नेभिगेशन
राजनीति

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशक बने दीर्घायुकुमार श्रेष्ठ

काठमाडौं । सरकारले दीर्घायुकुमार श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशक बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले प्राधिकरणका उप–कार्यकारी निर्देशक श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशक बनाएका हुन् । सरकारले अध्यादेशमार्फत हितेन्द्रदेव शाक्यलाई पदमुक्त गरेपछि रिक्त रहेको स्थानमा श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकिएको हो । श्रेष्ठले बुधबार नै पदभार ग्रहण गरेका छन् । श्रेष्ठ प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हुन् । प्राधिकरणका उपकार्यकारी निर्देशकहरू मध्येका वरिष्ठ श्रेष्ठलाई नयाँ कार्यकारी निर्देशक नियुक्त नगरिँदासम्मका लागि निमित्तको जिम्मेवारी दिइएको हो । सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश,२०८३’ कार्यान्वयनमा ल्याइसँगै गत वैशाख २१ गतेदेखि शाक्य प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त भएका थिए । यो अध्यादेशमार्फत विद्युत् नियमन आयोगका सम्पूर्ण पदाधिकारी पनि पदमुक्त भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्