नेभिगेशन
प्रदेश

बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४ सयभन्दा धेरै गुँड

चितवन । यहाँको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनअन्तर्गतको बाटुली पोखरी र कुमाल तालमा जलचर प्रजातीका चराको गुँड गणना गरिएको छ । गणनाका क्रममा बाटुली पोखरीमा ४४० वटा र कुमाल तालमा १५ वटा गुढ भेटिएका छन् ।
    नेपाल पन्छीविद् संघ बागमती प्रदेशका संयोजक वासु बिडारीका अनुसार बाटुली पोखरीमा डाटर जातका पाँच वटा, स्वेतकण्ठ गरुडका दुई वटा र घँुङ्गीफोर गरुडका ४३३ गुँड भेटिएको छ । यस्तै कुमाल तालमा भेटिएका सबै गुढ घुँङ्गीफोर गरुडको रहेका छन् ।
    उनका अनुसार पाटुली पोखरीमा पानीको सतह भन्दा तीन मिटरमाथि देखि ३० मिटर माथिसम्म गुँडहरु अवस्थामा भेटिएको हो । उनले भने, ‘बाटुली पोखरीमा रहेका ९७ वटा रुखमा गरिएको गुँड गणनामा ती गुँड देखिएका हुन् ।’
    भरतपुर महानगरपालिका–१३ स्थित बाटुली पोखरीमा गुँड गणनाका लागि वर्ड एजुकेसन सोसाइटी, नेपाल पन्छीविद् संघ र नेचर गाइड एसोसियसनका ४२ जना परिचालन गरिएको थियो । पोखरीलाई चार ब्लकमा बिभाजन गरेर गुँड गणना गरिएको उनले जानकारी दिए । एउटा व्लकमा १० देखि १२ जनाका दरले परिचालन गरी शनिबार गणना गरिएको हो ।
    पोखरीमा ४३३ वटा गुँड फेला परेपछि पोखरी गरुड प्रजातिको महत्त्वपूर्ण प्रजननस्थलका रुपमा पुष्टि गरिएको उनले बताए । बाटुली पोखरी बरन्डाभार जैविक मार्ग, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा अन्तरराष्ट्रिय महत्त्वको बिसहजारी तथा आसपासका तालहरु (रामसार क्षेत्र) अन्तर्गत पर्दछन् । घुँगीफोर बचेरा कोरल्ने समयमा एकै स्थानमा जम्मा भएर सामूहिक रुपमा बच्चा कोरलेर हुर्काउने गर्दछन् ।
    बाटुलीपोखरीमा विगत चार वर्षदेखि यी चराहरुले गुँड लगाएर बच्चा हुर्काउँदै आएको उनले बताए । नेपालमा ९०२ प्रजातिका चरा पाइने गरेकामा चितवनमा ६६७ प्रजाति रहेको तथ्यांक छ ।
यसैगरी, बाँकेमा संकटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा विभिन्न प्रजातिका ती वन्यजन्तुको उद्धार गरेको हो । 
    एक सय ९१ वन्यजन्तुमध्ये सबैभन्दा बढी सर्प प्रजातिका १६४ वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालयका प्रमुख शंकर गुप्ताले जानकारी दिए । तीमध्ये पनि ७६ वटा कोब्रा सर्प रहेका जनाउँदै उनले अधिकांश नेपालगन्ज र कोहलपुर क्षेत्रबाट उद्धार गरिएको उल्लेख गरे । 
    जिल्लाका विभिन्न स्थानबाट कोब्रा (गोमन) धामन, करेत, अजिंगर, रसेल भाइपर, पानी सर्प, राजगोमन, गोही, गोहोरो, नीलगाई, हुचिल, बँदेल, कालोबिरालो, चित्तल, बाँदर र बाजको उद्धार गरिएको प्रमुख गुप्ताले बताउनुभयो । जिल्लामा कोब्राबाहेक धामन ३०, करेत २५, रसेल भाइपर १३, अजिंगर १०, पानीसर्प र राजगोमन पाँच÷पाँच वटा उद्धार गरिएको छ ।  
घाइते, टुहुरा, बाटो बिराएर गाउँबस्तीमा प्रवेश गरेका तथा संकटमा परेका विभिन्न प्रजातिका वन्यजन्तुको उद्धार गरिँदै आएको डिभिजन वन कार्यालय, बाँकेले जनाएको छ । उद्धार गरिएका वन्यजन्तुलाई बाँकेको विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा पुनःस्थापना गरिएको छ । 
    केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाउने गरिएको प्रमुख गुप्ताले बताउनुभयो । घाइते वन्यजन्तुलाई डिभिजन वन कार्यालयमा राखेर आवश्यक औषधि उपचारपश्चात् पूर्ण रूपमा निको भएपछि मात्र जंगलमा पुनःस्थापना गरिँदै आइएको उनको भनाइ छ ।
    जंगलमा आहाराको मात्रा कम हुनु, मानिसको चलहपहल बढी हुनु, जनावर बाटो बिराएर मानव बस्तीमा प्रवेश गर्नु, पानी पिउन तालतलैया तथा नहरमा जाँदा फस्नुलगायत विभिन्न कारणले गर्दा वन्यजन्तु आफ्नो बासस्थानबाट बाहिर निस्किएर अलपत्र पर्ने गरेका वन कार्यालयको भनाइ छ । कार्यालयले संकटमा परेका वन्यजन्तुको पाँच वर्षदेखि उद्धार गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्