नेभिगेशन
अर्थतन्त्र

चार करोड ठगी आरोपमा परिवारका तीन जना पक्राउ

काठमाडौं । मिटरब्याज पीडितसँग नौबुँदे सहमति गरेको भोलिपल्टै सरकार सक्रिय देखिएको छ । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा धितो राखेर करिब चार करोड रुपैयाँ ठगी आरोपमा धनुषामा एकै परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुपक खड्काका अनुसार अनुचित लेनदेन तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका जनकपुरधाम–१६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी पत्नी ४८ वर्षीया रेखा साह र छोरा ३२ वर्षीय हरेराम साह पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार गोपाल साहलाई जनकपुरधामस्थित एक होटलबाट, रेखा साहलाई धनुषाको नगराइन नगरपालिका–स्थित जटही सीमा नाकाबाट तथा हरेराम साहलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।
अनुसन्धानका क्रममा जनकपुरधाम–२ निवासी गोविन्दकुमार साहले व्यापार व्यवसायका लागि गोपाल साहसँग कपाली तमसुक गरी दृष्टिबन्धकमा जग्गा राखेर ९९ लाख रुपैयाँ ऋण लिएको खुलेको प्रहरीले जनाएको छ । उक्त जग्गा वास्तविक धनीलाई जानकारी नै नदिई गोपाल साहसहित तीनै जनाले बैंकमा धितो राखेर करिब चार करोड रुपैयाँ ऋण लिएको आरोप छ ।
प्रहरीले गोपाल साहको घरमा खानतलासी गर्दा जग्गाधनी पुर्जा ५० थान, नागरिकता प्रमाणपत्र १८ थान, एक थान ल्यापटप तथा विभिन्न छाप र नक्सा बरामद गरेको जनाएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
यसैबीच, सरकार र मिटरब्याज पीडितबीच शुक्रबार भएको नौबुँदे सहमतिअनुसार मिटरब्याज उन्मूलनका लागि कानुनी तथा नीतिगत व्यवस्था अघि बढाइएको छ । सहमतिअनुसार मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू (तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेशन, छिनुवा पास, बाध्यकारी चेकलगायत) अवैध घोषणा गर्ने प्रक्रिया अघि बढाइने भएको छ ।
त्यस्तै, ‘मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी ऐन’ निर्माण गरी तीन महिनाभित्र विधेयक तयार गर्ने, पीडितको सम्पत्ति फिर्ता गराउने, मिटरब्याजसम्बन्धी मुद्दा हेर्न विशेष न्यायाधिकरण गठन गर्ने तथा वडा कार्यालयबाट हुने लेनदेन प्रमाणीकरणमा रकमको वैधानिक स्रोत र बैंक कारोबारको प्रमाण अनिवार्य गर्ने सहमति भएको छ ।
सरकारले मिटरब्याजलाई आर्थिक अपराध तथा सामाजिक कुप्रथाका रूपमा लिएर यसको नियन्त्रण र उन्मूलनका लागि कडा कानुनी व्यवस्था लागू गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्