नेभिगेशन
उपत्यका

हवाई यात्रुले बोक्न छाड्दैनन् घिउ र अचार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले प्रत्येक ३०÷३० मिनेटमा सार्वजनिक सूचना जारी गर्दै विमानको होल्ड वा ह्यान्ड ब्यागेजमा घिउ, मह, दही, तेल, मदिरा, बडी स्प्रे, खुर्सानीको धुलो र अचारजस्ता सामान लैजान पाइँदैन भनेर यात्रुलाई लगातार सचेत गराइरहेको हुन्छ । तर, यात्रुहरू सुनेको नसुनेकै गर्छन् । टाढाबाट परिवारका सदस्य तथा आफन्तकहाँ जाँदै गर्दा कसरी छाड्ने परम्परागत घरेलु खानेकुरा । धेरैलाई द्विविधा हुन्छ । ब्याग खोलिन्छन्, बन्देज गरिएका वस्तु यतै रोकिन्छन् ।
विमानस्थल सुरक्षाको सूचना बेवास्ता गर्दा प्रहरीले महिना महिनामा ठूलो परिमाणमा यस्ता खाद्यवस्तु जफत गरेर नष्ट गरिरहेको हुन्छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयको तथ्यांकले पनि यसको पुष्टि गर्छ । 
तीन महिनामा यात्रुहरूले लुकाएर लैजान खोजेका १२८ बट्टा अचार, १९ बट्टा घिउ, ९ पोका मसला र १ केजी खुर्सानी नियन्त्रणमा लिएर प्रहरीले डम्पिङ क्षेत्रमा नष्ट गरेको छ । यसका साथै नियन्त्रणमा लिइएका १६३२ थान बडी स्प्रे, १२० थान स्याम्पु, ४०७५ वटा लाइटर, २१८५ थान कैंची, २८ थान ब्लेड, १८९ थान बेल्ट, ३२ बोतल मदिरा र १२५ केजी सुर्ती÷पराग समेत प्रहरीले गरेको छ । यसले यात्रुहरूमा अझै पनि विमानस्थल सुरक्षा नियमबारे चेतनाको कमी रहेको स्पष्ट पार्छ । 
प्रमुख बनेर एसपी वसन्त रजौरे आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल प्रहरीको सुरक्षा कार्यालयभि तीन महिनामा गरेका कामको फेहरिस्त सार्वजनिक गर्दा हवाई सेवाका यात्रुमा बन्देज गरिएका सामान बोक्ने बानीमा सुधार नआएको देखिएको हो ।
गत माघ दोस्रो सातादेखि रजौरेले नेतृत्व गरेयता आएपछि सुरक्षा व्यवस्थालाई थप कडा र प्रविधिमैत्री बनाउन नयाँ रणनीतिहरू अपनाएको जनाइएको छ । विमानस्थलको एप्रोन क्षेत्रमा काम गर्ने क्लिनर र लोडरहरूबाट यात्रुको सामान चोरी हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरोकारवाला निकायहरूसँग समन्वय गरी गत चैत २७ देखि उनीहरूको पोसाकलाई खल्तीविहीन अर्थात् पकेटलेस बनाइएको छ । त्यति मात्र होइन, विमानस्थलमा कार्यरत कर्मचारीहरू गैरव्यावसायिक र अवैध गतिविधिमा संलग्न नहुन् भनेर सुरक्षा संवेदनशीलताका आधारमा हालसम्म ५३ पटकभन्दा बढी आकस्मिक जाँच गरिएको छ । जहाजको ब्यागेज होल्डभित्र सामान लोड र अनलोड गर्ने लोडरहरूलाई प्रहरीले अनिवार्य खानतलासी गर्ने व्यवस्था समेत लागू गरेको छ ।
विमानस्थलमा यात्रुहरूले सामान बोक्ने र भिœयाउने प्रवृत्तिलाई नियाल्दा विलासिताका इलेक्ट्रोनिक्स सामान, मोबाइल, ल्यापटप र महँगा विदेशी घडीहरू भन्सार छलेर अवैध रूपमा ल्याउने गरेको पाइएको छ । प्रहरीले यस अवधिमा भन्सार छली ल्याइएका १ करोड २५ लाख ९० हजार ८ सय रुपैयाँ बराबरका ७३ थान मोबाइल, ५३ थान ल्यापटप, १८७ थान भेप, ७ थान क्यामेरा र ५ थान ड्रोनसहित ५४ जनालाई पक्राउ गरेको छ । यस्तै ६६ लाख ६१ हजार ३ सय ४७ रुपैयाँ बराबरको २५८.५० ग्राम अवैध सुनसहित ६ जना पक्राउ परेका छन् । 
यात्रुहरूले यात्राका क्रममा विमानस्थलमै छुटाएका वा बिर्सिएका सामानहरूमा पनि मोबाइल २३ थान, ल्यापटप ३४ थान, घडी १३४ थान र सुनचाँदी जस्ता देखिने बहुमूल्य गरगहनाहरू फेला परेका छन्, जसलाई प्रहरीले फेला पारेलगत्तै सम्बन्धित धनीलाई बुझाउने र सम्पर्कमा नआएका सामानहरू विमानस्थलको लस्ट एन्ड फाउन्ड सेक्सनमा जम्मा गरेको छ ।
विमानस्थल सुरक्षा प्रहरीले अवैध मुद्रा र लागुऔषध ओसारपसार गर्ने गिरोहमाथि पनि कडा निगरानी बढाएको छ । यस अवधिमा प्रहरीले झण्डै ६९ किलो ६३९ ग्राम गाँजा र १ किलो ७० ग्राम ब्राउन सुगरसहित २१ जनालाई समातेको छ । त्यसैगरी १ करोड १३ लाख ५० हजार ९ सय ३७ रुपैयाँ बराबरको अमेरिकी डलर, युरो, चिनियाँ युआन, कतारी रियाल र स्विडिस क्रोनर लगायतका विदेशी अवैध मुद्रासहित ४ जना पक्राउ परेका छन् भने चिनियाँ युआनको नक्कली नोट बोकेका एक सेनेगलीज नागरिक समेत विमानस्थलबाटै समातिएका छन् ।
सुरक्षा व्यवस्थालाई मजबुत बनाउने क्रममा देशका विभिन्न प्रहरी कार्यालयहरूबाट मुद्दा बुझाई फरार रहेका १३ जना प्रतिवादीहरूलाई अध्यागमन कार्यालयको समन्वयमा विमानस्थलबाटै पक्राउ गरी सम्बन्धित कार्यालयमा बुझाइएको छ । नक्कली राहदानी प्रयोग गरेर यात्रा गर्न खोज्ने ३ जना यात्रुलाई नियन्त्रणमा लिई कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ । विमानस्थल भित्र यात्रुलाई दुःख हैरानी दिने, अभद्र व्यवहार गर्ने र जहाजभित्रै मादक पदार्थ सेवन गरेर चालक दलका सदस्यसँग विवाद गर्ने २४ जनालाई पक्राउ गरी कारबाही गरिएको छ भने विमानस्थलभित्र अव्यवस्थित रूपमा चिया, खाजा र खादा–माला बेच्ने कार्यमा रोक लगाइएको छ । 
सेवाग्राहीको सहजताका लागि डिर्पाचर गेट ‘ए’ र ‘बी’ को बीचमा प्रहरी सहायता कक्ष स्थापना गरी हालसम्म ३ हजार ७ सय १० जना यात्रुलाई प्रत्यक्ष सहयोग पु¥याइएको तथ्यांक छ । सामान हराएको वा चोरी भएको विषयमा प्राप्त ५८६ वटा निवेदन र गुनासाहरूलाई सीसीटीभी फुटेजको माध्यमबाट सम्बोधन गरिएको छ । साथै, फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती र बालबालिकाहरूलाई लाइनमा बस्न हुने कठिनाइलाई मध्यनजर गर्दै समन्वय गरी प्रायोरिटी गेट राखेर सेवा दिइएको छ । 
प्रहरी कर्मचारीहरूको कार्यक्षमता र आचरण सुधारका लागि ६१ वटा प्रश्नोत्तर समेटिएको ‘नो योर स्टाफ’ गुगल फाराममार्फत उनीहरूको समस्या र मनोविज्ञान बुझ्ने प्रयास गरिएको छ । स्वदेशी तथा विदेशी यात्रुहरूसँग शिष्ट व्यवहार होस् भन्ने उद्देश्यले ४५८ जना प्रहरी कर्मचारीहरूलाई अंग्रेजी भाषा, हस्पिटालिटी र आचारसंहितासम्बन्धी चारदिने विशेष तालिम दिइएको छ । दिनरात खटिने कर्मचारीहरूलाई थप उत्प्रेरित गर्न प्रत्येक दिन उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई ‘पुलिस अफ द डे’ घोषणा गरी हालसम्म ३५ जना प्रहरीलाई पुरस्कृत गरिएको सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्