नेभिगेशन
मनोरञ्जन

सिनेमा व्यवसायमा डिज्नी र आइम्याक्सबीचको प्रतिस्पर्धा

फिल्म व्यवसायमा डिज्नीसँग प्रतिस्पर्धा गर्नु कमजोर मन भएकाहरूको काम होइन । तर, आइम्याक्सका लागि भने यो एक किसिमको उच्च प्रशंसा नै हो । आइम्याक्स आफैंले फिल्म बनाउँदैन तर यस वर्षको अन्त्यतिर डिज्नीले आफ्नो नयाँ ‘एभेन्जर्स’ फिल्म प्रदर्शन गर्दा यी दुई कम्पनी एकअर्काको आमनेसामने हुनेछन् । डिज्नीको मार्भल युनिभर्सअन्तर्गतको यो अत्यन्तै लोकप्रिय फ्रेन्चाइजको पाँचौं भाग पहिले गर्मीयाममा प्रदर्शन गर्ने भनिएकोमा अहिले डिसेम्बर १८ का लागि सारिएको छ । तर, वार्नर ब्रदर्सको फिल्म ‘डूनः पार्ट थ्री’ ले उक्त मिति र सबैभन्दा महŒवपूर्ण मानिने आइम्याक्सका पर्दाहरू पहिले नै सुरक्षित गरिसकेको छ ।
यसको समाधानका लागि डिज्नीले ‘इन्फिनिटी भिजन’ नामक नयाँ योजना ल्याएको छ । यो आइम्याक्स प्रणालीभन्दा बाहिरका अन्य प्रिमियम ठूला पर्दाहरू (पीएलएफ) का लागि ल्याइएको एउटा प्रमाणीकरण कार्यक्रम हो । डिज्नीले गत महिना सिनेमाकन सम्मेलनमा यसबारे घोषणा गरेको थियो । आगामी शरद ऋतुसम्ममा ‘एभेन्जर्स’ फिल्मका लागि धेरैभन्दा धेरै यस्ता ठूला पर्दाहरूलाई प्रमाणित गर्ने डिज्नीको लक्ष्य छ ।
संसारकै सबैभन्दा ठूलो मनोरञ्जन कम्पनीसँग सिधै प्रतिस्पर्धा गर्नु आइम्याक्सका लागि नकारात्मक जस्तो देखिन सक्छ तर डिज्नीको यो कदमले वास्तवमा आजको सिनेमा व्यवसायमा ‘प्रिमियम स्क्रिनिङ’ (उत्कृष्ट गुणस्तरको प्रदर्शन) कति महŒवपूर्ण भएको छ भन्ने कुरालाई नै पुष्टि गर्छ । डिज्नीका अनुसार अमेरिकामा ७५ भन्दा बढी प्रिमियम ब्राण्डका करिब एक हजार पर्दाहरू उसको ‘इन्फिनिटी भिजन’ कार्यक्रममा सहभागी हुन सक्छन् । हाल उत्तर अमेरिकामा आइम्याक्सका ४२६ वटा पर्दाहरू सञ्चालनमा छन् ।
कोभिडकालीन बन्द र हलिउडका हडतालहरूबाट तंग्रिँदै गरेको सिनेमा बजारमा प्रिमियम प्रदर्शनले विशेष भूमिका खेलिरहेको छ । कमस्कोरको तथ्यांकअनुसार, यस वर्ष अहिलेसम्म अमेरिकी बक्स अफिसले २.९ अर्ब डलर संकलन गरिसकेको छ, जुन सन् २०१९ पछिको सोही अवधिको सबैभन्दा बढी कमाइ हो ।
वाल स्ट्रिटका विश्लेषकहरूले यस वर्षको कुल कमाइ ९.५ देखि १० अर्ब डलरको बीचमा रहने अपेक्षा गरेका छन् । यो कोभिड अघिका वर्षहरू (२०१५–२०१९) को औसत ११.४ अर्ब डलरभन्दा अझै कम हो । तर यो व्यवसाय अहिले सही आकारमा आएको छ किनभने सन् २०१९ को तुलनामा अमेरिकामा सिनेमाको पर्दा संख्या १० प्रतिशतले घटेको छ ।
म्याक्वेरीका विश्लेषक च्याड बेनोनका अनुसार अमेरिकी बक्स अफिसका लागि वार्षिक १० अर्ब डलरको लक्ष्य यथार्थपरक छ । ‘यदि वर्षमा १२० वटा फिल्महरू ठूलो स्तरमा प्रदर्शन हुन्छन् भने १० अर्ब डलरको लक्ष्य फेला पार्न सकिन्छ,’ उनले एक अन्तर्वार्तामा भने ।
गत महिनाको पहिलो त्रैमासिक प्रतिवेदनपछि आइम्याक्सको सेयर मूल्यमा केही गिरावट आयो । चीनमा गत वर्षको सुपरहिट फिल्म ‘ने झा २’ को तुलनामा यस वर्षको व्यवसाय कमजोर देखिएकाले कम्पनीको आम्दानी ६ प्रतिशतले घट्यो । आइम्याक्सको सेयर यस वर्ष अहिलेसम्म ४.५ प्रतिशतले ओरालो लागेको छ, जबकि यसको प्रतिस्पर्धी ‘सिनेमार्क’ ले १६ प्रतिशतको वृद्धि हासिल गरेको छ ।
यद्यपि, विश्वव्यापी बक्स अफिसमा आएको सुधारले आइम्याक्सलाई यस वर्ष राम्रो फाइदा पुग्ने देखिन्छ । धेरैभन्दा धेरै दर्शकहरू उत्कृष्ट प्रिमियम अनुभवका लागि बढी पैसा तिर्न तयार छन् र फिल्म निर्माताहरू पनि सोही स्तरको अनुभव दिन लगानी गरिरहेका छन् ।
सन् २०२३ मा युनिभर्सलको ‘ओपनहाइमर’ एउटा अप्रत्याशित सफल फिल्म बन्यो, जसले विश्वभर झण्डै १ अर्ब डलर कमायो र ओस्कार अवार्डहरू पनि हात पा¥यो । निर्देशक क्रिस्टोफर नोलनले यस फिल्मको धेरैजसो भाग आइम्याक्स क्यामराबाट खिचेका थिए । यसले गर्दा मानिसहरू ७० एमएमको प्रोजेक्टर भएका आइम्याक्स हलहरू खोज्दै लामो दूरीसम्म यात्रा गरेर फिल्म हेर्न पुगे । ‘ओपनहाइमर’ को कुल कमाइको पाँचौँ हिस्सा आइम्याक्स हलबाटै आएको थियो, जसले गर्दा त्यस वर्ष आइम्याक्सको आम्दानी २५ प्रतिशतले बढ्यो ।
विश्लेषकहरूले यस वर्ष आइम्याक्सको कमाइ ८ प्रतिशतले बढेर ४४ करोड ३ लाख डलर पुग्ने र नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरेका छन् । यसमा नोलनको नयाँ फिल्म ‘ओडिसी’ को ठूलो भूमिका हुनेछ, जुन युनिभर्सलले जुलाई १७ मा प्रदर्शन गर्दैछ । यो फिल्म पूर्ण रूपमा आइम्याक्स क्यामेराबाट खिचिएको छ । कम्पनीले नोलनका लागि एउटा नयाँ प्रविधि विकास गरिदिएको थियो, जसले गर्दा ती ठूला र आवाज निकाल्ने क्यामराहरू संवादका शान्त दृश्यहरूमा पनि प्रयोग गर्न सम्भव भयो ।
डिसेम्बरमा आउने ‘डूनः पार्ट थ्री’ का निर्देशक पनि आइम्याक्स फम्र्याटलाई निकै रुचाउँछन् । अर्को वर्षको सुरुमा स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सले आफ्नो फिल्म ‘नार्नियाः द म्याजिसियन्स नेफ्यु’ लाई फेब्रुअरीमा पूर्ण रूपमा हलहरूमा प्रदर्शन गर्ने निर्णय गरेको छ, जसमा दुई दिन त आइम्याक्समा मात्र प्रदर्शन गरिनेछ ।
डिज्नीले पनि आइम्याक्सलाई पूर्ण रूपमा छोडेको भने छैन । ‘एभेन्जर्स’बाहेक कम्पनीले गर्मीयामका आफ्ना ठूला फिल्महरू आइम्याक्समै प्रदर्शन गर्दैछ । यसमा ‘टोय स्टोरी ५’, ‘मोआना’ र सात वर्षपछिको पहिलो ‘स्टार वार्स’ फिल्म ‘द म्यान्डलरियन एण्ड ग्रोगु’ समावेश छन् ।
यस हिसाबले हेर्दा, डिज्नीको ‘इन्फिनिटी भिजन’ कार्यक्रम बिदाको समयमा आफ्नो फिल्म प्रदर्शनका लागि उपयुक्त हलहरू सुनिश्चित गर्ने एउटा प्रयास मात्र हो । मार्भलको फिल्म भए पनि यो एक किसिमको जोखिमपूर्ण कदम नै हो । सन् २०२३ मा ‘मिसन इम्पोसिबल’ ले आइम्याक्समा केवल एक हप्ता मात्र समय पाएको थियो किनभने त्यसपछि ‘ओपनहाइमर’ रिलिज भयो । यसले गर्दा उक्त फिल्मले अपेक्षा गरेअनुसार कमाइ गर्न सकेन ।
अर्कोतर्फ, यदि नयाँ ‘एभेन्जर्स’ फिल्मले धेरै दर्शक तान्न सफल भयो भने यसले प्रिमियम स्क्रिनका लागि बढी पैसा तिर्नु उचित हो भन्ने कुरामा दर्शकलाई अझ विश्वस्त तुल्याउनेछ । यसबाट अन्ततः आइम्याक्सलाई नै फाइदा पुग्ने देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन