नेभिगेशन
उपत्यका

‘गोला प्रक्रिया परिवर्तन हुन्न’

काठमाडौं । सर्वोच्च अदालतले मुद्दाको पेसी व्यवस्थापनका लागि लागू गरिएको ‘गोला प्रक्रिया’ लाई परिवर्तन गर्ने वा त्यसको विकल्प खोज्ने सम्बन्धमा कुनै पनि औपचारिक छलफल वा सोच नरहेको स्पष्ट पारेको छ । डा.मनोज शर्मा प्रधानन्यायाधीश भएलगत्तै सर्वोच्चमा कायम गोला प्रथा प्रणाली हटाउने चर्चाका बीच अदालतले त्यस्तो तयारी नभएको प्रष्ट पारेको हो । 
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा दैनिक पेसी व्यवस्थापनको लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने छलफल नै नभएको उल्लेख छ । प्रक्रियालाई परिवर्तन गर्ने सम्बन्धमा आधिकारिक रूपमा कुनै धारणा नरहेको पनि उनले प्रष्ट पारेका छन् । ‘अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, ०७८’ जारी भई सोही बमोजिम नै मुद्दाहरूको पेशी व्यवस्थापन हुँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ । सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका गोला प्रक्रिया परिवर्तन सम्बन्धी समाचार तथा व्यक्त विचारहरू तथ्यमा आधारित नभएको भन्दै सर्वोच्चले त्यस्ता भ्रममा नपर्न सम्बन्धित सबैका लागि यो सूचना जारी गरेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्