काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको त्रिशूली नदीमा निर्माणाधीन २१६ मेगावाट माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले बाँध क्षेत्रमा ‘वियर गेट’ जडान गरी परीक्षण गरेको छ । आयोजनाको बाँध क्षेत्रमा जडान गरिने तीनवटा वियर गेटमध्ये एउटाको जडान तथा परीक्षण गरिएको हो ।
बाँध क्षेत्रमा जडान गरिएको वियर गेटको परीक्षण सफल भएको आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो महत्त्वपूर्ण प्रविधिक उपलब्धि हो ।
आयोजना स्थल रसुवाको हाकु क्षेत्रमा औपचारिक कार्यक्रम आयोजना गरी वियर गेटको परीक्षण सञ्चालन गरिएको हो । कार्यक्रममा रसुवाका संघीय सांसद मोहन आचार्य, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव सागरराज गौतम, नेपालका लागि कोरियाली राजदूत पार्क ताएयोङ, कोरियन साउथ–इस्ट पावर कम्पनी (कोएन) का कार्यकारी उपसभापति योङ कि ली, विद्युत विकास विभागकी महानिर्देशक मनदेवी श्रेष्ठ तथा आयोजनासँग सम्बन्धित उच्च अधिकारीहरूको उपस्थिति थियो ।
आयोजनाका अनुसार वियर गेट बाँधको अत्यन्त महत्त्वपूर्ण हाइड्रो–मेकानिकल संरचना हो । यसले नदीको पानीको बहावलाई नियन्त्रण गरी विद्युत उत्पादनका लागि सुरुङतर्फ मोड्ने, बाँधमा आवश्यक पानीको सतह कायम राख्ने तथा अतिरिक्त पानीलाई सुरक्षित रूपमा नदीमा निकास गर्ने काम गर्छ । आयोजनाले निर्धारित प्राविधिक मापदण्डअनुसार गेट जडान र परीक्षण सफल भएको उल्लेख गर्दै यसले निर्माण कार्यलाई थप गति दिने विश्वास व्यक्त गरेको छ ।
आयोजनाले गेट जडान कार्य आयोजना व्यवस्थापन टोली, प्राविधिक विशेषज्ञ, निर्माण व्यवसायी तथा सरोकारवालाबीचको समन्वय र निरन्तर प्रयासबाट सम्पन्न भएको जनाएको छ । निर्माणका क्रममा गुणस्तर, सुरक्षा र वातावरणीय मापदण्डलाई विशेष प्राथमिकतामा राखिएको पनि उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै रसुवाका संघीय सांसद मोहन आचार्यले प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको यो आयोजना रसुवासहित समग्र देशकै लागि महत्वपूर्ण रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न आफ्नोतर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । साथै, आयोजनाले समुदाय सहयोग कार्यक्रम, संस्थागत सामाजिक उत्तरदायित्व तथा आदिवासी समुदाय योजनाअन्तर्गत स्थानीय क्षेत्रमा सञ्चालन गरेका विभिन्न कार्यक्रमको प्रशंसा गरे । उनले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको जीवनस्तर उकास्ने गरी यस्ता कार्यक्रम अझ प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने सुझाव दिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव सागरराज गौतमले वियर गेट जडान सफल हुनु आयोजनाको महत्त्वपूर्ण प्राविधिक उपलब्धि भएको बताए । उनले आयोजना निर्धारित समयमै सम्पन्न गर्न मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण र समन्वय निरन्तर गरिने उल्लेख गरे ।
कोरियन साउथ–इस्ट पावर कम्पनी (कोएन) का कार्यकारी उपसभापति योङ कि लीले आयोजनालाई निर्धारित लागत र समयभित्र सम्पन्न गर्न कम्पनी गम्भीर रहेको बताए । उनले पछिल्लो समय कोरियाले नवीकरणीय ऊर्जामा लगानी विस्तार गरिरहेको उल्लेख गर्दै नेपालमा रहेको विशाल हरित ऊर्जाको सम्भावनाले कोरियाली कम्पनीहरूलाई आकर्षित गरेको बताए । नेपालका जलविद्युत आयोजनामा आगामी दिनमा थप लगानी विस्तार गर्ने तयारीसमेत रहेको उनको भनाइ छ ।
नेपालका लागि कोरियाली राजदूत पार्क ताएयोङले कोरियाली सरकारको स्वामित्व रहेको कम्पनीको अगुवाइमा निर्माण भइरहेको आयोजना नेपाल–कोरिया ऊर्जा सहकार्यको उदाहरण बनेको बताए । आयोजना सम्पन्न भएपछि दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गर्दै उनले आयोजनाले नेपालको ऊर्जा सुरक्षा, विद्युत उत्पादन वृद्धि र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने बताए ।
आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत सोनुङ किमले वियर गेट जडान तथा परीक्षण सम्पन्न हुनु आयोजनाको एक महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले आयोजनालाई निर्धारित समयभित्र सम्पन्न गर्न कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे ।
कोरियन कम्पनीहरूको अगुवाइमा निर्माण भइरहेको यस आयोजनाको बाँध तथा सम्बन्धित संरचना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकु क्षेत्रमा निर्माण भइरहेको छ भने भूमिगत विद्युतगृह उत्तरगया गाउँपालिका–१ मा निर्माणाधीन छ । आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना मानिन्छ ।
आयोजनाको मुख्य निर्माण कार्य २०७८ साल पुस महिनादेखि सुरु गरिएको थियो । अहिलेसम्म आयोजनाको सिभिल संरचना निर्माण कार्य ८२ प्रतिशत पूरा भइसकेको छ । आयोजनाअन्तर्गत ९.५ किलोमिटर लामो मुख्य सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको छ । अहिले सुरुङमा कंक्रिट लाइनिङको काम भइरहेको छ । त्यस्तै, जटिल मानिएको २९२ मिटर लामो ठाडो सुरुङ निर्माण पनि सफलतापूर्वक सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
विद्युतगृहको सिभिल संरचना निर्माण सम्पन्न गरी टर्बाइन, जेनेरेटरलगायत इलेक्ट्रो–मेकानिकल उपकरण जडान कार्य अहिले तीव्र रूपमा अघि बढाइएको छ । आगामी पुस (सन् २०२६ डिसेम्बर) सम्ममा विद्युतगृहमा उपकरण जडान कार्य सम्पन्न गर्ने लक्ष्य छ । सन् २०२४ र २०२५ मा त्रिशूली नदीमा आएको बाढीका कारण केही समय निर्माण कार्य प्रभावित भएको थियो । त्यसका बावजूद आयोजनाले सन् २०२७ को मध्यसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई तीव्र बनाइएको जनाएको छ ।
इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडलमा डुसान एनरबिलिटी कम्पनीले आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट वार्षिक १ अर्ब ५३ करोड ३१ लाख युनिट विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ । उत्पादित विद्युतमध्ये जडित क्षमताको ३८.७५ प्रतिशत हिउँदयाममा तथा ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । काठमाडौं लोड सेन्टर नजिक रहेको तथा हिउँदयाममा समेत १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा उत्पादन हुने भएकाले माथिल्लो त्रिशूली–१ आयोजना नेपालको विद्युत प्रणालीका लागि अत्यन्त महत्त्वपूर्ण आयोजनाको रूपमा हेरिएको छ । यो आयोजनाले सुख्खा याममा पनि राम्रो उत्पादन दिने हुँदा देशको विद्युत आपूर्ति व्यवस्थापनमा योगदान पुग्नेछ ।
आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३बी हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । यसका लागि कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । आयोजनाले स्थानीय समुदायसँग सहकार्य गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति संरक्षण, राहत वितरण, जीविकोपार्जन तथा आयआर्जन अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
यस्ता कार्यक्रमका लागि हालसम्म २३ करोड ६० लाख रुपैयाँभन्दा बढी खर्च गरिएको र आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ । त्यसैगरी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गर्ने कार्यक्रमसमेत सञ्चालन भइरहेका छन् । नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि कोएन, कोरिया ओभरसिज इन्फ्रास्ट्रक्चर एण्ड अर्बन डेभलपमेन्ट, विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा नेपाली साझेदारहरूको संस्थागत लगानीमा स्थापना गरिएको कम्पनी हो ।