नेपाली कांग्रेसले यसपटक झन्डै दुई तिहाइ नयाँ अनुहारलाई निर्वाचनमा अघि सारेको छ । १६५ जना उम्मेदवार चयन हुँदा १०६ जना नयाँ भएको प्रवक्ता देवराज चालिसेले बताए । काठमाडौंका १० क्षेत्रमध्ये काठमाडौं–५ मा प्रदीप पौडेल मात्रै दोहोर्याएको छ । अरु सबै नयाँ अनुहार छन् । ‘१६५ उम्मेदवार खडा गरेका छौं, जसमा १०६ जना नयाँ हुनुहुन्छ । ११ जना महिला हुनुहुन्छ । यसअघि जम्मा ५ जना महिलाहरूले प्रत्यक्षतर्फ टिकट पाउनुभएको थियो,’ उनले भने, ‘युवाहरूलाई पनि प्राथमिकता राखेर टिकट दिएका छौं ।’ अघिल्लो चुनावमा ५ जना महिला प्रत्यक्षमा खडा गरेको कांग्रेसले यस पटक ११ जना महिलालाई प्रत्यक्षमा टिकट दिएको छ ।
शीर्ष नेता, को कहाँ?
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रमुख दलका शीर्ष नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस सभापति गगन थापाले सर्लाही–४ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले वारेसमार्फत उम्मेदवारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ पुगेर उम्मेदवारी दर्ता गराएका छन् । ओली आफैं निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर उम्मेदवारी दर्ता गराए ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड रूकुम पूर्वबाट उम्मेदवारी दिए । उनले आफैं उपस्थित भएर उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसबाट उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला अदालत पर्सामा बयानका लागि उपस्थित भएका कारण लामिछानेले वारेसबाट उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफैं उपस्थित भएर झापा–३ मा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, नेकपाका सहअध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट–१ र पूर्वप्रधानमन्त्री, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट उम्मेदवार भएका छन् । जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरी–२ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
सर्लाहीमा गगनलाई अमरेश, े झापामा ओलीलाई बालेनको चुनौती
कांग्रेसका सभापति गगन थापाले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही–४ मा उम्मेदवारी दर्ता गराएका छन् । सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गरेका हुन् । काठमाडौं–४ बाट तीनपटक निर्वाचित थापा यसपटक मधेस झरेका हुन् । कांग्रेसबाट ‘भावी प्रधानमन्त्री’मा अघि सारिएका थापासँग पूर्व कांग्रेसी अमरेशकुमार सिंह प्रतिष्र्धामा छन् । उक्त क्षेत्रमा सिंहले दुई पटक कांग्रेसबाट र पछिल्लो ०७९ को निर्वाचनमा स्वतन्त्र जितेका थिए । यसपटक उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मैदानमा छन् ।
त्यस्तै, एमाले अध्यक्ष ओलीलाई रास्वपाका बालेन शाहले चुनौती दिने भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा–५ मा उम्मेदवार बनेका छन् । ओलीलाई आफ्नो गढ जोगाउने चुनौती छ भने बालेन ओलीलाई हराउँदै रेकर्ड ब्रेक गर्ने दाउमा छन् । एमालेमा ओली र रास्वपाबाट भावी प्रधानमन्त्रीका दाबेदार हुन् । झापा–५ को चुनावमा जो जिते पनि एकजना प्रधानमन्त्रीको रेसबाट बाहिरिनेछन् ।
डडेलधुरामा ३४ वर्षपछि कांग्रेसको नयाँ अनुहार
कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराबाट कांग्रेसले यसपटक नैनसिंह महरलाई उम्मेदवार बनाएको छ । आफूले सातपटक चुनाव जितेको उक्त क्षेत्रमा देउवा नलड्ने भएपछि कांग्रेस नेता महर उम्मेदवार बनेका हुन् । देउवा ०४८ सालयताका निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका थिए । ०४६ सालको राजनीतिक परिवर्तनपछि ०४८ वैशाख २९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी गृहजिल्ला डडेलधुराबाट पहिलोपटक निर्वाचित भएका थिए । त्यसयता उनले सात पटकसम्म लगातार निर्वाचित भएका थिए । सातपटक निर्वाचित हुँदा भएका देउवा पाँचपटक त प्रधानमन्त्री नै बनेका थिए ।