काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३-८४ का लागि देशभर घरजग्गाको न्यूनतम सरकारी मूल्यांकन संशोधन गरेको छ । कतिपय क्षेत्रमा मूल्य बढाइएको छ, केही क्षेत्रमा घटाइएको छ भने धेरै स्थानमा पुरानै दर कायम गरिएको छ । तर मूल्य संशोधनपछि पनि सरकारी मूल्यांकन र वास्तविक बजार मूल्यबीच ठूलो अन्तर कायम रहेकाले घरजग्गा क्षेत्रमा ग्रे कारोबार, राजस्व चुहावट र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को जोखिम यथावत् रहेको देखिएको छ ।
काठमाडौंमा यस वर्ष सबैभन्दा उल्लेखनीय परिवर्तन बल्खु–वनस्थली रिङरोड भएको छ । अघिल्लो वर्ष प्रतिआना ४७ लाख रुपैयाँ रहेको सरकारी मूल्यांकन यस वर्ष ४३ लाख ५० हजार रुपैयाँमा झारिएको छ । विष्णुमती–रविभवन, कालिमाटी–बल्खु, सोल्टीमोड–कलंकीलगायतका क्षेत्रमा मूल्य १ देखि २ लाख रुपैयाँसम्म बढाइएको छ । केही क्षेत्रमा ५० हजार रुपैयाँ वृद्धि गरिएको छ भने कीर्तिपुर र दक्षिणकालीका मुख्य सडकको मूल्य भने यथावत् राखिएको छ ।
भक्तपुरमा भने मुख्य राजमार्ग र प्रमुख सडकसँग जोडिएका जग्गाको सरकारी मूल्य प्रतिआना २२ लाखदेखि ३५ लाख रुपैयाँसम्म तोकिएको छ । अरनिको राजमार्गसँग जोडिएको जग्गाको मूल्य प्रतिआना ३५ लाख, सल्लाघारी–दुधपाटी सडक तथा नगरकोट सडकका विभिन्न खण्डमा प्रतिआना २२ लाख रुपैयाँ कायम गरिएको छ । अन्य पक्की मोटरबाटो, प्लानिङ क्षेत्र, सहायक सडक तथा गल्लीअनुसार छुट्टाछुट्टै दर निर्धारण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने न्यूनतम मूल्य निर्धारण समितिले जग्गाको भौतिक अवस्थिति, सडकको पहुँच, सहरीकरणको विस्तार र अघिल्लो वर्षको कारोबारलाई आधार मानी नयाँ दररेट तय गरेको हो । यसपटक काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरूमा जग्गाको मूल्यले नयाँ उचाइ छोएको छ भने तराईका औद्योगिक सहरहरूमा पनि उल्लेख्य वृद्धि गरिएको छ ।
काठमाडौं उपत्यकाको मुटुमा जग्गाको आकाशिँदो मूल्य
भूमि प्रशासन कार्यालय डिल्लीबजारले सार्वजनिक गरेको नयाँ विवरण अनुसार काठमाडौंको मुख्य व्यापारिक केन्द्रहरूको जग्गा मूल्य देशभरमै सबैभन्दा महँगो कायम गरिएको छ ।
न्यूरोड, दरबारमार्ग, कान्तिपथ, जमल, इन्द्रचोक र रत्नपार्क क्षेत्रका मूल सडकमा जोडिएका जग्गाको न्यूनतम मूल्यांकन प्रति आना ७६ लाख २० हजार रुपैयाँ पु¥याइएको छ । अघिल्लो आर्थिक वर्ष २०८२÷८३ मा यो मूल्य प्रति आना ७२ लाख ६० हजार रुपैयाँ रहेको थियो । यस्तै सिंहदरबार पश्चिम गेट, माइतीघर, पुतलीसडक, हात्तिसार, रानीपोखरी र वीर अस्पताल क्षेत्रको मूल बाटोमा पर्ने जग्गाको मूल्य पनि सोही दरमा कायम गरिएको छ ।
भूमि प्रशासन कार्यालय चावहिलअन्तर्गतका क्षेत्रहरूमा यस वर्ष सर्वाधिक मूल्य वृद्धि देखिएको छ । विशेषगरी गौशालादेखि धोबीखोलासम्मको चक्रपथ खण्डमा जग्गाको मूल्य प्रति आना ५ लाख ७० हजारले बढेर ६२ लाख ७० हजार रुपैयाँ पुगेको छ । मित्रपार्कदेखि कालोपुल हुँदै डिल्लीबजार मालपोतको सिमानासम्मका जग्गाको मूल्य प्रति आना ५५ लाख ६६ हजार रुपैयाँ कायम गरिएको छ । बौद्ध स्तूपा परिसरसँग जोडिएका जग्गाहरूको मूल्य पनि बढेर प्रति आना ४८ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।
कोटेश्वरदेखि थापाथलीसम्मको मूल सडकमा जोडिएका जग्गाको मूल्य प्रति आना ४५ लाख ७३ हजार रुपैयाँ तोकिएको छ । नयाँ बानेश्वर चोकदेखि कान्तिपुर डेन्टल अस्पतालसम्मको बाटोमा पर्ने जग्गाको मूल्य पनि सोही दरमा कायम छ ।
बल्खु देखि वनस्थली सम्मको मुख्य चक्रपथसँग जोडिएका जग्गाहरूको न्यूनतम मूल्यांकन प्रति आना ४९ लाख ३५ हजार रुपैयाँ कायम गरिएको छ । कलंकी, कालिमाटी, सोल्टीमोड र सीतापाइलाका भित्री पक्की तथा कच्ची सडकमा जोडिएका जग्गामा भने ५० हजार देखि २ लाख रुपैयाँसम्म वृद्धि गरिएको छ ।
टोखा क्षेत्रमा नारायणस्थान जाने पिच सडकसँग जोडिएका जग्गाको मूल्य प्रति वर्गमिटर ७० हजार रुपैयाँ अर्थात् प्रति आना २२ लाख २५ हजार ३ सय रुपैयाँ पु¥याइएको छ । मनमैजु क्षेत्रमा नयाँ पुल देखि नेपालटार सडक किनाराका जग्गाको मूल्य प्रति आना २२ लाख रुपैयाँ तोकिएको छ, जुन अघिल्लो वर्ष २० लाख मात्र थियो ।
अरनिको राजमार्गसँग जोडिएका जग्गाको मूल्य प्रति आना २८ लाख ७५ हजार रुपैयाँ कायम गरिएको छ । भक्तपुर–काठमाडौं जाने सडकखण्डमा जोडिएका जग्गाको मूल्य प्रति आना १६ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।
प्लानिङ भित्रका ७ मिटर भन्दा माथिका पक्की सडकले छोएका जग्गाको मूल्य १३ लाख ४० हजार र सो भन्दा साना बाटोमा ९ लाख २० हजार रुपैयाँ सम्म तोकिएको छ ।
गाँउ जाने कच्ची सडकमा जोडिएका जग्गाको मूल्य ६ लाख ६० हजार रुपैयाँ सम्म छ ।
गोरेटो बाटोले छोएको जग्गाको प्रति आना ३ लाख १० हजार र बाटो नभएको खेतीयोग्य जग्गाको मूल्य २ लाख रुपैयाँ कायम गरिएको छ ।
विराटनगरमा प्रति कठ्ठा १ करोड ५० लाख रुपैयाँसम्म
मोरङको विराटनगर महानगरपालिकामा जग्गाको मूल्यांकन कठ्ठा र वर्गमिटरका आधारमा गरिएको छ ।
विराटनगर वडा नं. १, २, ३ र ४ का ‘क’ वर्गका मुख्य पिच सडकमा जोडिएका जग्गाको दररेट प्रति कठ्ठा १ करोड ५० लाख रुपैयाँसम्म पुगेको छ । ‘ख’ वर्गका मुख्य सडकमा जग्गाको मूल्य प्रति कठ्ठा १ करोड २९ लाख रुपैयाँ रहेको छ ।
विराटनगर विराटचोक मूल पिच सडकमा पर्ने व्यावसायिक जग्गाको मूल्य प्रति कठ्ठा ६१ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ । जग्गालाई कृषि, औद्योगिक, आवासीय र व्यावसायिक गरी तीन मुख्य क्षेत्रमा वर्गीकरण गरी फरक–फरक दररेट तय गरिएको छ ।
पूर्वी पहाडी जिल्लामा उल्लेख्य वृद्धि
पहाडी जिल्लाहरूमा सहरीकरणको विस्तारसँगै जग्गाको मूल्यमा उल्लेख्य वृद्धि गरिएको छ ।
इलामको वडा नं. २ मा सिटी हल जाने बाटो देखि नारायणस्थान सम्मको पिच सडकले छुने जग्गाको मूल्य प्रति आना ५ लाख १६ हजार ३ सय रुपैयाँ कायम गरिएको छ । इलाम बजार क्षेत्र भित्रको जग्गाको न्यूनतम मूल्यांकन प्रति वर्गमिटर ३४ हजार ८०० रुपैयाँ अर्थात प्रति आना करिब ११ लाख माथि निर्धारण गरिएको छ ।
पाँचथरको फिदिम नगरपालिकामा व्यावसायिक क्षेत्रको मूल्य प्रति आना ७ लाख रुपैयाँसम्म पुगेको छ ।