नेभिगेशन
अर्थतन्त्र

यथार्थपरक दररेटमा मात्र बोलपत्र पेस गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले प्रचलित कानुन, वास्तविक लागत तथा आफ्नो प्राविधिक र वित्तीय क्षमता अनुरूप मात्र बोलपत्र पेस गर्न आग्रह गरेको छ । महासंघले परिपत्र जारी गरी आफ्ना सम्पूर्ण सदस्य निर्माण व्यवसायीहरूलाई यस्तो आग्रह गरेको हो । महासंघले हाल मध्यपूर्वमा विकसित युद्धजन्य परिस्थितिका कारण इन्धन, बिटुमिन लगायत निर्माण सामग्री, ढुवानी तथा अन्य निर्माण लागतमा अप्रत्याशित वृद्धि भएको उल्लेख गर्दै निर्माण क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित भएकाले यथार्थपरक दररेटमा बोलपत्र पेश गर्दा मात्र पूर्वाधार आयोजनाको सहज ढंगले निर्माण गर्न सकिनेमा जोड दिएको छ । ‘धेरै आयोजनाको लागत अनुमान पुरानो दररेटका आधारमा तयार भएका छन् । निर्माण सामग्रीको आपूर्ति व्यवस्थामा पनि चुनौती देखिएको छ,’ महासंघको परिपत्रमा भनिएको छ, ‘यस्तो अवस्थामा लागतभन्दा निकै कम दरमा बोलपत्र पेस गर्दा भविष्यमा आयोजना कार्यान्वयन, गुणस्तर, समयसीमा तथा आर्थिक व्यवस्थापनमा गम्भीर समस्या आउन सक्छ ।’
महासंघले हाल लागू भएको सार्वजनिक खरिद ऐन, २०६३ (दोस्रो संशोधन, २०८३) अन्तर्गतको ‘एभरेज बिडिङ’ व्यवस्थाले सार्वजनिक खरिद प्रणालीलाई यथार्थपरक र स्वस्थ प्रतिस्पर्धातर्फ उन्मुख गरेको उल्लेख गर्दै प्रत्येक व्यवसायीले आयोजनाको स्थलगत अध्ययन, लागत विश्लेषण, नगद प्रवाह, मूल्य समायोजन तथा सम्भावित जोखिमको मूल्यांकन गरी मात्र बोलपत्र पेश गर्नुपर्ने जनाएको छ । परिपत्रमा वास्तविक लागतभन्दा अस्वाभाविक रूपमा न्यून दरमा बोलपत्र पेश गर्दा आर्थिक नोक्सानी, आयोजना सम्पन्न गर्न कठिनाइ, सम्झौतासम्बन्धी विवाद तथा कानुनी दायित्व सिर्जना हुन सक्ने भएकाले त्यसतर्फ विशेष सचेत रहन सदस्यहरूलाई अनुरोधसमेत गरेको छ । महासंघले गुणस्तरीय निर्माण, स्वस्थ प्रतिस्पर्धा, व्यावसायिक आचरण तथा सार्वजनिक खरिद प्रणालीको प्रभावकारी कार्यान्वयनप्रति आफ्नो प्रतिबद्धता दोहो¥याउँदै दिगो र जिम्मेवार निर्माण संस्कृतिको विकासमा सबै सदस्यलाई सहयोग गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै