नेभिगेशन
प्रदेश

तीन वर्षमै बाघको संख्या दोब्बर

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार बाघको संख्या २५ बाट बढेर अहिले ५१ पुगेको हो । सो निकुञ्जमा सन् २०२२ मा २५ बाघ रहेका थिए । 

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलका अनुसार निकुञ्जमा सबैभन्दा पहिले २०१३ सालमा बाघको संख्या चार रहेकामा २०१८ सालमा बढेर २१ पुगेको थियो । प्रमुख संरक्षण अधिकृत कँडेलले बाघको आहार प्रजातिका लागि घाँसे मैदानको व्यवस्थापनका कारण बाघको संख्या बढेको बताए । 

उनले भने, ‘मानव वन्यजन्तु द्वन्द्वको विषयले ठूलो चुनौती थपिएको छ, तर यसको साझा प्रयासबाट निष्कर्षमा पुग्न सकिन्छ ।’ बाघबाट हुने क्षति कम गर्न र चोरी शिकारी नियन्त्रणका लागि सधै चनाखो रहेको उल्लेख गर्दै अधिकृत कँडेलले बाघको बासस्थान आसपासमा कृत्रिम पानी पोखरीको निर्माण गरिएको बताए ।

‘हामीले चुरे पहाडबाट पनि पानी ल्याएका छौं र केही सोलार प्रविधिबाट वन्यजन्तुका लागि कृत्रिम पानीपोखरीको व्यवस्थापन गरेका छौं,’ उनले भने । अधिकृत कँडेलले स्थानीय समुदाय, सरोकार भएका निकाय, संघ, संस्थालगायतका निकायले गरेको साझा प्रयासबाट बाघको संख्या बढ्नमा मद्दत पुगेको उल्लेख गरे । बाँके र आसपासका वन क्षेत्रमा कम्प्लेक्स विभाजन गरी बाघको गणना गरिएको थियो । 

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमि क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो । 

यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्वपश्चिम राजमार्ग रहेको छ । यस निकुञ्ज पाटेबाघ र हात्तीको महŒवपूर्ण वासस्थानको रूपमा रहेको छ । यहाँ जैविक विविधताको दृष्टिले आठ वटा इकोसिष्टम, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराको प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचर पाइन्छन् । 

यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चरा रहेका छन् । बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किमि क्षेत्रलाई समेटेर निकुञ्जसँगै यहाँ मध्यवर्ती क्षेत्र पनि घोषणा गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्