नेभिगेशन
प्रदेश

महिलाको नाममा जग्गा ‘रजिस्ट्रेसन’को संख्या बढ्दै

दाङ । सरकारले महिलाको नाममा जग्गा खरिद गर्दा कर छुट दिने व्यवस्था गरेसँगै दाङमा महिलाको नाममा जग्गा रजिस्ट्रेसन पास गर्नेको संख्या बढ्दै गएको छ ।
     नेपालको कानुनी व्यवस्थाअनुसार महिलाको नाममा जग्गा पास गर्दा सामान्यतया २५ देखि ३५ प्रतिशतसम्म कर छुट दिने व्यवस्था छ ।
आर्थिक वर्ष २०७९÷०८० मा रु आठ करोड ४५ लाख ४० हजार ४७६, आव २०८०÷०८१ रु छ करोड ६१ लाख ६१ हजार, आव २०८१÷०८२ मा रु तीन करोड ६९ लाख ९७ हजार ६२६ र आव  २०८२÷०८३ मा दलित तथा जनजातिले  रु ६९ लाख ४८ हजार १३३ जग्गा रजिष्ट्रेसनबापत छुट पाएका छन् ।
सरकारले यसप्रकार राजस्व छुट दिएका कारण दाङमा घर, जग्गा र व्यवसायको मालिक पनि महिला हुन थालेका छन् । महिलाको नाममा सम्पत्ति जोड्दा उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् भन्ने अड्कलबाजी अन्ततः यहाँ क्रमशः हराउँदै जान थालेको पाइन्छ । 
नेपालको संविधानमा कानुनले अंश र वंशमा महिलाको हक स्थापित गरेकै कारण जग्गामा  महिलाको स्वामित्व बढ्दै गएको हो । 
आव २०७९÷०८० मा सात हजार ७९९, आव २०८० ÷०८१ मा  नौ हजार ८९३, आव २०८१÷०८२ मा छ हजार २९८, आव २०८२÷०८३ मा ३९५ महिलाले आफ्नो नाममा जग्गा पास गरेका दाङका प्रमुख मालपोत अधिकृत शान्तराज गौतमले जानकारी दिए ।  
 ‘बुहारी पनि छोरीसरह हुन् । उनको नाममा जग्गा पास गर्दा राजस्वमा २५ प्रतिशत छुट पाइन्छ भने किन पास नगर्ने ?’ तुलसीपुर उपमहानगरपालिका–६ का ६५ वर्षीय रामु चौधरीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्