नेभिगेशन
उपत्यका

इजरायली स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित इजरायल दूतावासले इजरायलको ७८औं स्वतन्त्रता दिवस भव्य कार्यक्रमका बीच मनाएको छ । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवसहित उच्च सरकारी अधिकारी, राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले नेपाल–इजरायल सम्बन्ध मित्रता, सहकार्य र साझा आकांक्षामा आधारित रहेको बताए । 
उनले शिक्षा, नवप्रवर्तन र सहनशीलतामार्फत विकास सम्भव हुने उल्लेख गर्दै कृषि, जल व्यवस्थापन, प्रविधि तथा उद्यमशीलताका क्षेत्रमा इजरायल नेपालसँग सहकार्य गर्न तयार रहेको धारणा राखे । 
समारोहमा चर्चित इजरायली संगीतकार एलेक्स पोलाकले सांगीतिक प्रस्तुति दिएका थिए । साथै इजरायलको ७८ वर्षको स्वतन्त्रता, उपलब्धि र सहनशीलताको सम्मानमा विशेष टोस्ट पनि गरिएको थियो ।
कार्यक्रममा एआई प्रविधिबाट तयार गरिएको भिडियोमार्फत इजरायलका नवप्रवर्तन र विश्वमा दिएको योगदान प्रस्तुत गरिएको थियो ।
त्यसैगरी, माशाभ तालिम, केयरगिभिङ र ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरायलमा अनुभव हासिल गरेका नेपालीहरूको प्रेरणादायी कथा पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
इजरायल दूतावासले आगामी दिनमा पनि नेपालसँग विकास, शिक्षा र प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्