नेभिगेशन
प्रदेश

मकै सुकाउँदा गाउँका सडकपिच्छे बिस्कुन पहेँलपुर

रौतहट । रौतहटसहित तराई–मधेसका विभिन्न जिल्लाका ग्रामीण सडकहरू यतिबेला मकै सुकाउने थलोमा परिणत भएका छन् । आँगन र खेतमा सुकाउँदा फोहोर पर्ने भएकाले किसानलाई सडक सजिलो भएको हो । 
यसरी सडकमा अन्न सुकाउँदा सवारी दुर्घटनाको जोखिम बढेको भन्दै एकातिर चिन्ता छ, अर्कातिर विकल्पका विषयमा भने पहल कतै छैन । रौतहटका ग्रामीण सडकहरूमा बिहानदेखि साँझसम्म मकै सुकाउने क्रम चलिरहेको देखिन्छ । कालोपत्रे तथा कच्ची सडकमा मकै फैलाएर सुकाउँदा सडक साँघुरिने, मोटरसाइकल, स्कुटर, साइकल चिप्लिएर दुर्घटना हुने जोखिम उच्च भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले बताए । 
‘गाडी, बाइक र पैदलयात्रुसमेतका गुनासा आएका छन् । सडकमा अन्न सुकाउन हुँदैन,’ उनले भने, ‘यसले दुर्घटनाको जोखिम बढाएको छ । यसो नगर्न कानुनले कडाइ गर्नुभन्दा पनि स्थानीयबासी नै सचेत हुनुपर्छ । सडकमा बिस्कुन नसुकाउन प्रहरीले देखेका ठाउँमा आग्रह गरिहेको उनले बताए । यसलाई नियन्त्रण गर्न स्थानीय तहसँग पनि सहकार्य थालिएको जानकारी उनले दिए । यता किसानहरू भने आफूहरू रहरले नभई बाध्यताले सडकमा मकै सुकाउनुपरेको सुनाउँछन् । गाउँघरमा पर्याप्त खुला चौर, गोदाम वा आधुनिक सुकाउने प्रविधि नहुँदा सडक नै एकमात्र विकल्प बनेको चन्द्रपुर–९ का वीरेन्द्र बछारले बताए । ‘घरको आँगन सानो छ, खेतमा पानी र हिलो हुन्छ । मकै सुकाउन घाम लाग्ने फराकिलो ठाउँ चाहिन्छ,’ उनले भने, ‘सरकारले वैकल्पिक व्यवस्था नगरेसम्म सडकबाहेक अर्को उपाय छैन । यो हाम्रो रहर होइन बाध्यता हो ।’
धानभन्दा मकै ढिला सुक्छ । सडकमा बिस्कुन लगाइने मकै सुक्न दुई दिनदेखि तीन दिनसम्म लाग्ने गरेको छ । कतिपय सडकहरूमा त किसानले पÒरै सडक ढाक्नेगरी मकै सुकाउँदा पैदल यात्रुलाई समेत अप्ठ्यारो हुने गरेको छ । यहाँ ग्रामीण सडकहरूमा डेढ–दुई किलोमिटरसम्म मकै सुकाइएको दृश्य नौलो मानिनेमा पर्न छाडेको छ । बाटोमा मकै सुकाएर बोरामा प्याकिङ गर्दा  किसानहरूका लागि बेच्न वा भण्डारणका लागि लैजान सजिलो भएको छ । 
किसानका अनुसार यसपटक मकैको भाउ गत वर्षभन्दा घटेको छ । गत वर्ष ३५ सय प्रति क्विन्टलसम्म बेचेका किसान यसपटक २८ सयमा बेच्न बाध्य भइरहेका छन् । 
नसुकाइ बेच्दा व्यापारीले नकिन्ने र घरमै राख्दा पनि बिग्रने हुन्छ । त्यसैले  छिटो सुकाउन सडक प्रयोग गरेको चन्द्रपुर–१० का अमिताभ माझीले सुनाए । ‘बाटोमा सुकाउन सजिलो छ, अरू विकल्प भए हामी सडकमा सुकाउँदैनथ्यौं,’ उनले भने । 
बाटोमा सुकाउँदा दुर्घटनाको जोखिम भयो भनेर किसानलाई मात्र दोष दिनुभन्दा स्थानीय तह र सम्बन्धित निकायले दीर्घकालीन समाधान खोज्नुपर्ने पनि केहीको राय छ । चन्द्रपुर–९ का वडाध्यक्ष नवराज देवकोटा यसका लागि छलफल गर्न सकिने बताउँछन् । ‘ग्रामीण क्षेत्रमा अन्न सुकाउन सामुदायिक स्थल, कृषि भण्डारण केन्द्र तथा आधुनिक ड्रायरको व्यवस्था गर्न सके सडकमा सुकाउने समस्या हटाउन सकिन्थ्यो,’ उनले भने, ‘यसका लागि हामीले छलफल गर्नुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्