नेभिगेशन
मनोरञ्जन

नेटफ्लिक्सविरुद्ध मुद्दा

अमेरिकाको टेक्सास राज्यमा भिडियो स्ट्रिमिङ सेवा कम्पनी नेटफ्लिक्सविरुद्ध मुद्दा दायर गरिएको छ ।
मुद्दामा नेटफ्लिक्सले बालबालिका र वयस्क प्रयोगकर्ताहरूको सहमतिबिना उनीहरूको डेटा संकलन गरेको तथा प्रयोगकर्तालाई प्लेटफर्ममा लामो समयसम्म बाँधेर राख्न ‘लत लाग्ने’ प्रकारका डिजाइन प्रयोग गरेको आरोप लगाइएको छ ।
टेक्सासका अटर्नी जनरल केन प्याक्सटनले नेटफ्लिक्समाथि नागरिकहरूको ‘जासुसी’ गरेको आरोप लगाएका छन् । उनका अनुसार कम्पनीले प्रयोगकर्ताहरूको व्यवहारसम्बन्धी ‘अर्बौं’ जानकारी रेकर्ड गरी त्यसबाट नाफा कमाएको छ, जबकि कम्पनीले सार्वजनिक रूपमा त्यसको विपरीत दाबी गर्दै आएको थियो ।
अटर्नी जनरलको कार्यालयले भनेको छ, ‘प्लेटफर्ममा हुने प्रत्येक गतिविधि प्रयोगकर्ताबारे जानकारी दिने एउटा डेटा बिन्दु बनेको छ ।’
नेटफ्लिक्सले भने यी आरोपलाई अस्वीकार गरेको छ र अदालतमा यसको प्रतिवाद गर्ने जनाएको छ ।
बीबीसीसँग कुरा गर्दै नेटफ्लिक्सका प्रवक्ताले भने, ‘टेक्सास राज्य र अटर्नी जनरल प्याक्सटनप्रति सम्मान व्यक्त गर्दै हामी भन्न चाहन्छौं कि यो मुद्दा आधारहीन छ । यो गलत र विकृत जानकारीमा आधारित छ ।’
उनले थपे, ‘नेटफ्लिक्स आफ्ना सदस्यहरूको गोपनीयतालाई गम्भीरतापूर्वक लिन्छ र जहाँ–जहाँ कम्पनी सञ्चालनमा छ, त्यहाँका गोपनीयता तथा डेटा संरक्षणसम्बन्धी कानूनको पालना गर्छ ।’
सोमबार दायर गरिएको उजुरीमा भनिएको छ, ‘जब तपाईं नेटफ्लिक्स हेर्नुहुन्छ, तब नेटफ्लिक्सले तपाईंलाई हेर्दै हुन्छ ।’
उजुरीमा कम्पनीले प्रयोगकर्ताको डेटा प्रशोधन गर्ने र विज्ञापन देखाउने तरिकामा आफूलाई अन्य ठूला प्रविधि कम्पनीभन्दा फरक देखाएको उल्लेख गरिएको छ ।
यसमा नेटफ्लिक्सका पूर्व प्रमुख रिड हेस्टिङ्सले सन् २०१९ र २०२० मा दिएका अभिव्यक्तिको उल्लेख गरिएको छ, जहाँ उनले कम्पनीले प्रयोगकर्ताको डेटा संकलन नगर्ने र त्यसबाट नाफा नकमाउने दाबी गरेका थिए ।
तर उजुरीअनुसार नेटफ्लिक्सले प्रयोगकर्तालाई प्लेटफर्ममा टिकाइराख्न ‘लत लगाउने’ डिजाइन प्रयोग गरेको थियो । उदाहरणका लागि, स्वतः चल्ने (अटो–प्ले) सामग्री र प्रयोगकर्ताको गतिविधिको व्यापक निगरानी ।
उजुरीमा भनिएको छ कि कम्पनीले प्रयोगकर्ताले कहाँ क्लिक गरे, कुन सामग्रीमा रोकिए र कति समय बिताए भन्ने लगायत अर्बौं प्राविधिक गतिविधि रेकर्ड गरेको थियो ।
त्यसैगरी, सन् २०२२ देखि कम्पनीले बालबालिका र परिवारबाट ‘चुपचाप’ संकलन गरिएको ठूलो मात्राको डेटा व्यावसायिक डेटा ब्रोकरहरूसँग साझेदारी गर्न थालेको आरोप पनि लगाइएको छ, जसबाट अर्बौं डलर कमाइ गरिएको दाबी गरिएको छ ।
मुद्दामा भनिएको छ, ‘नेटफ्लिक्सले आफ्ना कार्यक्रमको सदस्यतालाई ‘बिग टेक’ निगरानीबाट बच्ने माध्यमका रूपमा बेचेको थियो । कम्पनीले भन्यो— मासिक शुल्क तिर्नुहोस् र ट्र्याकिङबाट बच्नुहोस् ।’
‘टेक्सासका मानिसहरूले त्यो सम्झौतामा विश्वास गरे । तर नेटफ्लिक्सले त्यही सम्झौता तोड्यो र त्यही डेटा संकलन प्रणाली निर्माण ग¥यो, जसबाट बच्न प्रयोगकर्ताले सदस्यता शुल्क तिरेका थिए ।’
डिजाइनमाथि पनि अनुसन्धान
अटर्नी जनरल प्याक्सटनको कार्यालयका अनुसार नेटफ्लिक्सले टेक्सासको कानुन उल्लंघन गरेको हुन सक्छ ।
विशेष गरी ‘टेक्सास डिसेप्टिभ ट्रेड प्राक्टिसेज एक्ट’अन्तर्गत व्यापारमा झुटा, भ्रामक वा भ्रम सिर्जना गर्ने अभ्यास गर्न नपाइने व्यवस्था छ ।
यस्तो अवस्थामा दोषी पाइएमा दण्डात्मक कारबाही गर्न सकिने प्रावधान छ ।
यस मुद्दामा अटर्नी जनरलले अदालतसँग नेटफ्लिक्सलाई ‘भ्रामक तरिकाले टेक्सासका नागरिकबाट संकलन गरिएको डेटा’ मेटाउन आदेश दिन माग गरेका छन् । साथै लक्षित विज्ञापनका लागि डेटा प्रयोग रोक्न र बालबालिकाको प्रोफाइलमा अटो–प्ले सुविधा स्वतः बन्द गर्न पनि माग गरिएको छ ।
यो मुद्दा त्यस्तो समयमा आएको हो, जब अटो–प्ले र ‘इनफिनिट स्क्रोल’जस्ता सुविधामाथि विश्वभर प्रश्न उठिरहेको छ ।
आलोचकहरूका अनुसार यस्ता डिजाइनहरूले प्रयोगकर्तालाई लगातार सामग्रीमा अल्झाइराख्ने र डिजिटल लत बढाउने काम गर्छन् ।
विशेषज्ञहरूले हालै क्यालिफोर्नियामा मेटा र युट्युबविरुद्ध दायर गरिएको यस्तै प्रकृतिको मुद्दाले पनि भविष्यमा यस्ता थप उजुरीका लागि बाटो खोल्न सक्ने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन