस्टलगायत नौ प्रकारका सामान बरामद गरिएको थियो ।
प्रहरीका अनुसार चीनबाट भन्सार छलेर ल्याएका भेपसहित अन्य समानको अनुमानित मूल्य १६ करोड ६५ लाख रुपैयाँ छ । भेप लोड गरिएका अन्य सामानसहित दुई वटा कन्टेनरसहित चालक र एक व्यक्ति गरी तीन जनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।  
कन्टेनर चालक धादिङ धुनीबेंसी– १ का ४२ वर्षीय सन्तोष लामा, अर्का कन्टेनर चालक सिन्धुपाल्चोक भोटेकोशी–२ का ४९ वर्षीय  फुन्चु दोर्जेसहित उनका साथी सिन्धुपाल्चोक जुगल–३ का ५१ वर्षीय पासाङ शेर्पालाई प्रहरी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए । यता, सो घटनामा संग्लन रहेका पाँच जनाविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थप भइसकेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिए । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्