नेभिगेशन
खेलकुद
सुपरसाइज विश्वकपमाथि प्रश्न

कति ठूलो भएपछि धेरै ठूलो हुन्छ ?

फिफा विश्वकपको इतिहासमै पहिलोपटक टोली संख्या, खेल संख्या र आयोजक राष्ट्रको दायरालाई व्यापक रूपमा बढाइएको छ । तर, खेलकुदकै सबैभन्दा ठूलो यो उत्सव महाआकारको बन्दा एउटा गम्भीर प्रश्न भने विश्वभर उठिरहेको छ – ‘आखिर कतिसम्म ठूलो हुनु चाहिँ अति हुनु हो ?’
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेको यसपटकको संस्करणले विश्वकै सबैभन्दा लोकप्रिय खेलको सीमालाई अन्तिम विन्दुसम्मै धकेल्ने निश्चित छ ।
अत्यधिक व्यस्त खेल तालिकाका कारण मुख्य खेलाडीहरूले हड्तालको चेतावनी दिइरहेका बेला खेलाडीहरूको शारीरिक क्षमताको सीमा, टेलिभिजनमा लगातार आउने फुटबलका कारण दर्शकहरूको घट्दो रुचि, वा टिकट र पार्किङका लागि मानिसहरूले तिर्नुपर्ने अत्यधिक शुल्कजस्ता अनेकौं दबाबका बीच यो जुन–जुलाईमा प्रतियोगिता सुरु हुँदैछ ।

के प्रतियोगिताको साख घट्दैछ ?
यसपटक टोली संख्या ३२ बाट बढाएर ४८ पु¥याइएको छ र प्रतियोगिता झन्डै ६ हप्तासम्म चल्नेछ । आलोचकहरूका अनुसार यसले फिफाको सबैभन्दा प्रतिष्ठित ब्रान्डको आकर्षणलाई फितलो बनाउने जोखिम छ । अमेरिकाका पूर्व स्ट्राइकर क्लिन्ट डेम्प्सी भन्छन्, ‘मलाई व्यक्तिगत रूपमा के लाग्छ भने यसले प्रतियोगिताको उत्साह र गुणस्तरलाई थोरै घटाएको छ । अब त ‘राउन्ड अफ ३२’ सुरु नभएसम्म विश्वकप सुरु भएजस्तै लाग्दैन ।’
नयाँ ढाँचाका कारण सुरुवाती चरणमै बलिया टोलीहरू एउटै समूहमा पर्ने सम्भावना (जसलाई फुटबलको भाषामा ‘ग्रुप अफ डेथ’ भनिन्छ) अन्त्य भएको छ । तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोलीहरू पनि अघिल्लो चरणमा पुग्न सक्ने भएकाले ‘राउन्ड अफ १६’ अघिको रोमाञ्चकता र जोखिम निकै कम भएको छ ।
‘द पावर एन्ड द ग्लोरी ः ए न्यू हिस्ट्री अफ द वल्र्ड कप’ का लेखक जोनाथन विल्सन भन्छन्, ‘सबैभन्दा ठूलो खतरा भनेको खेलको भव्यता फितलो हुनु हो । यो पहिलो विस्तारित प्रतियोगिता भएको र टिकटको मूल्य अकासिएकाले यसपटक फिफा जोगिन सक्ला । तर, ‘लास्ट १६’ अघिसम्म खेलहरू रोचक भएनन् भने भविष्यमा ब्रोडकास्टर र प्रशंसकहरूले वास्ता गर्न छाड्नेछन् । विश्वकपको खेल त हेर्नैपर्ने खालको हुनुपर्छ । १०४ मध्ये ९० खेल कसैले पनि हेर्दैन । यो अति नै धेरै हो ।’

फिफाको तर्क – खेलको विश्वव्यापीकरण
फिफाका अध्यक्ष जियानी इन्फान्टिनो भने टोली संख्या बढाउँदा फुटबल ‘वास्तविक रूपमै विश्वव्यापी’ हुने र विश्वकप खेल्ने सपना समेत नदेखेका देशहरूले अवसर पाउने दाबी गर्छन् । फिफाको सिद्धान्त के छ भने– छनोट हुने सम्भावना बढेपछि देशहरूले तल्लो तहदेखि नै फुटबलमा लगानी बढाउनेछन् र यसले विश्वभर खेलको स्तर सुधार्नेछ ।
यसपटक चारवटा देशहरूले विश्वकपमा डेब्यु गर्दैछन् । जसमा जनसंख्याका हिसाबले विश्वकप खेल्ने अहिलेसम्मकै सबैभन्दा सानो देश कुरासाओ पनि छ । कुरासाओका गोलकिपर इलोय रुम भन्छन्, ‘यहाँसम्म पुग्नु हाम्रा लागि ठूलो उपलब्धि हो, तर हामी यहाँ राम्रो खेल्न र आफ्नो योग्य साबित गर्न आएका हौं ।’
कुरासाओसँगै जोर्डन, केप भर्डे र उज्वेकिस्तानले पनि पहिलोपटक विश्वकप खेल्दैछन् भने हाइटी सन् १९७४ पछि पहिलोपटक छनोट भएको छ ।
हाइटीका मिडफिल्डर यासिन फच्र्युन भन्छन्, ‘बाल्यकालमा हामी सबै विश्वकप हेथ्र्यौं र खेल्ने सपना बुन्थ्यौं । तर त्यो केवल एउटा काल्पनिक सपना मात्रै लाग्थ्यो । आज यहाँ सहभागी हुन पाउनु अकल्पनीय छ ।’
यो विस्तारित रूपले केही सुखद कथाहरू पनि जन्माएको छ । जर्मनीको क्षेत्रीय लिग खेल्ने हाइटीका गोलकिपर जोसुए डुभरजेरले अब ब्राजिलका भिनिसियस जुनियर र नेयमारजस्ता स्टारहरूसँग मैदान साझा गर्नेछन् । त्यस्तै, इंग्ल्यान्डको पाँचौं डिभिजनबाट रेलिगेसनमा परेको टोली ब्रेन्ट्री टाउनका डिफेन्डर टमी स्मिथले न्युजिल्यान्डको तर्फबाट विश्वकप खेल्दैछन् ।

दुर्लभ हुनुको महŒव र व्यावसायिक चुनौती
इंग्ल्यान्डको प्रोफेसनल फुटबलर्स एसोसिएसनका प्रमुख कार्यकारी माहेता मोलाङ्गो भने खेलाडीहरूमाथि थपिएको कार्यबोझविरुद्ध निरन्तर आवाज उठाइरहेका छन् । खेलको गुणस्तर खस्कँदै गएको तर्क गर्दै उनी फुटबलले अमेरिकी एनएफएलबाट सिकेर ‘दुर्लभ हुनुको मूल्य’ बुझ्नुपर्ने बताउँछन् ।
अमेरिकी एनएफएलले प्रतिसिजन मिडिया अधिकारबाट मात्रै झन्डै ११ अर्ब डलर कमाउँछ, जबकि त्यहाँ टोलीहरूले नियमित सिजनमा १७ र सुपर बोल पुगेमा बढीमा २१ खेल मात्र खेल्छन् । विश्वकै सबैभन्दा धेरै हेरिने र धनी मानिने फुटबल लिग इंग्लिस प्रिमियर लिगको आर्थिक आँकडा पनि एनएफएलको अगाडि फिक्का देखिन्छ । प्रिमियर लिगमा टोलीहरूले वर्षमा ३८ खेल खेल्छन्, तर यसको घरेलु र अन्तर्राष्ट्रिय प्रसारण अधिकारको वार्षिक कमाइ एनएफएलको आधा पनि छैन ।
फुटबलको विश्वव्यापी पहुँच ठूलो भए पनि यसले आफ्नो गुणस्तरमा ध्यान दिनुपर्ने मोलाङ्गोको भनाइ छ । उनी भन्छन्, ‘हामी चीन, अमेरिका र भारत जस्ता बजारहरूलाई लक्षित गरिरहेका छौं । त्यसैले हामीले दुर्लभ हुनुको महŒव बुझ्नुपर्छ । जहिले पनि धेरै हुनु नै राम्रो हुनु हो भन्ने सोच्नु गलत हो । हाम्रो पहिलो प्राथमिकता खेलको गुणस्तर हुनुपर्छ ।’

खेलाडीहरूको स्वास्थ्यमा गम्भीर संकट
खेलको गुणस्तर मात्र होइन, खेलाडीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई लिएर खेलाडी युनियनहरू निकै चिन्तित छन् । यसपटकको विश्वकपपछि धेरैजसो खेलाडीहरूले विश्राम नै नपाई लगातार तीन वर्ष अफसिजनमा ठूला प्रतियोगिताहरू खेल्नुपर्नेछ, जसमा सन् २०२४ को युरो कप र कोपा अमेरिका, र गत समरको विस्तारित क्लब विश्वकप सामेल छन् ।
अन्तर्राष्ट्रिय खेलाडी युनियनका अनुसार क्लब विश्वकप जितेपछि चेल्सीका खेलाडीहरूको चोटपटकको दर ४४ प्रतिशतले बढेको थियो । यसैकारण ब्राजिलका स्टारहरू रोड्रिगो, एडर मिलिटाओ र एस्टेभाओ जस्ता खेलाडीहरू चोटका कारण यो विश्वकपबाट बाहिर भइसकेका छन् ।
लिभरपुलका पूर्व खेलाडी जेमी काराघेर आक्रोश पोख्दै भन्छन्, ‘शीर्ष खेलाडीहरूलाई वस्तुभाउ जस्तै व्यवहार गरिँदैछ । यदि विश्वकपका खेलहरूमा उनीहरूको प्रदर्शन कमजोर भयो र आलोचना गरियो भने, हामीले उनीहरूले कति धेरै फुटबल खेलेका छन् र कस्तो परिस्थितिमा खेलिरहेका छन् भन्ने सम्झनुपर्छ । फुटबल आयोजकहरूले खेलाडीको शारीरिक र मानसिक दबाबबारे कहिल्यै सोचेको जस्तो देखिँदैन ।’

फिफाको ढुकुटी र टिकटको चर्को मूल्य
विश्वकप फिफाको आम्दानीको मुख्य स्रोत हो र यसलाई ठूलो बनाउँदा हुने आर्थिक फाइदा निकै लोभलाग्दो छ ।
खेल संख्या बढेर १०४ पुग्नुको अर्थ थप टिकट बिक्री हुनु हो । ठूला खेलहरूको उत्कृष्ट सिटका लागि टिकटको मूल्य हजारौं डलर पु¥याइएको छ । जनवरीमा टिकट खुला गर्दा यसको मूल्य १४० डलरदेखि ८ हजार ६ सय डलरसम्म थियो । तर, फाइनल खेलको आधिकारिक मूल्य नै बढेर ३२ हजार ९ सय ७० डलर (झन्डै ४४ लाख नेपाली रुपैयाँ) सम्म पुगेको छ । फिफाले आफ्नै रिसेल मार्केटप्लेसबाट हुने प्रत्येक बिक्रीमा ३० प्रतिशत कमिसन लिन्छ, जहाँ अप्रिल महिनामा फाइनलका ४ वटा टिकटहरू प्रतिटिकट २३ लाख डलर (झण्डै ३० करोड रुपैयाँ) सम्ममा सूचीकृत गरिएका थिए ।
खेलप्रेमीहरूले फिफाको यो मूल्य रणनीतिको तीव्र विरोध गर्दै यसलाई ‘विश्वासघात’ भनेका छन् । तर, अत्यधिक मागका बीच फिफाले यो कमाइ खेलकै विकासमा लगानी हुने दाबी गरेको छ । यस वर्ष फिफाले विश्वकपबाट ९ अर्ब डलरभन्दा बढी राजस्व संकलन गर्ने अपेक्षा गरेको छ ।
यो महाआकारको ढाँचाले प्रशंसकहरूलाई टाढा भगाउँछ या आकर्षित गर्छ, त्यो त समयले नै बताउनेछ । तर, तथ्यांकसम्बन्धी संस्था निल्सनका अनुसार अमेरिकामा फुटबलप्रतिको क्रेज बढ्दो छ । सन् २०२३ देखि २०२५ को बीचमा अमेरिकामा सबैभन्दा धेरै हेरिएको खेल युरो कपको फाइनल (स्पेन विरुद्ध इंग्ल्यान्ड) थियो, जसलाई ६६ लाख मानिसले हेरेका थिए ।
हालसम्म फिफाले विश्वभरका १८० भन्दा बढी क्षेत्रहरूमा खेल प्रसारणका लागि सम्झौता गरिसकेको छ । चौतर्फी चिन्ता र आलोचनाका बाबजुद फुटबलको व्यावसायिक बजार र फिफाको यो ठूलो प्रयोग अझै शक्तिशाली रूपमा अघि बढिरहेको देखिन्छ । (एपी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्