महोत्तरी, माघ १२
चार निर्वाचन क्षेत्र भएको महोत्तरीमा यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सात पूर्वमन्त्री पुनः प्रतिष्पर्धामा छन् । महन्थ ठाकुरले छाडेको क्षेत्रमा नयाँ उम्मेदवारले प्रतिष्पर्धाको मौका पाउँदा पञ्चायतकालदेखि लगातार उठ्दै आएका शरतसिंह भण्डारी यसपटक पनि उठेका छन् । गिरिराजमणि पोखरेल पुनः उठ्दा उनलाई अघिल्लो निर्वाचनमा पराजित गर्ने कोइरीले फेरि चुनौती दिएका छन् ।
महोत्तरी–१ र २ बाट एक/एक, ३ बाट दुई र ४ नम्बर क्षेत्रबाट तीन पूर्वमन्त्री चुनावी मैदानमा छन् । प्रतिनिधि सभा र स्थानीय तह निर्वाचनमा मधेशवादी दलको बहुमत रहँदै आएको महोत्तरीका निर्वाचन क्षेत्रहरूमा स्वतन्त्र उम्मेदवारको पनि प्रभाव रहिआएको छ । दलहरूले पुरानै अनुहारलाई पुनः उभ्याउँदा नयाँले मतदाता आकर्षित गर्न अपनाउने जुक्ति सफल भएमात्रै चुनौती बढ्ने देखिन्छ ।
महोत्तरी–१ बाट पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री गिरिराजमणि पोखरेल नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छन् । उनीसँगै एमालेका पूर्वसांसद लक्ष्मी महतो, कांग्रेसका मुकेशराज काफ्ले, रास्वपाका प्रमोदकुमार महतो, राप्रपाका होमप्रसाद पोखरेल, जसपाका योगनारायण महतो, जनमतका वीरेन्द्र महतो लगायत चुनावी मैदानमा छन् ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा लक्ष्मी महतो कोइरी निकटतम प्रतिष्पर्धी पोखरेललाई १ हजार ३० मतान्तरले पछि पार्दै विजयी भएका थिए । उनले २३ हजार ४०२ मत पाउँदा गिरिराजमणिले २२ हजार २ सय ७२ मत पाएका थिए । ७ हजार ८ सय १२ मत ल्याएका स्वतन्त्र उम्मेदवार पोषणबहादुर थापा तेस्रो स्थानमा थिए ।
त्यसअघि २०७४ मा माओवादी केन्द्रका गिरिराजमणि निकटतम प्रतिष्पर्धी संघीय समाजवादी फोरमका लक्ष्मी महतोलाई ४ हजार २ सय ८४ मतले पछि पार्दै विजयी भएका थिए । गिरिराजले २३ हजार ७७६ मत ल्याउँदा महतोको १९ हजार ४ सय ९२ मत थियो । तेस्रो स्थानमा रहेका कांग्रेसका सीताराम भण्डारीले ९ हजार ४ सय ७५ मत पाएका थिए ।
महोत्तरी–२ बाट यसपटक पनि पूर्वमन्त्री शरतसिंह भण्डारी उठेका छन् । उनी यसपटक जनता समाजवादी पार्टी नेपालबाट चुनावी मैदानमा छन् । यो क्षेत्रमा कांग्रेस पूर्वसांसद किरण यादव, एमालेका कासिम नदाफ, नेकपाका लक्ष्मणकुमार यादव, रास्वपाका दीपककुमार साह, राप्रपाका रामलखन कानु, जनमतका जयकुमार पाण्डेय, उज्यालो नेपाका राकेश मण्डल, श्रम संस्कृतिका आलम कवारी, प्रलोपाका राजनारायण झा लगायत प्रतिस्पर्धामा छन् ।
२०७९ को निर्वाचनमा शरतसिंह भण्डारी लोसपा नेपाल पार्टीबाट साइकल चिन्ह लिएर २५ हजार १ सय ९० मतले विजयी भएका थिए । उनका निकटतम प्रतिष्पर्धी तमलोपाका विजयकुमार सिंहले ११ हजार १ सय २० मत ल्याएका थिए । तेस्रो स्थानमा रहेका एमालेका रामपरीक्षण यादवले १० हजार २ सय ५८ मत पाएका थिए । यो क्षेत्रमा रास्वपा ३६० मतका साथ छैटौं स्थानमा थियो ।
२०७४ को निर्वाचनमा पनि भण्डारी निर्वाचित भएका थिए । राजपा नेपालबाट उम्मेदवार बनेका भण्डारीले ३० हजार ७२२ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी कांग्रसका किरण यादवले १३ हजार ९७४ मत पाएका थिए ।
तेस्रो स्थानमा रहेका माओवादीका कासिम नदाफले ३ हजार ७३२ मत पाएका थिए ।
यसपटक महोत्तरी–३ बाट पूर्वकृषिमन्त्री हरिनारायण यादव र पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान चुनावी मैदानमा छन् । यो पुराना राजनीतिक खेलाडी महन्थ ठाकुरको क्षेत्र हो । यसपटकको निर्वाचनअघि उनको दल जसपामा विलय भएको छ । उनी पनि प्रत्यक्षको भिडन्त छाडेर राष्ट्रिय सभामा गएका छन् । यादवलाई जसपा नेपालले टिकट नदिएपछि स्वतन्त्र उठेका छन् । रिजवानले नेपाल संघीय समाजवादी पार्टीबाट उम्मेदवार भएका छन् ।
यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार रामआधार कापर, कांग्रेसका बजरंग नेपाली, जसपा नेपालकी मिनाक्षी ठाकुर, रास्वपाका उज्ज्वलकुमार झा, एमालेका मनोजकुमार सिंह, राप्रपाका राजेश्वर राय, जनमतमा अरविन्द ठाकुर लगायत प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा २०७९ मा लोसपाका महन्थ ठाकुर साइकल चिन्ह लिएर १६ हजार ३७५ मतका साथ विजयी भएका थिए । निकटतम प्रतिष्पर्धी जसपा नेपालका हरिनारायण यादवले १४ हजार ३२५ मत पाएका थिए भने १२ हजार ७३३ मतका साथ स्वतन्त्र उम्मेदवार रामआधार कापर तेस्रो स्थानमा थिए । त्यसअघि २०७४ मा महन्थ ठाकुर राजपा नेपालबाट २६ हजार ८४५ मतका साथ विजयी भएका थिए । ८ हजार ६७६ मतका साथ एमालेका विजयकुमार चौधरी दोस्रो र ४ हजार २० मतका साथ स्वतन्त्र उमम्ेदवार चन्देश्वर झा तेस्रो स्थानमा थिए ।
महोत्तरी–४ बाट पूर्वकृषिमन्त्री महेन्द्रकुमार राय, पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव र मधेश प्रदेशका पूर्वगृहमन्त्री भरतप्रसाद साह चुनावी मैदानमा छन् । महेन्द्रकुमार कांग्रेसबाट, डा. सुरेन्द्र जसपा नेपाल, भरतप्रसाद नेकपाबाट उम्मेदवार छन् भने रास्वपाबाट गौरी कुमारी र एमालेबाट नीलम अधिकारी पनि प्रतिष्पर्धामा । २०७९ को चुनावमा यो क्षेत्रबाट कांग्रेसका महेन्द्रकुमार २५ हजार ४४८ मतका साथ विजयी भएका थिए । निकटतम प्रतिष्पर्धी जसपा नेपालका सुरेन्द्रकुमार यादवको २१ हजार ३३१ मत थियो भने तेस्रो स्थापमा रहेका जनमतका मनोजकुमार साहले १० हजार ५९ मत पाएका थिए ।
त्यसअघि २०७४ मा संघीय समाजवादी फोरमका सुरेन्द्रकुमार राय १८ हजार ३५३ मतले विजयी भएका थिए । निकटतम प्रतिष्पर्धी थिए कांग्रेसका महेन्द्रकुमार राय, जसले १३ हजार २५ मत पाएका थिए भने तेस्रो बनेका माओवादी केन्द्रका मोहमद रजी हैदरले १२ हजार ९४५ मत पाएका थिए ।
नयाँ मतदाता ३४ हजार २५२
जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अनुसार जिल्लामा ३४ हजार २५२ नयाँ थपिएर मतदाता संख्या ४ लाख ३१ हजार २८२ भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ५ हजार ६४६, क्षेत्र २ मा ५८ हजार ८६१ पुरुष र ४८ हजार ७३३ महिला, ३ मा ५९ हजार ९५० पुरुष र ५० हजार ८८६ महिला, ४ मा ६० हजार १५० पुरुष र ४७ हजार ४५६ महिला छन् । जिल्लामा २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र छन् ।