नेभिगेशन
राजनीति
प्रतिनिधि सभा निर्वाचन

दलहरू गर्दैछन् घोषणापत्रको ‘होमवर्क’

काठमाडौं, माघ ११

प्रतिनिधि सभा निर्वाचनको प्रक्रिया अघि बढिरहँदा मुलुकमा चुनावी वातावरण गर्माएको छ । उम्मेदवारी दर्ता भएपछि राजनीतिक दलहरू यतिबेला आआफ्नो चुनावी घोषणापत्र तयारीमा जुटेका छन् ।

चुनावी घोषणापत्र केवल मत माग्ने औजार मात्र होइन, यसले दलका नीति, योजना र प्राथमिकता जनतासामु स्पष्ट गर्ने आधारको काम गर्दछ । निर्वाचनअघि घोषणापत्र तयारीको काम अन्तिम चरणमा पुगेको पार्टी नेताहरूले जनाएका छन् ।

प्रविधिमा बढेको पहुँचसँगै मतदाता सामाजिक सञ्जालमा अभ्यस्त भएका बेला दलहरूलाई घोषणापत्र ल्याउनु विगतका निर्वाचनजस्तो सजिलो छैन । कस्तो र कसरी घोषणापत्र जारी गर्ने भन्नेमा दलका विज्ञ भनिएका नेताहरू यतिबेला मतदाता रिझाउने आधार तयारीका लागि ‘होमवर्क’मा जुटेका छन् ।

विशेषगरी प्रजातन्त्र पुनःस्थापनापछि भएका संसदीय निर्वाचनमा सार्वजनिक घोषणापत्रलाई सत्ता सम्हाल्ने दलहरूले पूर्ण प्राथमिकता नदिएको गुनासो निरन्तर सुनिँदै आएको छ । घोषणापत्र कार्यान्वयनमा कानुनी बाध्यता नहुँदा प्रायः जनताले यसमा समावेश विषयवस्तु कार्यान्वयन हुँदैन भन्ने अनुभव गरेका छन् । तथापि, साक्षर मतदाताले मतदान गर्दा दलका घोषणापत्रहरू अध्ययन, तुलना र विश्लेषणको आधारमा निर्णय गर्ने प्रवृत्ति देखिन्छ ।

राजनीतिक दलहरूले प्रायः घोषणापत्र आन्तरिक रुपमा तयार पारिसकेका भए पनि प्रतिस्पर्धी दलको घोषणापत्र सार्वजनिक भएपछि त्यसको अध्ययन गरी अन्तिम रूप दिने अभ्यास गर्ने गरेका छन्।

विघटित प्रतिनिधिसभामा ठूलो दल कांग्रेसले पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा समिति गठन गरी घोषणापत्र तयारी गरिरहेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले देशभरका नेता कार्यकर्ता र शुभेच्छुकबाट सुझाव संकलन भइरहेको र यथासक्य छिटो विशेष कार्यक्रमसँगै घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए । उनले भने, ‘हाम्रो घोषणापत्रमा जेनजी आन्दोलनमा उठेका सुशासन, सहज सेवाप्रवाह र विकास निर्माणसम्बन्धी माग समावेश गरिने छन् । 

मुख्य घोषणापत्रसँगै उम्मेदवारहरूले आआफ्नो निर्वाचन क्षेत्रमा गर्ने काम र योजना अनुसार छुट्टै घोषणा पत्र तयार गर्नेछन् ।’

समान रूपमा, प्रमुख दल एमालेले पनि चुनावी घोषणापत्र तयारीको अन्तिम चरणमा पुगेको जनाएको छ । एमाले केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले भने, ‘हाम्रा अध्यक्ष केपी शर्मा ओली झापाबाट फर्किसक्नुभएको छ । अब चाँडै बैठक बसेर घोषणापत्रको काम अघि बढाउँछौं । यसमा मुलुक निर्माण, जनजीविका, आर्थिक पुनरुत्थान, राष्ट्रिय स्वाभिमान र समावेशी विकासका विषय समेटिने छन् ।’

नेपाली कम्युनिष्ट पार्टीले नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र लेखन कमिटी गठन गरेको छ । नेता अग्निप्रसाद सापकोटाले यथासक्य छिटो घोषणापत्र सार्वजनिक गरिने जानकारी दिँदै भने, ‘मुलुकको पछिल्लो राजनीतिक अवस्था, जेनजी आन्दोलनको समीक्षा र रुपान्तरणका विषयवस्तु समावेश गरिने छन् । घोषणापत्रमार्फत राजनीतिक र संरचनागत रुपान्तरण, विकास निर्माण र वस्तुवादी नीति प्राथमिकताका रूपमा प्रस्तुत गरिनेछ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गठन गरिएको कार्यदलमार्फत घोषणापत्र लेखनको काम गरिरहेको छ । पार्टीका नेता विराजभक्त श्रेष्ठले राष्ट्रिय मुद्दासँगै कृषि, पर्यटन, रोजगार लगायतका विषयवस्तु समावेश गरिने जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा कार्यदल बनाएर चुनावी घोषणापत्र लेखन कार्य गरिरहेको छ । काम अन्तिम चरणमा पुगेको जनाइएको छ । प्रवक्ता मोहन श्रेष्ठले भने, ‘हाम्रो घोषणापत्रमा पूर्ण समानुपातिक निर्वाचन, २०४६ सालपछि उच्चपदस्थ राजनीतिज्ञ र कर्मचारीको सम्पत्ति सार्वजनिक गर्ने विषयसहित सामाजिक–आर्थिक रुपान्तरणका पहल समेटिने छन् ।’

अन्य राजनीतिक दलहरू पनि आफ्नो घोषणापत्र तयारीमा जुटेका छन् र यसै साता सार्वजनिक गर्ने तयारीमा छन् । यस प्रतिनिधि सभा निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमा मतदान हुनेछ । विभिन्न ६८ दलबाट जम्मा ३,४०६ उम्मेदवार मैदानमा छन् ।

निर्वाचन आयोगका अनुसार १ करोड ८९ लाख ३ हजार ६८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् । मतदानका लागि १०,९६७ मतदानस्थल र २३,११२ मतदान केन्द्र स्थापना गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्