नेभिगेशन
राजनीति

संसद्मा हर्कको हत्ते

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ)को विरोध शैलीलाई लिएर सभामुख डोलप्रसाल अर्यालले पटक–पटक सचेत गराइसकेका छन् । प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार सांस्दहरुले संसद् बैठकमा प्लेकार्ड देखाएर विरोध गर्नु उपयुक्त मानिँदैन । जुन, यसभन्दा अगाडि पनि अभ्यासमा थिएन । 
तर फागुन २१ मा निर्वाचित भएर आएको श्रम संस्कृति पार्टीले संसद्मा  नभएको यही अभ्यास बारम्बार दोहो¥याइरहेको छ । जुन विषयलाई लिएर सभामुख अर्यालले संसदीय मर्यादा ननाघ्न चेतावनी  नै दिएका थिए । तर, सभामुखले दिएको त्यस्तो चेतावनीलाई अनदेखा गर्दै श्रम संस्कृति पार्टीले संसदमा पुृरानै गतिविधि दोहो¥याइरहेको छ । 
प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद  साम्पाङले उस्तै प्रवृत्ति दोहो¥याए । उनले प्रतिनिधिसभा नियमावलीअनुसार रूलिङ गरेर प्रधानमन्त्री वालेन्द्र  शाहलाई संसद्मा ल्याउन आग्रह मात्रै गरेनन्, प्लेकार्ड पनि देखाए । यदि प्रधानमन्त्रीलाई संसद्मा ल्याउन नसक्ने हो भने नियमावलीकै व्यवस्था प्रयोग गरेर आफूलाई संसदबाट निकाल्न उनले सभामुखसमक्ष माग गरे । 
प्रतिनिधिसभा बैठक सुरू भएलगत्तै उनले उठेर पर्चा देखाएपछि सभामुख अर्यालले उनलाई बोल्नका लागि समय दिए । 
सो क्रममा साम्पाङले प्रतिनिधिसभा नियमावली १५ को २ अनुसार प्रधानमन्त्रीलाई संसद् आउन रूलिङ गर्नुपर्ने माग गरे । यदि रूलिङ नगर्ने हो भने नियमावलीकै नियम ३१ को १ लागू गरेर आफूलाई सदनबाट बाहिर निकाल्ने आदेश दिनुपर्ने माग गरे ।  
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘सभामुखले प्रधानमन्त्रीलाई रूलिङ गरेर ल्याउन सक्नुभएको छैन । नियमावलीको १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा जबाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने ३१ को १ लागू गरेर मलाई यो सदनबाट निष्कासन गरेर यो सदनको गरिमा बढाइदिनू  निष्कासनको आदेश दिनुप¥यो ।’ सभामुख अर्यालले प्रधानमन्त्री संसद्मा बोलाउने विषयमा मंगलबारको बैठकमा सदनमा जानकारी गराएको बताए । ‘संविधान, नियमावली र अभ्यास हेर्दा हलबाट सभामुखलाई रूलिङ गर्न निर्देशन दिने अभ्यास छ जस्तो लाग्दैन,’ सभामुख अर्यालले भने, ‘कसलाई कसरी रुलिङ गर्ने भनेर सभामुखलाई निर्देशन गर्ने अभ्यास छैन ।’ सभामुखको उक्त भनाइपछि साम्पाङ सदनबाट बाहिरिएका थिए । 
विपक्षी दलहरुले संसद्मा प्रधानमन्त्रीको खोजी गरेपछि मंगलबार सभामुखले भनेका थिए, ‘हामीले केही दिनदेखि एउटै विषयमा प्रवेश गरिरहेका छौं । प्रधानमन्त्री सदनमा उपस्थित हुनुप¥यो र सार्वभौम संसद्ले उठाउने प्रश्नको जवाफ दिनुप¥यो । आफ्ना कुरा राखिदिनुप¥यो । जनतालाई सम्बोधन गरिदिनुप¥यो । जुन विषय अत्यन्तै जायज छ । संविधानतः छ । नियमावलीसम्मत छ । कानुनसम्मत छ । जनताको माग पनि त्यही हो ।’ तर, सभामुखले प्रधानमन्त्रीलाई संसद्मा आउन विपक्षीको माग अनुसार रुलिङ भने गरेनन् । साम्पाङले ‘नियमावली ३१ को १ लागू गर्न नसक्ने हो भने आफैं सदनबाट निस्केर जाने’ भन्दै बैठक कक्षबाट बाहिर निस्के । ‘सभामुखले मलाई र प्रधानमन्त्रीलाई रूलिङ गर्न नसक्ने हो भने हार्दिक शुभकामना छ, म निस्किएँ है त,’ भन्दै साम्पाङ बाहिरिएका थिए । उसोत उनी नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री नआएदेखि लगातार बैठक बहिष्कार गर्दै आएका छन् । 
गत जेठ ६ गतेको बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० हेर्न साम्पाङलाई ध्यानाकर्षण गराएका थिए । उक्त नियममा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ । त्यसपछि तुरुन्तै सदस्यले आफ्नो व्यवहार सच्याउनुपर्छ । चेतावनीलाई अवज्ञा गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम ३१ मा गरिएको छ । 
साम्पाङको पार्टी श्रम संस्कृति फागुन २१ को चुनावपछि पहिलो पटक संसद् प्रवेश गरेको पार्टी हो । चुनावकै सेरोफेरोमा जन्मिएको उज्यालो नेपाल पार्टीका सचिव केदार खड्का साम्पाङको संसद्भित्रको गतिविधि अशोभनीय देखिएको बताउँछन् । सत्तारुढल दल रास्वपाका सांसदहरुले पनि साम्पाङको विरोध शैलीलाई लिएर संसदमै असन्तुष्टि व्यक्त गरेका छन् । 
बजेट संसद्को अहिलेकै हलबाट आउने 
प्रतिनिधि सभाको निर्माणाधीन नयाँ हलबाट बजेट ल्याउने सरकारको चाहना असफल हुने भएको छ । नयाँ सभा हलको तयारी पूरा नभएको उल्लेख गर्दै संघीय संसद सचिवालयले नयाँ हलमा बजेट प्रस्तुत गर्न नसकिने जनाएको हो । यसअघि नयाँ हलबाट जेठ १५ गते २०८३ ÷८४ को बजेट ल्याउने सरकारको तयारी थियो ।
यसअघि सहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण विभागले बजेट प्रस्तुत गर्ने गरी नयाँ हल तयार पार्ने दाबी समेत गरेको थियो । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नयाँ हलबाट बजेट ल्याउन तयारी नपुग्ने बताएका छन् । फर्निचर र फिनिसिङको काम सकिने चरणमा रहेको तर, अडिओ÷भिडिओ, मास्टर कन्ट्रोल रूम लगायतका प्राविधिक कारणले नयाँ बैठक कक्षबाट बैठक सञ्चालन गर्नेमा सुनिश्चित हुन नसकिएको उनको भनाइ छ । निर्माणाधीन प्रतिनिधि सभाको हलमा सिट राखिसकिएको छ । तर, अझै पनि माइक सिस्टम भने जडान भएको छैन । हलमा डिस्प्ले स्क्रिनहरू राख्न बाँकी छ । 
प्रतिनिधि सभाको नयाँ हल फिल्म हल जस्तो भएको भन्दै बुधबार प्रतिनिधिसभामा विपक्षी दल एमालेका सांसद ऐन महरले प्रश्न उठाएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्ले र सभामुख अर्यालले केही दिन अघि निर्माणाधीन संसद् भवन निरिक्षणमा पुगेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्