नेभिगेशन
उपत्यका

बयान फेर्ने सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सरकारी साक्षीका रूपमा उपस्थित गराइएका तीन जनाले गलत बयान दिएको भन्ने आयोगको आरोप छ । 
आयोगले उनीहरूलाई विशेष अदालतमा यसअघि नै दर्ता भएको एक मुद्दामा साक्षीका रूपमा उपस्थित गराएको थियो । सरकारी साक्षीका रूपमा उपस्थित प्रह्लाद गौतम, विप्लव पोखरेल र राजेश श्रेष्ठले अनुसन्धानका क्रममा सहयोग नगरेको र गलत बकपत्र दिएको आयोगको दाबी छ । गत वैशाख २५ गते विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान प्रतिकूल हुनेगरी बयान दिएको पुष्टि भएको छ । 
आयोगले स्याङ्जा पुतलीबजारका विप्लव पोखरेलविरुद्ध ५६ हजार ३५०, हेटौंडाका प्रह्लाद गौतमविरुद्ध ३७ हजार ५००  र सिन्धुपाल्चोक त्रिपुरासुन्दरीका राजेश श्रेष्ठविरुद्ध २७ हजार ३५० रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ । उनीहरूले सो बराबरको रकम ढुण्डीराज दाहाललाई घुसबापत दिएका थिए । वीर अस्पतालका लेखा अधिकृत दाहाल यसअघि नै घुस लिएको अभियोगमा पक्राउ परेका थिए । उनलाई आयोगको टोलीले गत असोज अन्तिम साता १ लाख २० हजार ८५० रुपैयाँ घुस लिएको रकमसहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्