नेभिगेशन
अर्थतन्त्र

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महर्षि कलेजबीच नेपालभर कृत्रिम बौद्धिकता (एआई) तथा भविष्यका प्रविधि सीपको पहुँच विस्तार गर्ने उद्देश्यले पाँच वर्षे रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वान कभर प्रालिका संस्थापक प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारी र महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा क्यान महासंघका उपाध्यक्ष सुवास खड्का, केन्द्रीय सदस्य तथा शिक्षा समितिका सह–संयोजक ओंकार बस्नेतलगायत शिक्षा र सूचना प्रविधि क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार सातै प्रदेशका युवामाझ एआई र आधुनिक प्रविधि सीप विस्तार गर्न कोडिङ बुटक्याम्प, ह्याकाथन, इनोभेसन च्यालेन्ज, स्टार्टअप इन्क्युबेसन कार्यक्रम तथा शिक्षक क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । यी कार्यक्रममार्फत कक्षाकोठाको अध्ययनलाई प्रविधि उद्योगसँग जोड्दै विद्यार्थीलाई प्रविधिको उपभोक्तामात्र नभई नवप्रवर्तनकर्ता र उद्यमीका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । सम्झौतापछि बोल्दै क्यान महासंघका कार्यवाहक अध्यक्ष अधिकारीले यो सहकार्यले युवाको वास्तविक सम्भावनालाई उजागर गर्दै एआईको प्रयोगकर्तामात्र होइन, सिर्जनाकर्ता बन्ने अवसर प्रदान गर्ने बताए । सातै प्रदेशमा बुटक्याम्प र स्टार्टअप कार्यक्रम विस्तार गरेर सबै युवालाई समान अवसर उपलब्ध गराइने उनको भनाइ थियो । महर्षि कलेजका प्रिन्सिपल आचार्यले शैक्षिक पाठ्यक्रमलाई उद्योगको व्यावहारिक अनुभवसँग जोडेर विद्यार्थीका लागि प्रविधि क्षेत्रमा प्रवेश गर्ने प्रत्यक्ष मार्ग तयार गरिने बताए ।

यसले भविष्यका चुनौती सामना गर्न सक्षम, दक्ष र प्रविधिमैत्री जनशक्ति उत्पादनमा टेवा पुग्ने उनको विश्वास छ । क्यान महासंघका अनुसार तीव्र गतिमा परिवर्तन भइरहेको विश्वव्यापी रोजगारी बजारलाई ध्यानमा राख्दै यो सहकार्यले नेपालका युवालाई कृत्रिम बौद्धिकता र उदीयमान प्रविधिमा दक्ष बनाउने तथा देशको डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै