नेभिगेशन
राजनीति

राजदूतका लागि आवेदन आह्वान

काठमाडौं । सरकारले कूटनीतिक इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धाका माध्यमबाट राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट राजदूत पदका लागि खुला दरखास्त आह्वान गरेको हो । नेपालमा यसरी राजदूतका लागि खुला आवेदन आह्वान भएको यो नयाँ अभ्यास हो ।
मन्त्रिपरिषद्बाट स्वीकृत ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ (संशोधन २०७८ र २०७९) बमोजिम मन्त्रालयले यो नयाँ र पारदर्शी प्रक्रियाको सुरुवात गरेको जनाएको छ । इच्छुक उम्मेदवारहरूले जेठ २२ गतेभित्र मन्त्रालयले तोकेको ढाँचामा आवेदन दिइसक्नुपर्नेछ ।
विशिष्ट श्रेणी सरहको यो पदका लागि प्राप्त दरखास्तहरूलाई सुरुमा परराष्ट्र मन्त्रालयले प्रारम्भिक छनोट÷सर्टलिस्ट गर्नेछ । यसरी सर्टलिस्टमा परेका नामहरू मन्त्रिपरिषद्मा पठाइनेछ र मन्त्रिपरिषद्ले योग्यताका आधारमा राजदूतको नाम सिफारिस गर्नेछ । मन्त्रिपरिषद्बाट सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि र सम्बन्धित देशबाट सहमति (एग्रिमो) आएपछि मात्र राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने कानुनी व्यवस्था छ । नियुक्ति पाएका राजदूतहरूले परराष्ट्र मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरेर मात्र कार्यक्षेत्रमा जानुपर्नेछ ।
निर्देशिकाको दफा ३ (छ) अनुसार राजदूतका लागि कम्तीमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने र नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त नभएको र भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको हुनुपर्ने छ । त्यस्तै, कुनै पनि विदेशी राष्ट्रको स्थायी वा अस्थायी आवासीय अनुमतिपत्र (पीआर वा ग्रीनकार्ड) नलिएको हुनुपर्ने छ । नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा अनुभव भएको र अंग्रेजी भाषाको राम्रो ज्ञान भएको हुनुपर्ने छ । 
यसअघि विदेशी राष्ट्रको तलब खाने पदमा नियुक्त भएको भए उक्त पद छाडेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने छ । प्रस्तावित मुलुकमा कुनै प्रकारको स्वार्थ नबाझिएको र अन्तर्राष्ट्रिय वा विदेशी सहायताबाट सञ्चालित गैरसरकारी संस्थामा हाल कार्यरत नरहेको हुनुपर्ने सूचनामा उल्लेख छ । 
अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र वा जनप्रशासनमा स्नातकोत्तर गरेको, कूटनीतिक वा उच्च सरकारी तथा कर्पोरेट तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेको र प्रस्तावित देशको भाषासमेत जानेका उम्मेदवारहरूलाई छनोटमा प्राथमिकता दिइनेछ ।
आवेदन कसरी दिने?
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले परराष्ट्र मन्त्रालयको वेबसाइटमा उपलब्ध वा मन्त्रालयमै पाइने तोकिएको फाराम भरी आफ्नो विस्तृत व्यक्तिगत विवरणसहित परराष्ट्र मन्त्रीको सचिवालयमा बुझाउन सक्नेछन् । साथै, मन्त्रालयले अनलाइनमार्फत पनि आवेदन पेस गर्न सकिने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्