नेभिगेशन
राजनीति
कांग्रेस विवाद समाधान प्रयास

सभापति थापाले भेटे पूर्णबहादुर र शेखर

काठमाडौं । कांग्रेसभित्र विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापाले सक्रिय देखिएका छन् । सर्वोच्च अदालतले पार्टीको वैधानिकता थापा नेतृत्वको समितिलाई दिएपनि  पार्टीभित्रको संस्थापन र असन्तुष्ट पक्षबिचको विवाद भने कायमै छ । असन्तुष्ट पक्षसँग संवाद गर्ने जिम्मेवारी केन्द्रीय समिति बैठकले सभापति थापालाई दिएको थियो । 
बुधबार सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले पूर्व उपसभापति पूर्णबहादुर खड्कासँग उनकै निवास गल्फुटार पुगेर भेट गरेका छन् । उक्त भेटमा पार्टीलाई एकताबद्ध गरेर लैजाने र खड्कापक्षले राखिरहेको असन्तुष्टि सम्बोधन गर्ने विषयमा छलफल भएको थियो । संवादमा पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा सकारात्मक छलफल भएको खड्काको सचिवालयले जानकारी दिएको छ । थापा र शर्माको नेतृत्वमा विशेष महाधिवेशन हुँदा तत्कालीन सभापति शेरबहादुर देउवा समूहको नेतृत्व गर्दै खड्का सर्वोच्च अदालत पुगेका थिए । 
देउवा नेतृत्वको समितिमा उपसभापति रहेका खड्का र महामन्त्री रहेका थापा र शर्माबीच सम्बन्ध निकट मानिनन्थ्यो । विशेष महाधिवेशनपछि उनीहरुबीच सम्बन्ध चिसिएका बेला बुधबार उनीहरुबिच पहिलोपटक भेट भएको हो । खड्काले कार्यवाहक सभापतिका रुपमा विज्ञप्ति जारी गरेपछि अनुशासन समितिले उनलाई स्पष्टीकरण सोधे पनि उनले जवाफ दिएका छैनन् । पार्टी एकताका लागि अनुशासन समिति खड्काप्रति लचक बनेको सभापति थापा निकट बताउँछन् । 
भेटका क्रममा नेता खड्काले पार्टी गुट–गुटमा विभाजित भएकोमा चिन्ता व्यक्त गर्दै एकताको ठोस प्रस्ताव ल्याउन सभापतिलाई सुझाव दिएका छन् । ‘पार्टीलाई सम्पूर्ण रूपमा एकताबद्ध गर्ने जिम्मेवारी अब नेतृत्वको काँधमा छ । हामी एकताका लागि तयार छौँ, तर नेतृत्वले स्पष्ट योजना ल्याउनुपर्छ,’ खड्काको भनाइ थियो । खड्काको नेतृत्वमा देउवा पक्षले आफ्नो समूहको अलग्गै गतिविधि गरिरहेको छ । 
मंगलबार सभापति थापाले नेता पार्टीका अर्का नेता डा. शेखर कोइरालासँग पनि विशालनगरस्थित उनको सचिवालयमा पुगेर छलफल गरेका थिए । कोइरालाले पनि सभापतिलाई विवाद समाधानको स्पष्ट सूत्र प्रस्तुत गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । 
सभापति थापाले भने विधानको परिधिभित्र रहेर मिल्न सक्ने सबै विषयमा लचिलो हुन आफू तयार रहेको बताएका छन् । पार्टी प्रवक्ता देवराज चालिसेले पार्टीभित्रका फरक मतलाई मिलाउन विभिन्न चरणमा संवाद भइरहेको जानकारी दिए । ‘पार्टीमा क्यालेन्डर बनाएर मात्र वार्ता हुँदैन, औपचारिक र अनौपचारिक हरेक तहबाट साथीहरूले असहमति निराकरण गर्न कुराकानी गरिरहनुभएको छ,’ प्रवक्ता चालिसेले भने, ‘फरक मतलाई मिलाएर लैजाने दायित्व संस्थापनको हो र त्यो काम हामीले गरिरहेका छौं ।’
सभापति थापासँगको भेटपछि कोइरालाले खड्का र अर्जुननरसिंह केसीसँग छुट्टाछुट्टै परामर्श गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्