नेभिगेशन
दृष्टिकोण

दशैँमा गाउँ फर्किँदाः युवाविहीन गाउँ, रित्तिँदै देश

नेपालीहरूको महान् चाड विजयादशमी २०८३ मनाउन यसपटक आफ्नै जन्मथलो पुग्ने अवसर मिल्यो । वर्षभरि आ–आफ्नो कर्मथलोमा व्यस्त रहेका आफन्त, साथीभाइ र देशविदेशमा छरिएका गाउँलेहरू पनि दशैँ मनाउन जन्मभूमि फर्किएका थिए । सुनसानजस्ता देखिने गाउँका आँगनमा केही दिनका लागि भए पनि चहलपहल बढेको थियो । वर्षौंपछि भेटिएका अनुहारमा खुसी थियो, घरआँगनमा हाँसो थियो र गाउँका गोरेटाहरूमा पुराना सम्झनाका पदचाप सुनिन्थे ।
तर त्यो खुसीभित्र एउटा गहिरो पीडा पनि लुकेको रहेछ । दशैँको रमझमसँगै मनमा एउटा प्रश्न बारम्बार उठिरह्यो— चाडपर्व सकिएपछि फेरि यी गाउँबस्ती कसका लागि पर्खिरहनेछन् ?
पाँच दिन गाउँमा बिताउँदा बाल्यकालदेखि युवावस्थासम्मका अनगिन्ती सम्झनाहरू मानसपटलमा चलचित्रका दृश्यझैँ घुमिरहे । तिनै उकाली–ओराली, तिनै वनपाखा, तिनै खेतबारी र तिनै गोरेटाहरू, जहाँ जीवनका अनेकौँ सङ्घर्षसँगै हाँसो, खुसी, दुःख र सपनाहरू साटिएका थिए ।
कहिले घाँसको भारी बोकेर उकाली चढेका दिन सम्झिएँ, कहिले दाउराको भारीसँगै ओराली झरेका क्षण । कहिले साथीभाइसँग वनपाखामा सुसेली हालेको सम्झना आयो त कहिले खेतबारीमा पसिना बगाउँदै भविष्यका सपना बुनेका दिनहरू आँखाअगाडि आए ।
ती निर्जीवजस्ता देखिने पाखापखेरा पनि आज बोलिरहेका छन् कि जस्तो लाग्यो । मानौँ, ती वनजङ्गलले भनिरहेका थिए— ‘हिजो हाम्रो काखमा रमाउने ती युवाहरू आज कहाँ पुगे ? हाम्रो छातीमा पसिना बगाउने हातहरू किन हराए ?’
एकछिन टक्क अडिएँ । चारैतिर नियालेँ। मन भावुक भयो। समय कति छिटो बदलिँदो रहेछ !
विकासले फेरिएको गाउँ, तर हराउँदै गएको गाउँको जीवन
हिजोका कठिन गोरेटाहरू आज मोटरबाटोमा परिणत भएका छन् । अँध्यारा गाउँबस्तीमा बिजुलीको उज्यालो पुगेको छ । घण्टौँ हिँडेर पानी बोक्नुपर्ने बाध्यता धेरै ठाउँमा घरघरका धाराले हटाएका छन् ।
इन्टरनेटको पहुँच विस्तार भएको छ । स्वास्थ्यचौकी, एम्बुलेन्स सेवा र कक्षा १२ सम्म अध्ययन गर्ने विद्यालयजस्ता सुविधाले गाउँको मुहार फेरिएको छ ।
कुनै समय आधारभूत सुविधाका लागि समेत सङ्घर्ष गर्नुपर्ने मेरो गाउँ आज भौतिक पूर्वाधारका दृष्टिले सहरबजारसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेको देख्दा गर्व लाग्यो ।
तर विडम्बना !
गाउँमा सडक पुग्यो, तर त्यही सडक भएर युवाहरू बाहिरिए। घरघरमा बिजुली बल्यो, तर घरका आँगन सुनसान भए । खानेपानीका धारा बने, तर ती धारामा पानी भर्ने हातहरू हराउँदै गए । विद्यालयका भवन बने, तर कक्षाकोठामा विद्यार्थीको संख्या घट्दै गयो ।
विकासको उज्यालो त गाउँसम्म पुग्यो, तर त्यो उज्यालोमा रमाउने पुस्ता गाउँमै अडिन सकेन ।
आज गाउँमा वृद्ध बुबाआमा छन्, केही बालबालिका छन् र सीमित संख्यामा महिलाहरू छन् । तर गाउँको भविष्य बोक्ने ऊर्जाशील युवापुस्ता भने कोही सहरमा छ, कोही खाडी मुलुकमा, कोही मलेसियामा त कोही युरोप, अमेरिका र अस्ट्रेलियामा आफ्नो भविष्य खोजिरहेको छ ।
खेतबारी बाँझिए, वनपाखाले युवाहरूलाई बोलाइरहे
हिजो अन्नका बालाले झुल्ने खेतबारी आज झाडीमा परिणत भएका छन् । मकै, कोदो र धान फल्ने पाखाहरूमा बनमारा र सिस्नु उम्रिएका छन् । पसिनाले सिञ्चिएका करेसाबारीहरू उजाड देखिन्छन् ।
कुनै समय बिहानैदेखि साँझसम्म किसानको चहलपहल हुने खेतहरू आज मौन छन् ।
लाग्छ, ती बाँझिएका खेतबारीले आफ्ना मालिकहरूलाई पर्खिरहेका छन् । ती वनपाखाले घाँसदाउरा गर्न आउने युवायुवतीलाई सम्झिरहेका छन् । ती पुराना कुवाहरूले पानी भर्न आउने गाउँलेका पाइला कुरिरहेका छन् ।
तर समयले मानिसलाई यति टाढा पु¥याइसकेको छ कि फर्किने चाहना भएर पनि फर्किने आधार कमजोर हुँदै गएको छ ।
गाउँमा घर छन्, तर घरमा मान्छे छैनन् । खेत छन्, तर खेती गर्ने किसान छैनन् । विद्यालय छन्, तर पढ्ने बालबालिका घट्दै छन् । बाटो छ, तर त्यो बाटो भएर गाउँ फर्किनेभन्दा गाउँ छाड्नेहरूको संख्या बढ्दो छ ।
यो केवल एउटा गाउँको कथा होइन । देशका धेरै पहाडी तथा ग्रामीण बस्तीले भोगिरहेको साझा पीडा हो ।
सबैभन्दा डरलाग्दो अवस्था त के छ भने कतिपय गाउँमा विवाह हुँदा जन्ती जुटाउन र मृत्यु हुँदा मलामी पाउनसमेत कठिन हुने परिस्थिति सिर्जना भइरहेको छ ।
यो दृश्यले एउटा सञ्चारकर्मीका रूपमा मलाई गम्भीर बनायो । पाँच दिन गाउँमा बस्दा मनमा एउटै प्रश्नले निरन्तर घोचिरह्यो— आखिर हामी कस्तो विकासको यात्रामा छौँ ?
युवाहरू रहरले विदेशिएका हुन् कि बाध्यताले ?
गाउँमा भेटिएका स्थानीयसँग कुराकानी गर्दा उनीहरूका पीडा झनै गहिरा लागे ।
खेती गर्न समयमै मल पाइँदैन । गुणस्तरीय बीउबिजनको अभाव हुन्छ। उत्पादनको उचित मूल्य पाइँदैन । बजारसम्म पहुँच सहज छैन । कृषि उपज बिक्री गरेर लागतसमेत उठाउन कठिन हुन्छ ।
यस्तो अवस्थामा किसानले खेती किन गर्ने ? युवाले गाउँमै बसेर भविष्य कसरी बनाउने ?
जबसम्म श्रमको सम्मान हुँदैन, उत्पादनले बजार पाउँदैन र मेहनतअनुसार आम्दानी सुनिश्चित हुँदैन, तबसम्म युवालाई गाउँमै बस भन्नु केवल भावनात्मक आग्रह मात्र हुनेछ ।
आफ्नो जन्मभूमि, परिवार र आफन्त छाडेर परदेशिनु कसैको पहिलो रोजाइ नहुन सक्छ। धेरै युवाका लागि वैदेशिक रोजगारी रहरभन्दा पनि बाध्यता बनेको छ ।
आफ्नै देशमा पसिना बगाएर परिवार पाल्न सक्ने वातावरण भएको भए कति युवाले विदेशी भूमिमा आफ्नो जवानी खर्च गर्थे होलान् ?
राजनीतिक नेतृत्वले कहिले सुन्ने गाउँको मौन चित्कार ?
पछिल्ला तीन दशकभन्दा बढी समयदेखि मुलुकको शासनसत्तामा विभिन्न राजनीतिक दल र नेतृत्वको प्रभाव रहँदै आएको छ ।
व्यवस्था परिवर्तन भए । संविधान फेरियो। सरकारहरू बने र ढले । नेताहरूका भाषण फेरिए । विकास र समृद्धिका नारा पनि पटकपटक सुनिए ।
तर आमयुवाको एउटा आधारभूत प्रश्न अझै अनुत्तरित छ— ‘म आफ्नै देशमा बसेर सम्मानपूर्वक जीवनयापन गर्न किन सक्दिनँ ?’
कृषिप्रधान देश भनेर चिनिने नेपालमा खेतीयोग्य जमिन बाँझिँदै जानु, उत्पादनशील जनशक्ति विदेशिनु र गाउँबस्ती खाली हुँदै जानु सामान्य विषय होइन ।
यो हाम्रो विकास नीति, कृषि प्रणाली, रोजगारी सिर्जना र राजनीतिक नेतृत्वको कार्यसम्पादनमाथि उठेको गम्भीर प्रश्न हो ।
युवालाई देशमै रोक्ने हो भने भाषणमा रोजगारी होइन, व्यवहारमा रोजगारी चाहिन्छ। कृषिमा अनुदानको घोषणा मात्र होइन, वास्तविक किसानसम्म सुविधा पुग्नुपर्छ । सीप र योग्यताअनुसार काम गर्ने वातावरण बन्नुपर्छ ।
गाउँमा सडक पु¥याउनु मात्र विकास होइन, त्यही सडक भएर बाहिरिएको युवा फेरि गाउँ फर्किएर उद्यम गर्न सक्ने वातावरण बनाउनु वास्तविक विकास हो ।
अब बालेन नेतृत्वको सरकारसँग युवाको अपेक्षा
युवापुस्ताले परिवर्तनको आशा र भरोसा गरेको बालेन नेतृत्वको सरकारका अगाडि पनि यही चुनौती उभिएको छ ।
युवाहरूको विश्वासलाई केवल राजनीतिक समर्थनका रूपमा होइन, देश निर्माणको ऐतिहासिक जिम्मेवारीका रूपमा बुझ्न आवश्यक छ ।
देशमै रोजगारी सिर्जना गर्ने, कृषि उत्पादनलाई व्यावसायिक बनाउने, ग्रामीण उद्यमशीलता बढाउने, सीपमूलक शिक्षालाई प्राथमिकता दिने र युवालाई गाउँमै आत्मनिर्भर बन्न प्रेरित गर्ने ठोस कार्यक्रम अबको आवश्यकता हो ।
सरकारले तत्काल परिणाम देखिने र दीर्घकालीन प्रभाव पार्ने कार्ययोजना अघि सार्नुपर्छ । अन्यथा परिवर्तनप्रतिको युवाको भरोसा फेरि निराशामा परिणत हुन सक्छ ।
आज गाउँका घरहरू खाली भइरहेका छन् । भोलि सहरका घरहरू पनि वृद्ध अभिभावकको प्रतीक्षालयमा परिणत नहोलान् भन्न सकिँदैन ।
यही क्रम निरन्तर बढिरहे आगामी दस वर्षमा ग्रामीण जनजीवन अझ गम्भीर सङ्कटमा पर्न सक्ने खतरा छ ।
देश रित्तिएपछि शासन कसका लागि ?
सरकार र राजनीतिक नेतृत्वले समयमै बुझ्नुपर्ने कुरा के हो भने देश केवल भूगोल होइन । देश भनेको त्यहाँ बस्ने नागरिक हुन् । देश भनेको खेतबारीमा पसिना बगाउने किसान हुन् । देश भनेको गाउँका विद्यालयमा पढ्ने बालबालिका हुन् । देश भनेको भविष्यको सपना बोकेका युवायुवती हुन् ।
मानिसविहीन गाउँ, उत्पादनविहीन खेत र युवाविहीन समाजले समृद्ध राष्ट्रको कल्पना पूरा गर्न सक्दैन ।
देशका नागरिक नै विदेश पलायन भइरहे भने विकास कसका लागि ? समृद्धि कसका लागि ? अनि शासन गर्नेचाहिँ कसका लागि ?
यो प्रश्न आज प्रत्येक जिम्मेवार राजनीतिक नेतृत्वले आफैँलाई सोध्नुपर्ने बेला आएको छ ।
दशैँ सकियो, गाउँ फेरि प्रतीक्षामा छ
पाँच दिनको दशैँ बिदा सकियो। कर्मथलो फर्किने समय आयो ।
फर्किने बेला एकपटक फेरि आफ्नै घरआँगन, खेतबारी र ती परिचित डाँडापाखालाई नियालेँ ।
मनमा अनौठो पीडा भयो।
दशैँका लागि फर्किएका छोराछोरी, नातिनातिना र आफन्तलाई बिदाइ गर्दै गरेका वृद्ध बुबाआमाका आँखामा खुसीसँगै बिछोडको पीडा पनि देखिन्थ्यो ।
चाडपर्वले केही दिनका लागि भरिएका घरआँगन फेरि सुनसान हुँदै थिए ।
मोटरबाटोमा गाडीहरू गुडिरहेका थिए । तर ती गाडीले गाउँमा मानिस भिœयाउनुभन्दा गाउँबाट मानिस बाहिर लैजाँदै थिए ।
लाग्यो, गाउँका पाखापखेरा अझै पनि हामीलाई बोलाइरहेका छन् ।
ती बाँझा खेतहरूले अझै किसानका पाइला कुरिरहेका छन् । ती पुराना चौतारीहरूले अझै युवाहरूको हाँसो खोजिरहेका छन् । ती वृद्ध आँखाहरूले अझै आफ्ना सन्तान फर्किने बाटो हेरिरहेका छन् ।
तर प्रश्न एउटै छ— आखिर कहिलेसम्म ?
अब गाउँलाई चाडपर्वमा फर्किने पाहुना मात्र होइन, गाउँमै भविष्य निर्माण गर्ने सन्तान चाहिएको छ ।
राज्यले समयमै नागरिकलाई आफ्नै माटोमा पसिना बगाएर बाँच्न सक्ने आधार दिनुपर्छ । युवाले विदेशमा मात्र होइन, आफ्नै जन्मभूमिमा पनि सपना देख्न र पूरा गर्न सक्ने वातावरण बन्नुपर्छ ।
किनकि गाउँ रित्तिनु भनेको केवल केही घर खाली हुनु होइन, हाम्रो इतिहास, संस्कृति, परम्परा, उत्पादन र सामाजिक सम्बन्धको जग कमजोर हुँदै जानु हो ।
दशैँमा गाउँ फर्किँदा मैले देखेको विकासले मन खुसी बनायो, तर रित्तिँदै गएको गाउँले मन रुवायो ।
अन्त्यमा मनमा एउटै कामना रह्यो—
फेरि ती बाँझा खेतमा सुनौला बाला झुलून् ।
फेरि ती वनपाखामा युवाका सुसेली गुञ्जिऊन् ।
फेरि गाउँका चौतारीमा हाँसो फर्कियोस् ।
फेरि वृद्ध बुबाआमाका आँखामा प्रतीक्षाको होइन, सन्तानसँगै बस्न पाएको खुसीको चमक देखियोस् ।
गाउँमा विकास मात्र होइन, जीवन पनि फर्कियोस् ।
किनकि गाउँ बाँचे देश बाँच्छ, गाउँ रित्तिए देशको आत्मा रित्तिन्छ ।
(लेखक घिमिरे सञ्चारकर्मी हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण