नेभिगेशन
विश्व

युद्धविरामको घोर उल्लंघनः इरान

दोहा, (बीबीसी) । युद्धविरामकै अवस्थामा अमेरिका र इजरायलले क्रमशः इरान र लेबनानमा आक्रमण चर्काएका छन् । सो आक्रमणलाई भने इरानले आलोचना गरेको छ । उसले अमेरिकी हमलालाई युद्धविरामको ‘घोर उल्लंघन’ भनी निन्दा गरेको छ । पछिल्लो ४८ घण्टाभित्र इरानले आफ्नो देशमा अमेरिकाले गरेको नयाँ हवाई हमलालाई युद्धविरामको ‘घोर उल्लंघन’ गरेको बताएको हो । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले दक्षिणी इरानमा सोमबार इरानी मिसाइल स्थल र खानी राख्ने प्रयास गरिरहेका डुंगाहरूलाई लक्षित गरी ‘आत्मरक्षा हमला’ गरेको जनाएको छ ।
इरानको विदेश मन्त्रालयले हर्मोज क्षेत्रमा अमेरिकाले गरेको ‘आक्रामक र अकारण कार्य’को परिणामको जिम्मेवारी अमेरिकालाई नै रहेको बताएको छ । यो क्षेत्र स्ट्रेट अफ हर्मुजको तटमा पर्छ  । 
यी हमलाले द्वन्द्व अन्त्य गर्नका लागि भइरहेका वार्ताहरूलाई कस्तो प्रभाव पार्ला भन्ने अझै स्पष्ट छैन । ‘इस्लामिक गणतन्त्र इरानले कुनै पनि दुष्कर्मलाई जवाफबिना छोड्ने छैन र इरानी राष्ट्रको रक्षा गर्न कुनै पनि कसर बाँकी राख्ने छैन,’ इरानी विज्ञप्तिमा भनिएको छ ।
उता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने वार्ताबाट सम्झौता अझै सम्भव रहेको तर ‘केही दिन लाग्ने’ बताएका छन् । एक प्रमुख अड्चनका रूपमा तेहरानले विदेशमा जम्मा भएका आफ्ना रोक्का भएका रकमहरू छोडाउने माग गरेको बताइएको छ । वार्ताको मुख्य मध्यस्थता पाकिस्तानले गरिरहेको भए पनि इरानी वार्ताकारहरू यो साता कतारमा पनि सक्रिय रहेका छन् । 
इरानका केन्द्रीय बैंकका गभर्नर सोमबारको वार्तामा रोक्का गरिएका सम्पत्तिबारे छलफल गर्न उपस्थित थिए । छलफल मुख्य रूपमा इरानको उच्च संवर्धित युरेनियम स्टकपाइल र स्ट्रेट अफ हर्मुजमा केन्द्रित थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्