नेभिगेशन
प्रदेश

तलब नपाएपछि गाउँपालिकाका कर्मचारी धर्नामा

‘काम गरेको पैसा लिन नै धर्ना बस्नुपर्दा दुःख लागेको छ’

सर्लाही । ५ महिनादेखि तलब नपाएपछि सर्लाहीको बसबरिया गाउँपालिकाका कर्मचारी आनदोलित भएका छन् । गाउँपालिकाका कर्मचारी तलब माग बुधबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् । साउन महिनादेखि नै तलबभत्ता नपाएपछि गाउँपालिकाका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी धर्नामा बसेका हुन् । ‘तलब नपाएको कारण बाध्य भएर धर्नामा बस्नुपरेको छ,’ त्रिभुवन मावि, मानपुरका प्रअ चन्द्रकिशोर यादवले भने । आफूहरूले असोज महिनामै तलबको लागि ज्ञापनपत्र बुझाएको र बारबार पालिका अध्यक्ष, उपाध्यक्षलाई हारगुहार गरे पनि समस्या समाधान नभएको उनले गुनासो गरे ।

आर्थिक वर्ष २०८२/०८३ को गाउँसभा नभएका कारण ५ महिनादेखि आफूहरूले तलब नपाएको गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी विजय यादव बताउँछन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार असारभित्र गाउँसभा सम्पन्न भइसक्नुपर्ने भए पनि हालसम्म गाउँसभा नभएका कारण आफूहरू ५ महिनादेखि तलबबिहीन बनेको पालिकाका प्रशासन शाखा प्रमुख सुमित कुमार सिंह बताउँछन् । ‘गाउँसभा हुने यकिन नभएपछि धर्नामा बस्नुको विकल्प रहेन,’ उनले भने ।

तलब नपाउँदा आर्थिक समस्या भएको पञ्चायत आर्दश माविकी शिक्षिका बालकुमारी अधिकारी बताउँछिन् । ‘काम गरेको पैसा लिन नै धर्ना बस्नुपर्दा दुःख लागेको छ,’ उनी भन्छिन् ।

गाउँपालिका उपाध्यक्ष सरिता देवीले गाउँसभा नभएका कारण भुक्तानीमा भएको समस्या निकारणका लागि आफूले समन्वय थालिसकेको बताइन् । गत भदौमै बन्द सत्र शुरु गरेर बजेट ल्याउन प्रयास थालेको जनाउँदै पालिका अध्यक्ष राम सिंहासन रायले उच्च अदालत जनकपुरले गाउँपालिका उपाध्यक्ष सरिता देवीको सहभागिताबिना बजेट, योजना र राजश्व सम्बन्धी काम नगर्न आदेश दिएकाले बहुमतका बाबजुत गाउँसभा हुन नसकेको प्रष्ट्याए ।

झण्डै २ सय कर्मचारी कार्यरत गाउँपालिकाका कर्मचारी आन्दोलित भएपछि गाउँपालिकाको कार्यालय, विद्यालय, आकस्मिक सेवाबाहेक स्वास्थ्य संस्था, वडा कार्यालयका काम ठप्प हुन पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्