नेभिगेशन
अर्थतन्त्र

एडीबी र हुवावेको सहकार्यमा विश्व निकेतनमा स्मार्ट शिक्षा कार्यक्रम

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) र हुवावे नेपालले विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट कक्षा तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सीप विकास कार्यक्रम सञ्चालन गरेका छन् । डिजिटल प्रविधिमार्फत शिक्षण–सिकाइ प्रणालीलाई आधुनिक बनाउँदै गुणस्तरीय शिक्षामा सबैको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो । त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममार्फत काठमाडौं उपत्यकाभित्रका विद्यालयलाई उपत्यकाबाहिरका विद्यालयसँग जोड्ने सहकार्यात्मक स्मार्ट शिक्षा प्लेटफर्मको सुरुआत गरिएको छ ।

यस प्लेटफर्ममार्फत विद्यार्थी र शिक्षकहरूले प्रत्यक्ष वैज्ञानिक अनुसन्धान, अन्तरक्रियात्मक कक्षा तथा वास्तविक समयमै ज्ञान आदान–प्रदान गर्न सक्नेछन् । हुवावेको स्मार्ट कक्षा समाधानमार्फत दुर्गम क्षेत्रका विद्यार्थीहरूले गुणस्तरीय विज्ञान शिक्षा, डिजिटल शैक्षिक सामग्री तथा विश्व निकेतनका विद्यार्थीहरूसँग सहकार्यात्मक सिकाइमा सहभागी हुने अवसर पाउनेछन् । साथै, शिक्षकहरूले पनि शिक्षण अनुभव आदान–प्रदान, उत्कृष्ट अभ्यास साझा गर्ने र संयुक्तरूपमा कक्षा सञ्चालन गर्न सक्नेछन् । हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेनले प्रविधिमार्फत देशभरका कक्षाकोठालाई जोडेर सबै विद्यार्थीलाई समान अवसर उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको बताए ।

एडीबीका वरिष्ठ शिक्षा विशेषज्ञ जेफ्री जियान शुले डिजिटल प्रविधि र सहकार्यमार्फत समावेशी तथा भविष्यमुखी शिक्षा प्रणाली निर्माणमा एडीबी प्रतिबद्ध रहेको बताए । आयोजकका अनुसार एडीबी, हुवावे नेपाल र विश्व निकेतन माध्यमिक विद्यालयबीचको यस सहकार्यले वैज्ञानिक साक्षरता अभिवृद्धि, शिक्षणको गुणस्तर सुधार तथा नेपालको डिजिटल रूपान्तरणलाई गति दिन सहयोग पुग्नेछ।  साथै, यस्तो स्मार्ट शिक्षा अभ्यासलाई आगामी दिनमा देशका अन्य विद्यालयमा पनि विस्तार गर्ने योजना रहेको हुवावेले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्