नेभिगेशन
प्रदेश

चन्द्रपुरमा जलवायु मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा कृषि तथा जलवायु मापन केन्द्र स्थापना गरिएको छ । अष्ट्रेलियन एड र आड्रा नेपालको आर्थिक सहयोगमा ग्रामीण विकास केन्द्र नेपाल, रौतहटले स्थापना गरेको उक्त केन्द्र मंगलबार एक कार्यक्रमका बीच चन्द्रपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । संस्थाका अध्यक्ष पारस हुसैनले चन्द्रपुर नगर प्रमुख सञ्जयकुमार काफ्लेलाई केन्द्र हस्तान्तरण गरेका हुन् । 
चन्द्रपुर–९ मा स्थापित हावापानी मापन केन्द्रले हावा, पानी, शीत, वर्षा तथा सूर्यको तापक्रमसम्बन्धी तथ्यांक संकलन गर्ने र संकलित तथ्यांकका आधारमा मौसमको अवस्था विश्लेषण गरी किसानलाई बेलैमा सूचना उपलब्ध गराउन सकिने रियल टाइम सोलुसनका प्राविधिक शंकर बलामीले जानकारी दिए । उनका अनुसार यस केन्द्रले यस क्षेत्रको मौसमसम्बन्धी रियल टाइम डाटा जल तथा मौसम अनुमान विभाग काठमाडौं र कृषि शाखा चन्द्रनिगाहपुरमा अपडेट गर्नेछ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रौतहका सभापति राम अयोध्या राय यादवले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दो चुनौती सामना गर्न वैज्ञानिक प्रविधिको आवश्यकता रहेकाले यसरी मौसमसम्बन्धी सही जानकारीले किसानलाई खेतीपातीको उचित समय निर्धारण गर्न सहज हुने उल्लेख गरे । 
चन्द्रपुर नगर प्रमुख काफ्लेले केन्द्रको सहायताले मौसमको पूर्व–जानकारी पाएपछि किसानले बाली लगाउने समय, सिँचाइ व्यवस्थापन, मल प्रयोग तथा रोग–कीराको जोखिमबारे समयमै तयारी गर्न सक्ने बताए । ‘जलवायु परिवर्तनले खेती प्रणालीमा असर पारिरहेको अवस्थामा यस्तो केन्द्रले किसानलाई सुरक्षित र व्यवस्थित कृषि प्रणालीतर्फ अघि बढाउन मद्दत पु¥याउँछ,’ उनले भने, ‘नगरपालिकाले कृषि क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन निरन्तर पहल गरिरहेको अवस्थामा यो केन्द्रबाट प्राप्त तथ्यांकले स्थानीय तहलाई विपद् व्यवस्थापन तथा कृषि योजना निर्माणमा समेत सहयोग हुनेछ ।’
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजालले प्रविधिको सहयोगबाट मौसमजन्य विपद्को पूर्व जानकारी पाएर त्यसबाट हुने क्षतिको न्यूनीकरण गर्नका लागि सुरक्षा निकायहरूलाई सहयोग पुग्ने बताए । 
जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा कृषकहरूले बढ्दो चुनौती सामना गरिरहनुपरेको छ । मौसमसम्बन्धी आधिकारिक तथा यथार्थ जानकारी समयमै नहुँदा किसानहरूले बाली रोप्ने, भिœयाउने समयमा क्षति बेहोर्नु परिरहेको छ । बाली काटेपछि वर्षा भएर बाली खेतमै कुहिनु, हावाहुरीका कारण बाली नोक्सानी, गोडमेलपश्चात् मल हालिसकेपछि वर्षाले बगाउनु, अतिवृष्टि, अनावृष्टिजस्ता समस्याहरूको सामाना किसानहरूले गरिहेका छन् । मौसमसम्बन्धी सही जानकारीले किसानलाई खेतीपातीको उचित समय निर्धारण गर्न सहज हुने र भइपरि आउने विपद्को पूर्वतयारी हुने विश्वास ग्रामीण विकास केन्द्रका अध्यक्ष पारस हुसैनको छ । 
केन्द्रबाट प्राप्त हुने मौसमसम्बन्धी सूचनाले किसानलाई समयमै सावधानी अपनाउन मद्दत पुग्नुका साथै अत्यधिक वर्षा, खडेरी, शीतलहर वा अत्यधिक तापक्रमको पूर्व–जानकारी पाएपछि किसानले बाली जोगाउन आवश्यक कदम चाल्न सक्ने चन्द्रपुर नगरपालिकाका कृषि शाखा प्रमुख सन्दीप देवकोटाको भनाइ छ । ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रशान्त रिजालका अनुसार मापन केन्द्र स्थापना गर्न १४ लाख हाराहारी लगानी लागेको छ । केन्द्र स्थापना भएपछि कृषिमा वैज्ञानिक अभ्यास बढ्ने, मौसमजन्य विपद्को जोखिम कम हुने तथा नागरिकले समेत दैनिक जीवनमा आवश्यक मौसम जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्