नेभिगेशन
अर्थतन्त्र

व्यवसायिक नेतृत्वलाई कृत्रिम बुद्धिमत्तामैत्री बनाउने प्रयास

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ, युरोपियन इकोनोमिक चेम्बर नेपाल तथा बोशको संयुक्त आयोजनामा  नीति निर्माताका लागि बौद्धिक कृत्रिमता शीर्षकको कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा प्रविधि साझेदारका रूपमा बोशले स्थानीय व्यवसायिक नेतृत्व, वरिष्ठ कार्यकारीहरू, उद्यमीहरू तथा नीति–निर्माताहरूलाई कृत्रिम बुद्धिमत्ताको प्रभावकारी प्रयोगमार्फत व्यवसाय रूपान्तरण, उत्पादकत्व वृद्धि तथा रणनीतिक निर्णय प्रक्रियालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको विवरण पेश गरेको थियो 
बोश समूह भारतका अध्यक्ष तथा बोश लिमिटेडका प्रबन्ध निर्देशक गुरु प्रसाद मुद्लापुरले भने, ‘आजको परिवेशमा उन्नत एआई प्रविधिमा पहुँच सबैका लागि सहज भइसकेको छ । अब वास्तविक भिन्नता रणनीतिक कार्यान्वयन र सक्षम नेतृत्वले निर्धारण गर्छ । वास्तविक रूपान्तरण तब सम्भव हुन्छ, जब संस्थाहरूले सामान्य स्वचालन भन्दा माथि उठेर एआईलाई आफ्नो विशिष्ट क्षेत्रगत विशेषज्ञता, मानवीय विवेक तथा ग्राहकप्रतिको गहिरो विश्वाससँग संयोजन गर्छन् । ’
कार्यक्रममा युरोपेली संघकी राजदूत महामहिम भेरोनिक लोरेन्जो तथा जर्मनीका राजदूत महामहिम उडो युगेन भोल्जको उपस्थिति रहेको थियो । 
कार्यशालाअन्तर्गत आयोजित फायरसाइड च्याट सत्रमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सुदन झाले कृत्रिम बुद्धिमताको विकासक्रम, राष्ट्रिय विकासमा यसले पु¥याउन सक्ने सम्भावित योगदान, नेपालले एआईलाई प्रभावकारी रूपमा कसरी आत्मसात् गर्न सकिन्छ भन्ने विषय तथा सरकारी नीति, योजना र कार्यक्रमहरूमा एआईलाई समावेश गर्न सरकारले अघि बढाइरहेका पहलहरूबारे विस्तृत धारणा प्रस्तुत गरेका थिए ।
नेपालका लागि बोशका कन्ट्री हेड सन्दीप कामतले भने, ‘एआई अब भविष्यको अवधारणा मात्र होइन, यो व्यवसायका लागि अपरिहार्य आवश्यकता बनिसकेको छ। यस कार्यशालाको उद्देश्य नेतृत्व तहलाई एआईलाई जिम्मेवारीपूर्वक कसरी अपनाउने र त्यसलाई आफ्नो संस्थाका लागि मापनयोग्य मूल्यमा कसरी रूपान्तरण गर्ने भन्ने विषयमा व्यावहारिक ज्ञान प्रदान गर्नु हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै