नेभिगेशन
प्रदेश

कृषिमा भविष्य खोज्दै युवा, बदलिँदै गाउँको तस्वीर

दैलेख । दैलेखका ग्रामीण क्षेत्रहरूमा पछिल्ला केही वर्षयता व्यावसायिक तरकारी खेतीले उल्लेखनीय परिवर्तन ल्याएको छ । विशेषगरी युवाहरू वैदेशिक रोजगारीको विकल्प खोज्दै आफ्नै गाउँघरमा बसेर कृषि पेशामै आत्मनिर्भर बन्न थालेका छन् । गाउँका केही स्थानीय युवा किसानहरूले तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै सफलताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेपछि अहिले गाउँकै तस्वीर बदलिएको छ ।
पहिले सामान्य परम्परागत खेतीमा सीमित रहेका किसानहरू अहिले आधुनिक र व्यावसायिक तरकारी उत्पादनतर्फ आकर्षित भएका छन् । करिब दुई दशकअघिसम्म घरखर्च चलाउन सानो स्तरमा मात्र गरिने खेतीले अहिले व्यवस्थित सिंचाइ, बजारको पहुँच र आधुनिक प्रविधिको प्रयोगका कारण व्यावसायिक रूप लिएको हो । हिजोआज यहाँका खेतबारीमा लटरम्म फलेका टमाटर, काँक्रा, करेला, काउली र अन्य मौसमी तरकारीहरू मुख्य उत्पादन र आम्दानीका स्रोत बनेका छन् ।
डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ का स्थानीय युवा किसान देवेन्द्र गोदारले तरकारी खेतीलाई नै आफ्नो कमाइको बलियो माध्यम बनाएका छन् । व्यवस्थित उत्पादन र बजार व्यवस्थापन चुस्त बनाएपछि आफूले वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको गोदार बताउँछन् । उन्नति एग्रो फर्मका सञ्चालक समेत रहेका गोदार भन्छन्, ‘पहिले बजार र सिंचाइको ठूलो समस्या थियो, अहिले स्थिति सुधार भएपछि खेतीबाटै राम्रोसँग जीवन चलाउन सकिएको छ । हामीले उत्पादन गरेका वस्तुहरू स्थानीय बजारमै सजिलै खपत हुन्छन् ।’
त्यस्तै अर्का होनहारी र मिहिनेती युवा किसान हुन्, गुराँस गाउँपालिका वडा नं. ६ का कृष्ण आर.सी. । तरकारी र सुन्तला खेतीबाट वर्षमा २५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका कृष्णको पूरा समय तरकारी र फलफूलको सङ्कलन, ढुवानी तथा बजारीकरणमै बित्छ । आफ्नो कामप्रतिको लगावका कारण पटक–पटक उत्कृष्ट किसानका रूपमा पुरस्कृत भइसकेका कृष्णको फर्म निकै लोभलाग्दो र अनुकरणीय छ । यद्यपि, सिंचाइ, असिना रोक्ने हवाई जाली, बगैँचा व्यवस्थापन र बाह्रै महिना चल्ने भरपर्दो सडकको पहुँच सरकारले पु¥याइदिने हो भने आफ्नो आम्दानीलाई अझै दोब्बर बनाउन सक्ने आँट उनीसँग छ । उनी थप्छन्, ‘यहाँ उत्पादन हुने तरकारीहरू स्थानीय बजारसँगै जिल्ला तथा प्रदेशका विभिन्न ठूला बजारसम्म पुग्ने गरेका छन् । उत्पादन गुणस्तरीय भएकाले हिजोआज व्यापारीहरू आफैँ खेतसम्मै पुगेर तरकारी खरिद गर्ने वातावरण बनेको छ ।’ यदि यही गति र सरकारी सहयोग निरन्तर रहने हो भने आगामी दिनमा यस क्षेत्रलाई तरकारी उत्पादनको प्रमुख केन्द्र (हब) का रूपमा विकास गर्न सकिने बलियो सम्भावना देखिन्छ ।
यसैगरी गुराँस गाउँपालिका वडा नं. ६ पिलाडी लामजिला गाउँका पूर्ण बहादुर रोकाय पनि विगत दुई दशकदेखि कृषिमा निरन्तर तल्लिन छन् । उनले तरकारीसँगै सुन्तला, कागती र माल्टा जस्ता फलफूल खेतीलाई पनि अगाडि बढाएका छन् । मौसम र बजार अनुकूल हुँदा एकै सिजनको तरकारी र फलफूलबाट मात्र ५ देखि ८ लाख रुपैयाँसम्म आम्दानी हुने रोकायको अनुभव छ । उनी भन्छन्, ‘उत्तरतिर मोहडा बनाएर पूर्व–पश्चिम फैलिएको गुराँस गाउँपालिकाको करिब ३० किलोमिटर रेन्जको लेक क्षेत्र पुरै तरकारी खेतीका लागि निकै उर्वर छ ।’
यस क्षेत्रमा सयौँ टनसम्म बीउको माग हुने गरेकाले जिल्ला कृषि विकास कार्यालय दैलेखले किसानको सुविधालाई ध्यानमा राखेर गुराँस गाउँपालिका वडा नं. ४ डबलगैरा र वडा नं. ५ सानीकाँडाको पायक पर्ने स्थानमा ’रस्टिक सेन्टर’ (बीउ भण्डारण केन्द्र) स्थापना गरिदिएको छ । बीउको सहज उपलब्धता ग्यारेन्टी भएपछि आफूहरूलाई निकै सजिलो भएको लामजिलाका रोकाय तथा लहरा बस्तीका किसानहरू मिन बहादुर भण्डारी र प्रतीक्षा बि.सी. बताउँछन् ।
कृषि विकास कार्यालय र सम्बन्धित निकायहरूको सहयोगमा किसानहरूलाई आधुनिक तालिम, उन्नत बीउबिजन, मल तथा प्राविधिक सहायता नियमित रूपमा प्रदान गरिँदै आएको छ । यसले गर्दा किसानहरूमा आधुनिक खेतीप्रति विश्वास र उत्साह दुवै बढेको छ । सिंचाइको व्यवस्था, सडकको पहुँच र बजार व्यवस्थापनमा सुधार आएकै कारण उत्पादन लागत घटेको र नाफाको दर बढेको किसानहरूको सामूहिक भनाइ छ ।
जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेका अनुसार यहाँका किसानहरूले मेहनत गरेर उदाहरणीय काम गरिरहेका छन् । प्रमुख पाण्डे भन्छन्, ‘व्यावसायिक रूपमा कृषि गर्ने हो भने आर्थिक अभाव झेल्नु पर्दैन र रोजगारीका लागि विदेश पनि जानु पर्दैन भन्ने उदाहरण यहाँका किसानहरूले प्रमाणित गरेर देखाइदिएका छन् । कृषिबाट पनि मनग्य र दिगो आम्दानी गर्न सकिन्छ ।’
यद्यपि, सोचेजस्तो सफलता मिल्दै गए पनि केही चुनौतीहरू अझै कायमै छन् । बजार मूल्यमा आउने उतारचढाव, समयमा ढुवानी साधन नपाउने समस्या र मौसम परिवर्तनका कारण खेतीमा पर्ने असरले किसानहरू कहिलेकाहीँ मर्कामा पर्ने गरेका छन् । यस्ता समस्याको दीर्घकालीन र स्थायी समाधानका लागि स्थानीय सरकारले थप ठोस योजना ल्याउनुपर्ने माग किसानहरूको छ ।
समग्रमा, दैलेखमा मौलाउँदै गएको तरकारी खेतीले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन ठूलो र सकारात्मक परिवर्तन ल्याएको छ । परम्परागत निर्वाहमुखी कृषिबाट आधुनिक व्यावसायिक कृषितर्फको यो रूपान्तरण देशका अन्य ग्रामीण क्षेत्र र विदेश जान चाहने युवाहरूका लागि पनि एउटा ठूलो प्रेरणाको स्रोत बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्