नेभिगेशन
सूचना प्रविधि

जागिरको अन्तर्वार्ता अब हुन सक्छ रोबोटसँग

नयाँ जागिरका लागि आवेदन दिनुभएको छ ? यदि तपाईं छनोटको प्रारम्भिक चरण पार गर्न सफल हुनुभयो भने, अबको अन्तर्वार्ता कुनै मान्छेसँग होइन, एआईसँग हुन सक्छ । पछिल्ला वर्षहरूमा रोजगार बजारमा एआईको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ । विकसित मुलुकहरुमा अहिले भर्ती प्रक्रियामा पनि यसको प्रभाव स्पष्ट देखिन थालेको छ ।
अनलाइन ‘इजी एप्लाइ’ प्लेटफर्ममार्फत एआईले तयार पारेका हजारौं आवेदन आउन थालेपछि कम्पनीहरू स्वयं पनि एआईकै सहारामा पुगेका छन् । धेरै संस्थाले उम्मेदवारको प्रारम्भिक छनोटका लागि च्याटबोट, भर्चुअल अवतार वा भिडियोमार्फत सञ्चालन हुने एआई अन्तर्वार्ता प्रयोग गर्न थालेका छन् । फोन, टेक्स्ट वा स्क्रिनमा देखिने डिजिटल पात्रमार्फत प्रश्न सोध्ने यस्तो प्रणाली धेरैका लागि अझै असहज अनुभव बनेको छ ।
विशेषज्ञहरूका अनुसार एआई अन्तर्वार्तामा सफल हुन परम्परागत तयारी अझै पनि उत्तिकै महŒवपूर्ण छ । रोजगार परामर्शदाता अमान्डा अगस्टिन भन्छिन्, ‘जुनसुकै माध्यम भए पनि कम्पनीको अध्ययन गर्नु, कामको विवरण बुझ्नु र आफ्नो अनुभव त्यसअनुसार प्रस्तुत गर्नु आवश्यक हुन्छ ।’
तर एआईसँगको अन्तर्वार्ता सामान्य मानव संवादभन्दा फरक हुन्छ । त्यहाँ हाँसो, औपचारिक कुराकानी वा सम्बन्ध निर्माण गर्ने अवसर हुँदैन । प्रश्न सिधा आउँछ र उत्तर पनि स्पष्ट, व्यवस्थित तथा तथ्यसहित अपेक्षा गरिन्छ । त्यसैले अभ्यासलाई विशेष महŒव दिइएको छ । रोजगार प्लेटफर्म ‘इन्डिड’की सम्पादक प्रिया राठोडका अनुसार उत्तर मनमनै सोचेर मात्र पुग्दैन, ठूलो स्वरमा बोल्ने अभ्यास गर्नुपर्छ, किनकि एआईले तपाईंको शब्द र अभिव्यक्ति दुवै विश्लेषण गर्छ ।
एआई अन्तर्वार्तामा विशेषगरी ‘बिहेभियरल प्रश्न’ बढी सोधिन्छ । अर्थात्, तपाईंले विगतमा कुनै चुनौती कसरी समाधान गर्नुभयो भन्ने उदाहरण मागिन्छ । यस्ता उत्तर दिँदा ‘स्टार’ विधि प्रभावकारी मानिन्छ, स्थिति, जिम्मेवारी, कदम र परिणाम । साथै, सम्भव भएसम्म तथ्यांक र उपलब्धि उल्लेख गर्न सुझाव दिइन्छ । उदाहरणका लागि, ‘मैले काम छिटो गरेँ’ भन्नुभन्दा ‘एआई उपकरण प्रयोग गरेर ३० प्रतिशत समय बचाएँ’ भन्नु प्रभावकारी हुन्छ ।
भौतिक तयारी पनि उत्तिकै महŒवपूर्ण मानिन्छ । क्यामेरा आँखाको सतहमा राख्ने, पर्याप्त उज्यालो मिलाउने र अडियो परीक्षण गर्ने जस्ता सामान्य कुराले पनि व्यावसायिक प्रभाव पार्न सक्छ ।
यद्यपि, एआई अन्तर्वार्तामा अर्को ठूलो प्रलोभन भनेको उत्तर दिन एआईकै सहायता लिनु हो । तर विशेषज्ञहरू यसलाई जोखिमपूर्ण मान्छन् । एआईमार्फत तयार गरिएको बनावटी उत्तर सजिलै पत्ता लाग्न सक्ने भएकाले उम्मेदवार तुरुन्त अयोग्य घोषित हुन सक्छ । केही भर्ती प्रणालीले त जानाजानी जटिल शैलीमा प्रश्न सोधेर उम्मेदवारले बाह्य एआई प्रयोग गरेको हो कि होइन भन्ने जाँचसमेत गर्ने गरेका छन् ।
प्रविधिको तीव्र विकाससँगै रोजगारीको संसार बदलिँदै छ । अब जागिर पाउन केवल योग्य हुनु पर्याप्त नहुन सक्छ, प्रविधिसँग सहज हुन सक्ने क्षमता पनि उत्तिकै आवश्यक बन्दै गएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्