काठमाडौं, २५ भदौ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले देशको राजनीतिक परिस्थिति असामान्य मोडमा पुगेको भन्दै युवापुस्तालाई संयमता अपनाउन अपिल गरेका छन् ।
उनले एक सार्वजनिक सन्देश जारी गर्दै भनेका छन्, “प्रिय जेनजी तथा सम्पूर्ण नेपालीहरू, अहिले देश इतिहासमै नभएको फरक परिस्थितिमा छ । तपाईंहरूले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ । यस घडीमा नआत्तिनुहोस्, धैर्य राख्नुहोस् ।”
साहले अन्तरिम वा चुनावी सरकारको मुख्य काम नयाँ निर्वाचनमार्फत जनादेश लिनु भएको प्रस्ट पार्दै उक्त नेतृत्वका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई आफ्नो समर्थन रहेको बताए ।
उनको भनाइमा, “जेनजीको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु । यसबाट जेनजी पुस्ता कति परिपक्व छ भन्ने कुरा प्रस्ट हुन्छ ।”
साथै साहले तत्काल नेतृत्वमा आउन हतार गर्नेहरूलाई निर्वाचन प्रक्रियामार्फत स्थायी योगदान दिन सुझाव दिएका छन् । “तपाईंहरूको जोश र इमानदारी देशलाई दीर्घकालीन रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन,” उनले भने ।
अन्त्यमा साहले राष्ट्रपतिलाई सम्बोधन गर्दै “जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकार गठन र संसद विघटन तत्काल गर्नुपर्छ” भन्दै आग्रह गरेका छन् ।