नेभिगेशन
अर्थतन्त्र

डिजिटल वालेट प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै डिजिटल वालेट प्रयोगकर्ताहरूका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. १५ मा संशोधन र थप गर्दै यस्तो नयाँ व्यवस्था ल्याएको हो ।
नयाँ व्यवस्था अनुसार अब भुक्तानी सेवा प्रदायक संस्थाहरूले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको विवरण यकिन गरी मात्र वालेट खोल्ने व्यवस्था मिलाउनुपर्नेछ । यसका लागि परिचयपत्रको विद्युतीय अभिलेखसँग समेत मिलान गर्नुपर्ने निर्देशनमा उल्लेख छ । 
पुरानो प्रयोगकर्तालाई २०८३ असोजसम्मको समय हाल वालेट प्रयोग गरिरहेका ग्राहकहरूको हकमा भने राष्ट्र बैंकले केही समय दिएको छ । अनुमतिप्राप्त संस्थाहरूले २०८३ असोज मसान्तभित्र आफ्ना ग्राहकहरूबाट राष्ट्रिय परिचयपत्र भए नभएको स्वघोषणा गर्नुपर्नेछ । यसका साथै, परिचयपत्र लिइसकेका ग्राहकहरूको हकमा सोही अवधिभित्र मोबाइल एप्लिकेशन वा अन्य माध्यमबाट अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गराइसक्नुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्रिय परिचयपत्र लिन बाँकी रहेका नेपाली नागरिकको हकमा भने ग्राहक पहिचान  अद्यावधिक गर्नका लागि सम्बन्धित संस्थाले हरेक महिना मोबाइल एप वा अन्य माध्यमबाट जानकारी दिने व्यवस्था मिलाउनुपर्नेछ ।
विदेशमा रहेका र अशक्त नागरिकलाई विशेष व्यवस्था विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूका लागि भने केही लचिलो व्यवस्था गरिएको छ । उनीहरूले विदेशबाटै अनलाइनमार्फत वालेट खोल्न चाहेमा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातको आधारमा वालेट खोल्न सक्नेछन् । तर, नेपाल फर्किएको १५ दिनभित्र भने अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ ।
त्यस्तै, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकको हकमा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातहरू संलग्न गरेर वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।
विदेशमा बसोबास गरिरहेका नेपालीहरूले अनलाइनमार्फत वालेट खोल्दा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातहरू प्रयोग गरेर वालेट खोल्न र चलाउन सक्नेछन् । तर, उनीहरू नेपाल फर्किएको १५ दिनभित्र अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । 
राष्ट्रिय परिचयपत्र नभएकै कारण तत्कालै वालेट बन्द हुने वा चलाउन नपाउने भने नहुने केन्द्रीय बैंकको भनाइ छ ।  तर राष्ट्र बैंकले तोकेका प्रक्रिया र समयसीमा पालना गर्नुपर्ने हुन्छ । 
विदेशबाट फर्किने नेपाली नागरिकहरूका हकमा नेपाल फर्किएपछि प्रयोग गरिरहेको वालेट सेवा प्रदायक संस्थाले उनीहरूको राष्ट्रिय परिचयपत्रको विवरण लिई अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने हुन्छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै