नेभिगेशन
अर्थतन्त्र

महासंघका थप तीन विषयगत समितिले पाए पूर्णता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)अन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् । बैंक, फाइनान्स तथा बीमा समिति, व्यापार मेला समिति तथा पर्यटन तथा हवाई यातायात समिति विस्तारसँगै महासंघका थप तीन समितिले पूर्णता पाएका हुन् । महासंघ सचिवालय, टेकुमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवमनोनीत उपसभापति, सदस्य तथा सल्लाहकारहरूलाई मनोनयन पत्र हस्तान्तरण गरे ।

यसअघि महासंघका ८ विषयगत समितिले पूर्णता पाइसकेका छन् भने महासंघमा कुल २५ वटा विषयगत समिति रहेका छन् । नवनिर्मित समितिमध्ये केन्द्रीय सदस्य हेमन्त गोल्छाको नेतृत्वमा बैंक, फाइनान्स तथा बीमा समिति, सविन श्रेष्ठको नेतृत्वमा व्यापार मेला समिति तथा संघर्ष विष्टको नेतृत्वमा पर्यटन तथा हवाई यातायात समिति गठन गरिएको छ । कार्यक्रममा कार्यबाहक अध्यक्ष वैद्यले विषयगत समितिहरू निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकताहरू पहिचान गर्ने महासंघका महत्वपूर्ण संयन्त्र भएको बताउँदै सम्बन्धित क्षेत्रका नीतिगत विषयमा गहन अध्ययन गरी सरकारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत हुन आग्रह गरे । समितिहरूको सक्रियताले निजी क्षेत्रको सशक्तीकरण तथा मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो । उनले निजी क्षेत्रका साझा सवालमा महासंघको संस्थागत धारणा निर्माण, समस्या समाधान, नयाँ सम्भावनाको खोजी, नीति निर्माणमा सहजीकरण तथा लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण सिर्जना गर्न समितिहरूले परिणाममुखी ढंगले काम गर्नुपर्नेमा जोड दिए । महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले विषयगत समितिहरू महासंघका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने आधार भएकाले सम्बन्धित क्षेत्रका उद्यमी–व्यवसायीका समस्या नजिकबाट अध्ययन गरी समाधानका लागि पहल गर्नुपर्ने बताए । उनले तथ्यमा आधारित सुझाव तथा नीतिगत प्रस्ताव महासंघमा पेश गर्न समितिहरूलाई आग्रह गरे ।

कोषाध्यक्ष मनीषलाल प्रधानले समितिहरूको सक्रियताले महासंघको संस्थागत क्षमता थप सुदृढ हुने उल्लेख गर्दै निजी क्षेत्र, सरकार तथा अन्य सरोकारवालाबीच समन्वय कायम गरी क्षेत्रगत समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । बैंक, फाइनान्स तथा बीमा समितिका सभापति हेमन्त गोल्छाले बैंकिङ तथा वित्तीय क्षेत्रमा सहज पहुँच, ब्याजदर स्थिरता, तरलता व्यवस्थापन र निजी क्षेत्रमैत्री नीति निर्माणका लागि समिति सक्रिय रहने बताए। उनले वित्तीय संस्थासँगको समन्वय बढाएर लगानी प्रवद्र्धन र व्यवसाय विस्तारमा जोड दिने प्रतिबद्धता जनाए । व्यापार मेला समितिका सभापति सविन श्रेष्ठले व्यापार मेला तथा प्रदर्शनीलाई व्यवस्थित, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित समितिले काम गर्ने बताए। उनले स्वदेशी उत्पादनको प्रवद्र्धन, बजार विस्तार तथा व्यवसायीबीच सहकार्यलाई प्राथमिकता दिने उल्लेख गरे । 
त्यसैगरी, पर्यटन तथा हवाई यातायात समितिका सभापति संघर्ष विष्टले पर्यटन क्षेत्रको पुनरुत्थान, हवाई यातायातको सहजता, गुणस्तरीय पर्यटक आकर्षण तथा निजी क्षेत्रको लगानी सुरक्षाका लागि समिति निरन्तर सक्रिय रहने बताए । सरकारसँगको समन्वयमा पर्यटन पूर्वाधार विकास र नीतिगत सुधारलाई प्राथमिकतामा राखिने उनको भनाइ थियो । महासंघले विषयगत समितिहरूलाई निजी क्षेत्रका विभिन्न क्षेत्रका समस्या र सम्भावनाको पहिचान, नीतिगत सुझाव तयार गर्ने, सरकारसँग संवाद तथा सहकार्य बढाउने र महासंघको संस्थागत धारणा निर्माणमा योगदान पु¥याउने प्रमुख संयन्त्रका रूपमा अघि बढाउँदै आएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै