नेभिगेशन
खेलकुद
विश्वकै धनी बन्यो आईपीएल टी–२० लिग

२०.६ अर्ब डलरको संस्थामा लगानीकर्ताको होड

भारतको इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वकै सबैभन्दा धनी ट्वान्टी–२० क्रिकेट प्रतियोगिता बन्न पुगेको छ  । यसको व्यावसायिक मूल्य यस वर्ष ११ प्रतिशतभन्दा बढीले बढेर २०.६ अर्ब अमेरिकी डलर पुगेको छ । अमेरिकास्थित लगानी बैंक हाउलिहान लोकीले बुधबार सार्वजनिक गरेको ‘२०२६ आईपीएल ब्रान्ड मूल्याङ्कन अध्ययन’ मा यस्तो उल्लेख गरिएको हो । प्रतिवेदनअनुसार आईपीएलको व्यावसायिक मूल्य लगातार दोस्रो वर्ष पनि दोहोरो अंकले बढेको हो । यसले प्रतियोगिताको व्यावसायिक विस्तार र लगानीकर्ताको विश्वास अझ मजबुत भएको देखाएको छ ।
सन् २००८ मा सुरु भएको आईपीएल अहिले १० टोलीको प्रतियोगितामा विकसित भइसकेको छ । विश्वका उत्कृष्ट क्रिकेटरहरूलाई आकर्षित गर्दै आएको यस लिगले प्रसारण अधिकार, प्रायोजन, व्यापारिक सामग्री (मर्चेन्डाइजिङ) र फ्रेन्चाइज लगानीलाई समेटेर बलियो व्यावसायिक मोडल निर्माण गरेको छ । यसै वर्ष रोयल च्यालेन्जर्स बेङ्गलुरु र राजस्थान रोयल्स फ्रेन्चाइजको स्वामित्व परिवर्तनले पनि आईपीएलप्रति ठूला लगानीकर्ताको आकर्षण र स्थापित टोलीहरूको बढ्दो मूल्यलाई थप पुष्टि गरेको छ ।
ब्ल्याकस्टोन, बोल्ट भेन्चर्स, आदित्य बिर्ला समूह र टाइम्स अफ इन्डिया समूहको संयुक्त लगानीकर्ताको समूहले मार्चमा बेङ्गलुरु फ्रेन्चाइज १.७८ अर्ब अमेरिकी डलरमा खरिद गर्ने घोषणा गरेको थियो । यो आईपीएल इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज सम्झौता हो । त्यसपछि मे महिनामा मित्तल परिवार र आधार पुनावालाले राजस्थान रोयल्स १.६५ अर्ब अमेरिकी डलरमा किन्ने घोषणा गरेका थिए ।
हाउलिहान लोकीको वित्तीय तथा मूल्याङ्कन परामर्श विभागका निर्देशक हर्ष तालिकोटीले भने, “फ्रेन्चाइजहरूको मूल्य इतिहासकै उच्च तहमा पुगेको छ, निजी पुँजीको सहभागिता तीव्र गतिमा बढिरहेको छ र लिगको व्यावसायिक संरचना निरन्तर विविध बन्दै गएको छ । आईपीएल खेल, सञ्चारमाध्यम र उपभोक्ता बजारको अद्वितीय संगम बनेको छ । यसको बलियो आम्दानीको सुनिश्चितता, अनुशासित खर्च संरचना र विश्वव्यापी रूपमा फैलिँदै गएको दर्शकवर्गले यसलाई अझ आकर्षक बनाएको छ ।”
तालिकोटीका अनुसार हालै सम्पन्न भएका फ्रेन्चाइज कारोबारहरूले दीर्घकालीन मूल्य सिर्जना गर्ने आईपीएलको क्षमतामाथि लगानीकर्ताको विश्वास अझ गहिरिएको पुष्टि गरेका छन् । प्रतिवेदनअनुसार आईपीएलको स्वतन्त्र ब्रान्ड मूल्य पनि गत वर्षको तुलनामा १०.३ प्रतिशतले बढेर ४.३ अर्ब अमेरिकी डलर पुगेको छ । पछिल्ला च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु ३१२ मिलियन अमेरिकी डलरको ब्रान्ड मूल्यसहित अझै पनि आईपीएलकै सबैभन्दा मूल्यवान फ्रेन्चाइज बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्