नेभिगेशन
खेलकुद

फिफाले फुटबलको व्यापार गर्ने

विश्व फुटबलको सर्वोच्च शासकीय निकाय फिफाले नयाँ व्यावसायिक कम्पनीमा आफ्नो हिस्सेदारी बिक्री गरेर ४ अर्ब अमेरिकी डलरभन्दा बढी रकम जुटाउने योजना अध्ययन गरिरहेको छ । फिफाले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त नयाँ कम्पनीको मूल्य करिब २० अर्ब अमेरिकी डलर हुने र त्यसअन्तर्गत पुरुष, महिला तथा युवा फुटबलका प्रसारण अधिकार, प्रायोजन, टिकट बिक्री तथा लाइसेन्सिङ व्यवसाय रहने जनाएको छ । यसका लागि फिफाले जेपीमोर्गनका लगानी बैंकर तथा ओपनइकोनोमिक्ससहितका सल्लाहकारसँग काम गरिरहेको पनि बताएको छ ।
यो नयाँ कम्पनीमार्फत विश्वकै सबैभन्दा धेरै हेरिने खेलकुद प्रतियोगिता विश्वकपको बढ्दो लोकप्रियता र त्यसबाट हुने आम्दानीलाई थप व्यावसायिक रूपमा उपयोग गर्न फिफालाई सहज हुनेछ । यसबाट प्राप्त रकम सदस्य संघहरूलाई आर्थिक सहयोगका रूपमा वितरण गरिने फिफाले जनाएको छ । फिफाका अनुसार जोशुआ कुशनरको लगानी कम्पनी थ्राइभ क्यापिटलले आफ्नो थ्राइभ इटरनल होल्डिङ कम्पनीमार्फत प्रस्तावित लगानीकर्ता समूहको नेतृत्व गर्ने अपेक्षा गरिएको छ ।
फिफाको कुनै निजी मालिक छैन । सन् २०१६ देखि जियानी इन्फान्टिनो अध्यक्षका रूपमा नेतृत्व गर्दै आएका छन् र उनी आगामी वर्ष पुनः निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । तर नयाँ व्यावसायिक कम्पनी स्थापना गर्ने प्रस्ताव फिफाका २११ सदस्य संघमध्ये बहुमतको स्वीकृतिपछि मात्र लागू हुनेछ । युरोपेली फुटबलको शासकीय निकाय यूईएफएले भने यसप्रति तत्कालै आपत्ति जनाएको छ ।
यूईएफएले विज्ञप्तिमा भनेको छ, “यो फुटबलका शासकीय संस्थाहरूले कहिल्यै पार गर्नु नहुने सीमा हो । फुटबलको आत्मा र यसको शासन प्रणाली किनबेच गर्ने सम्पत्ति होइन, विशेष गरी कसले आर्थिक लाभ लिन्छ भन्नेबारे कुनै पारदर्शिता नभएको अवस्थामा । हामीमध्ये कोही पनि फुटबलका मालिक होइनौं । यसलाई बेच्ने अधिकार फिफासँग छैन ।”
फिफाले भने नयाँ कम्पनीमाथि आफ्नो नियन्त्रण यथावत रहने र प्रतियोगिता, खेल तालिका तथा खेलसम्बन्धी सम्पूर्ण निर्णय गर्ने विशेष अधिकार पनि आफैंसँग रहने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्