काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएकामध्ये ५ जना उम्मेदवारविरुद्ध मात्रै उजुरी परेको छ । निर्वाचन आयोगले मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गराएर बुधबार उजुरी दिने समय निर्धारण गरेको थियो । ३ हजार ४ सय ८६ जनाको मनोनयन दाखिल हुँदा उजुरी भने नगण्य परेको हो ।
उम्मेदवारको योग्यता पुगेको छ/छैन त्यसको विरोधमा उजुरी दिने अवधि तोकेको थियो । आयोगका अनुसार भक्तपुर–२ मा दुई उम्मेदवारविरूद्ध, सुनसरी–२, रौतहट–१ र कैलाली–१ मा एक/एक जनाविरूद्ध उजुरी परेको हो । भक्तपुरमा उम्मेदवारहरू राजिव खत्री र जानुका पाठक, सुनसरीमा लालविक्रम थापा, रौतहटमा माधवकुमार नेपाल, कैलालीमा रेशम चौधरीविरूद्ध उजुरी परेको छ । भक्तपुर–२ मा रास्वपाका खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार पाठकविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत राधिका सुवालले बताएकी छन् । उनका अनुसार खत्रीविरुद्ध नेपाल स्काउटको ९५ हजार रुपैयाँ बेरुजु रहेको र पाठकविरुद्ध नागरिकता प्रतिलिपिमा फरक विवरण रहेको भन्दै नवीनकुमार महतको नामबाट उजुरी आएको हो ।
‘दुई जनाविरुद्ध परेको उजुरीको भोलि छानबिन हुन्छ । दुई पक्षलाई बोलाएर यो विषयमा सोधपुछ गर्छौ,’ अधिकृत सुवालले भनिन्, ‘उजुरी परेका उम्मेदवारहरूलाई पनि सप्रमाणसहित उपस्थित हुन आग्रह गरेका छौं ।’
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रहेको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जली जग्गा अनियमितताको विषयमा परेको उजुरी भने दरपिठ भएको छ ।
नेपालमाथि पतञ्जलि योगपीठलाई जग्गा उपलब्ध गराउँदा सरकारी निर्णयको दुरुपयोग गरेको र भ्रष्टाचार मुद्दाको दायरामा रहेको आरोप छ । मुद्दा विचाराधीन रहेकाले भ्रष्टाचार मुद्दामा दोषी मान्न नमिल्ने कानुनी सिद्धान्त रहेको भनी उजुरी दरपीठ भएको निर्वाचन आयुक्त मनोज केसीले बताए ।
त्यस्तै, रेशम चौधरीविरुद्ध उजुरी परेको छ । उनी टिकापुर घटनामा अदालतले दोषी ठहर गरेका व्यक्ति हुन् । टीकापुर घटनामा संलग्न रहेको र अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिरहेको अवस्थामा उनी उम्मेदवार बन्न नपाउने जिकिर उजुरीमा गरिएको आयोग स्रोतले जानकारी दिएको छ ।
सुनसरी–२ मा रास्वपा उम्मेदवार थापाविरुद्ध स्थानीय सत्यनारायण पण्डितले उजुरी दिएका हुन् । उजुरीमा थापाले विद्यालयको लाखौँ रकम बक्यौता राखेको र हिसाब राफसाफ नगरेको दाबी गरिएको छ । उजुरीकर्ताका अनुसार थापा सञ्चालक रहेको सनमुन प्लाजा नामक फर्मले इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर भवन निर्माण गरेको थियो ।
विद्यालयको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन अनुसार उक्त फर्मले विद्यालयलाई ७४ लाख १ सय ५० रुपैयाँ तिर्न बाँकी छ । बक्यौता रकम नतिरेको सम्बन्धमा विद्यालय प्रशासनले सुनसरी जिल्ला अदालतमा मिति २०८२ पुस २४ गते मुद्दा दर्ता गरेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा विचाराधीन छ ।
थापाले बक्यौता नतिरी वाणिज्य विभागमा रहेको उक्त फर्म आफ्नो नजिकको नाता पर्नेको नाममा नामसारी गरेको भए आन्तरिक राजस्व कार्यालयमा अझै थापाकै नाममा दर्ता कायम रहेको उजुरीमा दाबी गरिएको छ ।
निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद १०, बुँदा नं. ४२ अनुसार बेरुजु/बक्यौता फस्र्याैट नगरेको व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था रहेकाले थापाको उम्मेदवारी बदर हुनुपर्ने माग उजुरीकर्ताको माग छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ ले गम्भीर फौजदारी कसुरमा सजाय पाएका व्यक्तिको उम्मेदवारीलाई निषेध गरेको आधारमा उनको मनोनयन खारेजीको माग गरिएको छ ।
सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता भएको हो । बिहीबार साँझ ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरिने आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार उजुरी परेका उम्मेदवारहरूलाई सफाइ पेस गर्ने मौका दिइनेछ । उजुरीको प्रकृति हेरेर सम्बन्धित निर्वाचन अधिकृतले प्रमाण माग गर्ने र ऐनको परिधिभित्र रहेर निर्णय गर्ने उनले बताए । यदि उजुरीकर्ताको दाबी पुष्टि भएमा उनीहरूको उम्मेदवारी खारेजसम्म हुनसक्छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ ले उम्मेदवारको अयोग्यता सम्बन्धी व्यवस्था गरेको छ । जसअनुसार भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन, र सम्पत्ति शुद्धीकरण जस्ता कसुरमा दोषी ठहर भएका व्यक्तिहरू उम्मेदवार हुन पाउँदैनन् ।
माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । उक्त दिन दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तालिका छ ।