नेभिगेशन
राजनीति

रास्वपामा उम्मेदवार छनोटको विशेष कार्यविधि

आफ्ना उम्मेदवारहरूमा वैचारिक स्पष्टता र पार्टीप्रतिको प्रतिबद्धता सुनिश्चित गर्न ‘कुलिङ पिरियड’ को अवधारणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको विशेष कार्यविधि तयार गरेको छ । आइतबार बसेको सचिवालय बैठकले ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुमोदन गर्दै नयाँ व्यवस्था लागू गरेको हो ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा अभूतपूर्व मत ल्याएर पहिलो पार्टी बनेको रास्वपामा प्रदेश र स्थानीय तह निर्वाचनका लागि उम्मेदवारीमा चाप पर्ने शीर्ष नेताहरुको अनुमान छ । त्यसैले पार्टीले छनोटका लागि विशेष सर्तका रुपमा नयाँ व्यवस्था गर्र्न लागेको हो । रास्वपाले पार्टीको उम्मेदवार बन्न कुलिङ पिरियडदेखि ल्याटरल इन्ट्रीसम्मको व्यवस्था गरेको छ । रास्वपाले आफ्ना उम्मेदवारहरूमा वैचारिक स्पष्टता र पार्टीप्रतिको प्रतिबद्धता सुनिश्चित गर्न ‘कुलिङ पिरियड’ को अवधारणा ल्याएको छ । पहिलो पटक राजनीतिक आबद्धता भएकालाई रास्वपाको सदस्यता लिएको ४५ दिन पुरा हुनुपर्ने र अन्य राजनीतिक दल त्यागेर रास्वपा प्रवेश गर्नेहरूका लागि ९० दिनको ‘कुलिङ पिरियड’ तोकिएको छ ।
त्यस्तै, रास्वपाले विशेष परिस्थितिमा समाजका प्रतिष्ठित व्यक्ति, विज्ञ र स्वच्छ छवि भएकाहरूका लागि कुलिङ पिरियड लागू नहुने गरी ‘ल्याटरल इन्ट्री’ को व्यवस्था गरेको छ । तर, यसका लागि पद र तहअनुसार विभिन्न समितिको लिखित सहमति अनिवार्य गरिएको छ ।
वडाध्यक्ष र सदस्यका लागि सम्बन्धित पालिका र जिल्ला समितिको लिखित सहमति र पालिका प्रमुख र उपप्रमुखका लागि जिल्ला र प्रदेश समितिको सहमति, महानगर र उपमहानगर प्रमुखका लागि केन्द्रीय समितिको औपचारिक लिखित सहमति अनिवार्य हुनेछ ।
त्यस्तै, रास्वपाले उम्मेदवार छनोटमा हुन सक्ने आर्थिक चलखेल रोक्न ‘शून्य सहनशीलता’ को नीति लिएको छ । चन्दा वा आर्थिक लेनदेनका आधारमा टिकट दिने प्रथालाई पूर्ण निषेध गर्दै उपहार स्वीकार गर्ने वा आर्थिक चलखेल गर्नेलाई तत्काल पार्टीबाट निष्कासन गर्ने प्रावधान मस्यौदामा छ । 
नेपाली राजनीतिमा व्याप्त नातावाद, कृपावाद र पैसाको चलखेललाई अन्त्य गर्दै योग्यता प्रणालीका आधारमा उम्मेदवार छान्न रास्वपाले नयाँ मोडल अघि सारेको बताएको छ ।  आगामी प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको यो रुपरेखा कार्यान्वयन गर्ने तयारी गरिएको छ ।
कस्ताले पाउँछन् उम्मेदवार बन्न ?
क्यान्डिडेट क्लबः
 उम्मेदवार बन्न चाहने व्यक्ति अनिवार्य रूपमा पार्टीको ‘उम्मेदवार क्लब’ मा आबद्ध हुनुपर्ने । 
लिडरसिप एकेडेमीः पार्टीद्वारा सञ्चालित ‘लिडरसिप एकेडेमी’ को तालिम लिएर परीक्षा उत्तीर्ण गर्नुपर्ने ।
प्राइमरी निर्वाचनः पार्टीका स्थानीय सदस्यहरू बीच हुने आन्तरिक मतदान (प्राइमरी) बाट चुनिनुपर्ने ।
स्वच्छ छविः भ्रष्टाचार वा कुनै पनि फौजदारी अभियोग नलागेको हुनुपर्ने । 
योग्यताः सम्बन्धित क्षेत्रको विकासका लागि स्पष्ट कार्ययोजना र क्षमता भएको ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्