नेभिगेशन
अर्थतन्त्र

सौर्य ऊर्जामा आधारित ब्याट्री स्टोरेज प्रणाली विकास गर्न साझेदारी

काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सौर्य ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली (बीईएसएस) विकास गर्न रणनीतिक साझेदारी भएको छ । दुवै कम्पनीले यस सहकार्यलाई स्वच्छ, भरपर्दो र दिगो ऊर्जा पूर्वाधार निर्माणतर्फको महŒवपूर्ण कदमका रूपमा लिएका छन् ।

साझेदारीअन्तर्गत सौर्य ऊर्जा उत्पादनलाई अत्याधुनिक ब्याट्री ऊर्जा स्टोरेज प्रविधिसँग एकीकृत गरी विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ पूर्वाधारलाई थप प्रभावकारी बनाइनेछ । उच्च विद्युत् माग हुने समयमा पावर ग्रीडमाथिको निर्भरता घटाउँदै नवीकरणीय ऊर्जाको उपयोग बढाउने लक्ष्य परियोजनाले लिएको छ । प्रस्तावित प्रणालीले दिनभर सौर्य प्रणालीबाट उत्पादन भएको अतिरिक्त विद्युत् सञ्चय गरी आवश्यक परेको समयमा विद्युतीय सवारीसाधन चार्ज गर्न प्रयोग गर्नेछ । यसले ऊर्जा आपूर्तिको विश्वसनीयता बढाउनुका साथै विद्युत्को प्रभावकारी उपयोग सुनिश्चित गर्ने र चार्जिङ सेवामा स्वच्छ ऊर्जाको प्रयोग विस्तार गर्ने अपेक्षा गरिएको छ । दिगोका व्यवसाय प्रमुख नबिन अधिकारीले घाम पावरसँगको सहकार्य नेपालमा दिगो विद्युतीय सवारीसाधन इकोसिस्टम निर्माण गर्ने अभियानको महŒवपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार चार्जिङ स्टेशनमा सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीको एकीकरणले विद्युतीय यातायातको भविष्यलाई अझ स्मार्ट, स्वच्छ र भरपर्दो बनाउने पूर्वाधार तयार गर्नेछ ।

घाम पावरका प्राविधिक निर्देशक प्रदीप हुमागाईंले सौर्य ऊर्जा र ब्याट्री स्टोरेज प्रणालीको संयोजनले ऊर्जा दक्षता अभिवृद्धि गर्नुका साथै स्वच्छ प्रविधिमार्फत नेपालमा विद्युतीय सवारीसाधन चार्जिङ पूर्वाधारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । कम्पनीहरूका अनुसार यो परियोजना भविष्यमा नेपालभर स्थापना हुने स्वच्छ ऊर्जामा आधारित विद्युतीय सवारीसाधन चार्जिङ केन्द्रका लागि नमुना परियोजनाका रूपमा विकास गरिनेछ । स्थानीय रूपमा उत्पादन भएको सौर्य ऊर्जा र स्मार्ट ऊर्जा भण्डारण प्रणालीको प्रयोगले कार्बन उत्सर्जन घटाउने, विद्युत् प्रणालीको स्थायित्व बढाउने, सञ्चालन खर्च कम गर्ने तथा प्रयोगकर्तालाई अविरल चार्जिङ सेवा उपलब्ध गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्