नेभिगेशन
अर्थतन्त्र

नतिजामुखी कार्यसम्पादनमा केन्द्रित हुन उद्योग मन्त्रीको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले चालु आर्थिक वर्षका कार्यक्रमलाई सुरुदेखि नै प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नतिजामुखी कार्यसम्पादनमा केन्द्रित हुन मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएकी छन् । आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले नयाँ सरकार गठनपछि पहिलो १०० दिनभित्र सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्यसूची कार्यान्वयनमा मन्त्रालय र मातहतका निकायले आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

उनले अघिल्लो आर्थिक वर्षका कमजोरीबाट पाठ सिकेर चालु आर्थिक वर्षका योजना तथा कार्यक्रम सुरुदेखि नै प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने बताइन् । निर्धारित लक्ष्य समयमै हासिल गर्न सबै निकायले जिम्मेवारीबोधका साथ परिणाममुखी ढंगले काम गर्नुपर्नेमा उनको  विशेष जोड दिइन् । मन्त्री यादवले कम्पनी रजिष्ट्रार कार्यालय र उद्योग विभागका सेवा अनलाइन प्रणालीमा रूपान्तरण भइसकेको उल्लेख गर्दै मन्त्रालयअन्तर्गत अझै डिजिटल हुन बाँकी रहेका सबै सेवाहरूलाई यथाशीघ्र अनलाइन प्रणालीमा लैजान निर्देशन दिइन् । सेवा प्रवाहलाई छिटो, पारदर्शी, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन आवश्यक प्रक्रिया तत्काल अघि बढाउन सचिव तथा विभागीय प्रमुखहरूलाई पनि उनले निर्देशन दिइन् । उनले सुशासन सरकारको पहिलो प्राथमिकता भएको बताइन् । मन्त्रालय, विभाग तथा मातहतका कार्यालयमा सुशासनका विषयमा कुनै पनि प्रकारको सम्झौता नगर्न स्पष्ट निर्देशन दिँदै इमान्दारिता, पारदर्शिता र उत्तरदायित्वलाई कार्यसम्पादनको आधार बनाउनुपर्नेमा जोड दिइन् । सेवाग्राहीले सहज, छिटो र गुणस्तरीय सेवा पाउने वातावरण सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो ।

चाडपर्व नजिकिँदै गएको सन्दर्भमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउन, उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न तथा कृत्रिम अभाव, कालोबजारी र अनियमितता नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न पनि मन्त्री यादवले निर्देशन दिइन् । औद्योगिक वातावरण सुधार, व्यापार विस्तार तथा मन्त्रालयको समग्र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत सहजीकरणका लागि आफू सधैँ सकारात्मक रहेको बताइन् ।

साथै, सबै कर्मचारी तथा मातहतका निकायलाई आपसी समन्वय, प्रतिबद्धता र जिम्मेवारीका साथ काम गर्न आग्रह गरिन् । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नेत्रप्रसाद सुवेदीले बैठकमा आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति, बजेट कार्यान्वयन, मन्त्रालय तथा मातहतका निकायका उपलब्धि, शासकीय सुधारका १०० बुँदे कार्यसूचीको प्रगति तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको बताए । उनले गत आर्थिक वर्षमा हासिल भएका उपलब्धिलाई संस्थागत गर्दै आगामी लक्ष्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै महाशाखा, विभाग तथा मातहतका निकायबीच नियमित समन्वय, प्रभावकारी कार्यान्वयन र नतिजामुखी कार्यसम्पादनमा विशेष जोड दिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै