नेभिगेशन
प्रदेश

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका बुबाआमाको समूह, मन्दिरको शान्त वातावरण र सीमित सहभागिताको चित्र आउँथ्यो । तर चितवनमा भने त्यो धारणा बदलिँदै गएको छ । अहिले हरेक शनिबार साँझ मन्दिर परिसरमा सयौं युवा भेला हुन्छन् । मादल, झ्याली र हार्मोनियमको तालसँगै उनीहरू भजनमा रमाउँछन्, नाच्छन् र आधा घण्टा होइन, डेढ घण्टासम्म भजनकीर्तनको लयमा डुब्छन् ।
    यसका कारण हो, सामाजिक सञ्जालबाट जन्मिएको ‘एमआरआर’ (मेन्स रुम रिलोडेड) अभियान । गत वर्ष साउनमा भरतपुरस्थित महाकालेश्वर शिवालय मन्दिरबाट २० जना सहभागी भएर सुरु भएको यो अभियान अहिले चितवनका विभिन्न मन्दिरमा विस्तार भएको छ । अहिले हरेक शनिबार साँझ ५ बजेदेखि साढे ६ बजेसम्म हुने भजनमा एक हजारभन्दा बढी सहभागी हुने गरेका छन् ।
        अभियानका संयोजकमध्येका एक फणिन्द्र न्यौपानेका अनुसार सुरुमा केही युवाको प्रयासमा सुरु गरिएको भजन अहिले समुदायको साझा अभियान बनेको छ । ‘सुरुसुरुमा २०–२५ जना मात्रै हुन्थ्यौं,’ उनी भन्छन्, ‘अहिले त सहभागीको संख्या थामिनसक्नु भएको छ ।’
    एमआरआरको विशेषता एउटै स्थानमा सीमित नहुनु हो । हरेक शनिबार फरकफरक मन्दिरमा भजन आयोजना गरिन्छ । मन्दिर व्यवस्थापन समितिले समूहलाई निमन्त्रणा गर्ने गर्छ । त्यसपछि संयोजक न्यौपाने, एकान्त प्रेमी र रवि खरेलले कुन मन्दिरमा जाने भन्ने निर्णय गर्छन् । सामाजिक सञ्जालमार्फत स्थान र समय सार्वजनिक गरिन्छ र त्यसपछि स्थानीयवासी स्वतः भजनमा सहभागी हुन पुग्छन् ।
    भजनका लागि करिब ४०–५० जना युवा वाद्यवादन सामग्रीसहित मन्दिर पुग्ने गर्छन् भने मन्दिरले बस्ने व्यवस्था र ‘साउण्ड सिस्टम’ उपलब्ध गराउँछ । सामान्यतया २५ देखि ४० वर्ष उमेर समूहका युवाको सहभागिता बढी हुने गरेको छ । 
    एमआरआरमा सहभागी युवाले भजनका लागि कुनै शुल्क लिँदैनन् । अभियान पूर्ण रूपमा स्वःस्फूर्त र सेवामूलक रहेको न्यौपाने बताउँछन् । प्राथमिकता चितवनभित्रका मन्दिरलाई दिइए पनि आवश्यकताअनुसार अन्य जिल्लामा पनि भजन गर्न जाने गरिएको छ । भजन आरतीसँगै सुरु हुन्छ । त्यसपछि युवाले पालैपालो टुक्का निकालेर भजन गाउँछन् । मन्दिर परिसरमा उपस्थित स्थानीय पनि गीत, भजन र नृत्यमार्फत सहभागी बन्छन् । भजनस्थलमा स्वास्थ्य सेवाको व्यवस्था गर्न थालिएको छ ।
    संयोजक न्यौपानेका अनुसार यो अभियानको उद्देश्य केबल धार्मिक कार्यक्रम आयोजना गर्नुमात्र होइन । युवालाई मानसिक तनावबाट मुक्त गराउने, ध्यान केन्द्रित गर्न सहयोग गर्ने र सकारात्मक सोच विकास गर्ने अभियानका रूपमा यसलाई अघि बढाइएको छ । ‘पहिला बुबाआमाले मात्रै गाउने भजनप्रति अहिले युवाको आकर्षण बढेको छ,’ उनी भन्छन्, ‘यसले युवालाई सकारात्मक ऊर्जा दिएको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्